समाज


सुनचाँदी पसलमा छापा मार्दा अवरोध गर्नेलाई कारबाही गर्ने धनुषा प्रहरीको चेतावनी

सुनचाँदी पसलमा छापा मार्दा अवरोध गर्नेलाई कारबाही गर्ने धनुषा प्रहरीको चेतावनी

नेपालखबर
कात्तिक २, २०८२ आइतबार १८:१३, काठमाडौँ

जिल्ला प्रहरी कार्यालय धनुषाले असोज ३१ गते जनकपुरस्थित एक सुनचाँदी पसलमा प्रहरीले छापा हानेको विषयमा भ्रमपूर्ण समाचार आएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।

जनकपुरधाम उप महानगरपालिका–४ सोनारपट्टी गल्लीमा रहेको नाम नखुलेको संजय ठाकुरले सञ्चालन गर्दै आएको सुनचाँदी पसलमा अवैध चाँदीको कारोबार भई राखेको भन्ने गोप्य सूचनाका आधारमा सो पसलमा छापा मारेको प्रहरीले स्पष्ट पारेको छ। 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवम् सूचना अधिकारी डीएसपी गणेश बहादुर बमले राजश्व अनुसन्धान कार्यालय, पथलैया बारासँग समन्वय गरेर प्रहरी टोलीले सुनचाँदी व्यवसाय संघका अध्यक्षलाई समेत बोलाई कानुन बमोजिम चेक जाँच गरिएको बताएका छन्। 

उनका अनुसार चेकजाँच गरिरहेको अवस्थामा एक्कासी जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा सय डेढ सय जनाको संख्यामा मानिसहरू भेला भई प्रहरीलाई घेरा हाली प्रहरी कर्मचारीहरूमाथि हातपात तथा ढुङ्गा– मुढा प्रहार गरेका थिए। 

उच्छृङ्खल तथा अराजक गतिविधि गरि चेकजाँच लगायत प्रहरी काम कारबाहीमा बाधा अवरोध पुयाइएको प्रहरीद्वारा उक्त भिडलाई नियन्त्रण गर्नको लागि सामान्य बल प्रयोग गरिएको प्रहरीले दाबी गरेको छ। 

उक्त झडपमा प्रहरी कर्मचारी १० जना घाइते भएका र प्रहरीको संचार सेट खोसिएको, गाडीमा समेत तोडफोड गरिएको प्रहरीको भनाई छ। 

कानुनले कुनै स्थानमा शंकास्पद गतिविधि गरेको पाइएमा नेपाल प्रहरीलाई चेकजाँच तथा खानतलासी गर्न पाउने कानुनी अधिकार रहेको र कानुनको परिधीभित्र रही काम कारबाही गरिएको पनि प्रहरीले स्पष्ट पारेको छ।

उक्त स्थानबाट प्रहरीले बिल बिजक नभएको गैह कानुनी रुपमा कारोबार गर्न राखिएको चाँदी जस्तो देखिने वस्तु अन्दाजी ७.४३६ किलो ग्राम (खाम सहित) बरामद गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया बारामा पठाएको छ। 

उक्त घटनामा संलग्न व्यक्ति उपर कानुन बमोजिम कारबाही गरिने पनि प्रहरीले चेतावनी दिएको छ।

प्रहरीले जिम्मेवार राजनैतिक दल तथा संचार माध्यमहरूले वास्तविकता बुझि समाचार सम्प्रेषण गरि दिन पनि अनुरोध गरेको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad