काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले निर्माणाधीन भद्रकाली मन्दिर महानगरपालिकाको सम्पदा विभागको इतिहासमै सबैभन्दा ठूलो परियोजना भएको बताएका छन्।
भूकम्पले भत्काएको भद्रकाली मन्दिर मैलिक परम्परागत (नेवारी) शिल्प र शैलीमा पुनरुत्थान भइरहेको उनले बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमा उनले मन्दिर निर्माणबारे भइरहेको प्रगतिको जानकारी दिएका छन्।
उनका अनुसार दैनिक २ सिफ्टमा काम भइरहेको यो मन्दिरको पुनर्निर्माण यही आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ।
यो काम २०८१ असार २७ गतेदेखि सुरु भएको हो। योजनाको अहिलेसम्मको भौतिक प्रगति करिब ५० प्रतिशत पुगेको छ।
नेपालकै निर्माण सामग्रीबाट मन्दिर निर्माण भइरहेको उनले जानकारी दिएका छन्।

उनले लेखेका छन्, ‘काठमाडौं महानगरपालिकाको केन्द्र भौगोलिक भागमा रहेको यो परियोजना निर्माण सम्पन्न भएपछि महानगरपालिकासँगै नेपालकै पहिचानयुक्त स्मारक हुनेछ। धार्मिक, सामाजिक कार्यका लागि आकर्षक गन्तव्य स्थान हुनेछ।’
२०७२ सालको भूकम्पले मन्दिर परिसरका संरचनाहरु जीर्ण बनेका थिए। मन्दिरको गरिमा बचाउन पश्चिम, उत्तर र दक्षिणतर्फका पाटी, सत्तललगायत भवनहरू पुनःनिर्माण गरिएको हो। यसको कुल लागत ३४ करोड ८० लाख ७१ हजार रुपियाँ हो।
सार्वजनिक खरिद प्रक्रियाबाट छानिएको निर्माण पक्षसँग २०८१ जेठ ६ गते सम्झौता गरेर असार ४ गते कार्यादेश दिए पछि कार्य प्रारम्भ भएको हो।
उनले लेखेका छन्, ‘हामी यस्ता स्मारकसँगै काठमाडौँको सांस्कृतिक सभ्यतालाई पुनरुत्थान गतिरहेछौँ। यहाँहरुबाट प्राप्त रचनात्मक सहयोग प्रति कृतज्ञता प्रकट गर्दछौँ।’
Shares

प्रतिक्रिया