समाज


मनसुनजन्य विपद्‍मा ४६ जनाको मृत्यु, वर्षा रोकिएसँगै सामान्य बन्दै जनजीवन

मनसुनजन्य विपद्‍मा ४६ जनाको मृत्यु, वर्षा रोकिएसँगै सामान्य बन्दै जनजीवन

नेपालखबर
असोज २०, २०८२ सोमबार १५:३७, काठमाडौँ

अविरल वर्षा, बाढी र पहिरोका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ भने पानी रोकिएकाले जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आज मध्यान्हसम्मको विवरणअनुसार मनसुनजन्य विपद्बाट मुलुकभर ६ जना बेपत्ता भएका छन् भने २४ घाइते भएका छन् । सशस्त्र प्रहरी बलले भने मनसुनजन्य विपद् र यहीबीचको सवारी दुर्घटनासमेत गरी हालसम्म ५५ जनाको मुत्यु भएको जनाएको छ।

कोसी प्रदेशको इलाममा मात्रै पहिरोमा परी ३७ जनाको निधन भएको छ। सो प्रदेशमा पहिरो तथा डुबानका कारण इलाम, झापा, मोरङ, सुनसरी, उदयपुरलगायत जिल्लामा मानवीय क्षति भएको छ। विपद् जोखिममा परेका १८ जनालाई यसबीचमा नेपाली सेनाको होलीकोप्टरबाट उद्धार गरिएको छ।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाअनुसार गए रातिसम्मको विवरणमा सवारी दुर्घटनासमेत गरी कोसी प्रदेशमा मात्रै विभिन्न २२ घटनामा ४९ जनाको मृत्यु, एक बेपत्ता र १७ जना घाइते भएका छन्। 

झापाको झापा गाउँपालिकामा ४९० घरधुरी डुबानबाट प्रभावित भएकामा एक हजार ६६४ जनालाई सुरक्षित स्थानामा स्थानान्तरण गरिएको थियो । झापाको गौरीगञ्जमा १०५ घरमा पानी पसेपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा लगिएको थियो।

कोसी प्रदेशको जनजीवन सामान्य बन्दै

अविरल वर्षा, बाढी र पहिरोका कारण सबैभन्दा बढी मानवीय क्षति भएको कोसी प्रदेशको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। सो प्रदेशमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पूर्वतयारी र विपद्पश्चात उद्धार तथा सहयोगका काम गरेको थियो । जल तथा मौसम विज्ञान विभागको पूर्वसूचनाका आधारमा सरकारको पूर्वतयारी प्रभावकारी भएकाले थप मानवीय क्षति हुन पाएन्। 

सुरक्षा निकायले मानवीय जीवनलाई पहिलो प्राथमिकतामा राखेर उद्धारका काम गरेको र पानी रोकिएकाले अहिलेसम्म उद्धारका काम पूरा भएको सुरक्षा निकायका कोसी प्रदेशका प्रमुुखहरुले बताएका छन्। झापाको आयरल्याण्डमा परेकालाई तथा पाँचथर र सङ्खुवासभाबाट गर्भवतीलाई हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ। कोसीमा पानीको बहाव आइतबार प्रतिसेकेण्ड पाँच लाख ३३ हजार क्युसेक रहेकामा आज दुई लाख ७७ क्युसेकमा झरेको छ।

नेपाली सेनाका उपरथी एवं पूर्वीपृतनापति गौरवकुमार केसीका अनुसार पानी पर्न रोकिएकाले जनजीवन सामान्य हुँदै गएको र प्रभावित क्षेत्रमा आवश्यकतानुसार उद्धारको काम भइरहेको जानकारी दिए।

'इलामको दुर्गम र सदरमुकामबाट टाढा रहेको स्थानमा पहिरोले पुरानो घर भत्किएर बढी मानवीय क्षति भयो। इलाममा पनि यहाँ बढी मानवीय क्षति भएको छ', उपरथी केसीले भने, 'सप्तकोसीको जल सतह अहिले घटेको छ। ठाउँठाउँमा पहिरो गएकाले मेची राजमार्ग पूर्णतःबन्द छ। एकै कमाण्डस्थलबाट धेरै ठाउँमा संयुक्त सुरक्षा टोलीबाट काम भएकाले सूचना आदानप्रदान र उद्धारमा सहजता आएको छ।'

नेपाल प्रहरीका कोसी प्रदेश प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीले जनजीवन समान्यतर्फ उन्मुख भएको बताए। उनले आज इलामबाट घाइतेको हेलिकोप्टरबाट उद्धार गरिएको र अबको काम इलामको लाइफलाइनका रूपमा रहेका सडकलाई पुनःसञ्चालन गराउन केन्द्रित भएको बताए। 

उनले प्रदेशका अन्य जिल्लामा पनि पहिरोबाट प्रभावित सडकलाई खुलाउन प्रहरी केन्द्रित भएको बताए। उक्त क्षेत्रमा बाढीबाट मानवीय क्षति हुन पाएको छैन। राहत वितरणको काम कानुनबमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट भइरहेको प्रहरी नायब महानिरीक्षक कार्कीले बताए।

सशस्त्र प्रहरी बलका कोसी प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले उद्धारका काम सकिएपछि पुनःस्थापनाका लागि काम भइरहेको बताए। उनले सशस्त्रकै युनिटसमेत पनि प्रभावित भएको स्थितिमा आफूहरु उद्धार र पुनःस्थापनाको कामलाई सँगसँगै गर्दै अघि बढेको बताए। 

'पहिरोबाट इलाममा धेरै घर ध्वस्त भएका छन्। पुनःनिर्माणका लागि सरकारले नीति बनाउँछ होला। सप्तकोसीको जल सतह घटेकाले खतराको सङ्केत हटिसकेको छ। हामी जनजीवन समान्य बनाउन तल्लिन छौँ', उनले भने।

सडक अवरुद्ध हुँदा केन्द्रीय टोली जान सकेन

इलाममा बाढी तथा पहिरोबाट सात ठाउँमा सडक अवरुद्ध भएकाले गृहमन्त्री ओमप्रकाश अर्यालसहितको केन्द्रीय टोली आज स्थलगत अवलोकनका लागि त्यसतर्फ जान सकेन। सशस्त्र प्रहरी नायब महानिरीक्षक न्यौपानेले केन्द्रीय टोली आउने तय भए पनि सडक अवरुद्ध भएकाले सम्भव नभएको जानकारी दिए। 

'हामी सबै मिलेर विपद्को डटेर सामना गर्र्नु र धैर्य राख्नु नै अहिलेको विकल्प हो। हामी संयुक्त सुरक्षा कमाण्डमा रहेर कोसी प्रदेशको विपद्पश्चात्को उद्धार र सहायोगमा जुटेका छौँ। यसमा नागरिकसँगको सहकार्य पनि आवश्यक छ', उनले भने। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad