समाज


अपाङ्गता पुनर्स्थापनामा योगदान गरेको भन्दै करुणा फाउन्डेसन सम्मानित

अपाङ्गता पुनर्स्थापनामा योगदान गरेको भन्दै करुणा फाउन्डेसन सम्मानित

नेपालखबर
असोज २८, २०८२ मंगलबार १८:३९, काठमाडौँ

जन्मजात तथा जन्मपश्चात् विकसित हुने अपाङ्गता रोकथाम र अपाङ्गता भएका व्यक्तिहरूको पुनर्स्थापनामा दीर्घकालदेखि कार्यरत करुणा फाउन्डेसन नेपाललाई ‘कल्याणमणि आचार्य दीक्षित स्मारक कोष’ले आफ्नो ३६औं वार्षिक समारोहको अवसरमा सम्मानित गरेको छ।

स्मारक कोषले स्थापना कालदेखि नै बहिरोपनको क्षेत्रमा विशिष्ट योगदान दिने संस्था वा व्यक्तिलाई सम्मान गर्दै आएको परम्परा अनुसार, यस वर्षको सम्मान करुणा फाउन्डेसन नेपालले प्राप्त गरेको हो।

संस्थाले हाल कोशी प्रदेशका १३७ पालिकामा प्रदेश सरकार र स्थानीय तहहरूसँगको आर्थिक तथा प्राविधिक साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गरिरहेको छ। 

यसअन्तर्गत हालसम्म ७८ हजार ५४१ जना अपाङ्गता भएका व्यक्तिहरूलाई १३७ अपाङ्गता भएका व्यक्तिहरूको संस्था (ओपिडी) र १ हजार ०३६ समूहमा संगठित गरिएको छ। तीमध्ये ११ हजार ६३४ जना सुनाइ सम्बन्धी अपाङ्गता भएका बालबालिका र वयस्कहरू रहेका छन्।

कार्यक्रमले स्वास्थ्य उपचार, सहयोगी सामग्री, शिक्षा, स्वरोजगार, रोजगारी, सामाजिकीकरण र सशक्तीकरणजस्ता मानव जीवनका सबै महत्त्वपूर्ण क्षेत्रमा सेवा पुर्‍याउँदै आएको छ। 

अहिलेसम्म ७५ हजार ७८५ अपाङ्गता भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण गरी उनीहरूलाई सरकारका सामाजिक सुरक्षा कार्यक्रमहरूमा पहुँच दिलाइएको छ। साथै १५० जना अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारीका अवसरहरू पनि प्रदान गरिएको छ।

यससँगै, जन्म दोष रोकथाम तथा बाल्यावस्थामा विकसित हुन सक्ने अपाङ्गता रोकथामका क्षेत्रमा पनि संस्थाले प्रदेश र स्थानीय तहहरूसँग मिलेर उल्लेखनीय काम गरिरहेको छ। कार्यक्रमबाट एक लाखभन्दा बढी दम्पती, गर्भवती महिला र नवजात शिशुले प्रत्यक्ष सेवा पाएका छन्। यसै क्रममा ४०० भन्दा बढी जन्म दोषसहितका शिशुको पहिचान र ३०० भन्दा बढीको उपचार गरिएको छ।

कोसी प्रदेशका सबै १३७ पालिकामा अपाङ्गता सम्बन्धी शाखा, कर्मचारी र समुदायमा आधारित पुनर्स्थापना सहजकर्ताको व्यवस्था गर्दै कार्यक्रमलाई संस्थागत रूपमा मजबुत पारिएको छ। यसले अपाङ्गतालाई सामाजिक विकासको प्रमुख मुद्दाका रूपमा स्थापित गरेको करुणा फाउण्डेसन नेपालले जनाएको छ।

संस्थाको यो प्रयासलाई कोसी प्रदेशमा सामाजिक विकासको मोडल कार्यक्रमका रूपमा लिइएको छ, जुन अब संघीय सरकारको सहकार्यमा देशभर विस्तार हुने तयारीमा छ। साथै, नेपालकै मोडल कार्यक्रमका रूपमा यो अभियान कङ्गो, तान्जानिया र केन्यामा समेत सञ्चालनमा रहेको छ।

स्मारक कोषबाट प्राप्त सम्मानले संस्थालाई अझ प्रेरित गरेको फाउन्डेसनले जनाएको छ। करुणा फाउन्डेसन नेपालले कल्याणमणि आचार्य दीक्षित स्मारक कोष, आफ्ना साझेदार संस्था र सबै सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad