समाज


सरकारसँग सुरक्षा माग्दै युलेन्सले भन्यो : अफवाहका भरमा स्कुल खरानी बनाइयो

सरकारसँग सुरक्षा माग्दै युलेन्सले भन्यो : अफवाहका भरमा स्कुल खरानी बनाइयो

ललितपुरको खुमलटारमा रहेको युलेन्स कलेज भवन


नेपालखबर
असोज ८, २०८२ बुधबार १९:४४, काठमाडौँ

भव्य र अत्याधुनिक भवनमा सफा र ठूला कक्षा कोठा। विद्यार्थीलाई सुविधायुक्त फर्निचरसहितको स्मार्ट बोर्डबाट पठनपाठन। भदौ तेस्रो सातासम्म खुमलटारमा रहेको युलेन्स स्कुल सामान्य अवस्थामा सञ्चालन भइरहेको थियो।  

तर, १ हजार ४६१ जना विद्यार्थी अध्ययनरत सो विद्यालय भदौ २४ गते एकाएक खण्डहरमा परिणत भयो।

भदौ २३ गतेको जेनजी आन्दोलनमा राज्यबाट भएको बर्बर दमनपछि भदौ २४ गते शान्ति क्षेत्र मानिने विद्यालय नै हुलको निसानामा पर्‍यो। आगजनीबाट जलेर नष्ट भएको यो विद्यालय परिसरमा पुग्ने जोकोहीको मन अहिले अमिलिन्छ।

प्रदर्शनकारीले विद्यालय भवनसँगै त्यहाँ भएका एसी, कम्प्युटर, फ्रिज, स्मार्ट बोर्ड, फर्निचर, विद्यार्थीका अभिलेख, कापी र किताबसम्म जलाए। 

अहिले त्यहाँ अध्ययरत विद्यार्थीको पठनपाठन अनिश्चित बनेको छ। सँगै शिक्षक र कर्मचारीहरूलाई पनि रोजगारीको चिन्ताले सताएको छ। भवन बस्न नमिल्ने अवस्थामा रहँदा र सामान जुटाएर फेरि पठनपाठन सुरु गर्न समय लाग्ने हुँदा युलेन्समा अनिश्चितताको बादल मडारिएको छ।

विद्यालयले सुरक्षाको प्रत्याभूति नभएसम्म पठनपाठन सुरु गर्न असमर्थ रहेको जनाइसकेको छ। युलेन्स एजुकेसन फाउन्डेसनले विज्ञप्ति जारी गर्दै भौतिक रुपमा पठनपाठन सुरु गराउन सुरक्षाको माग गरेको हो। 

‘सवारीसाधन निर्बाध र सुरक्षित रुपमा गन्तव्यमा पुग्ने प्रत्याभूति हामीले कसबाट, कसरी प्राप्त गर्ने? यी तमाम संवेदनशील विषयहरूमा सार्वजनिक प्रत्याभूति प्राप्त नगरी कसरी विद्यालयको पठनपाठन अघि बढाउने भन्ने संशय, त्रास र अनिश्चयको अवस्थामा संस्था उभिएको छ,’ विज्ञप्तिमा उल्लेख छ। 

यद्यपि, अनलाइन कक्षा भने विद्यालयले सञ्चालन गरिरहेको छ।

१ अर्ब २५ करोडको क्षति 
भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा युलेन्स स्कुलमा भएको तोडफोड, लुटपाट र आगजनीबाट १ अर्ब २५ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको जनाइएको छ।

प्रदर्शनमा विद्यालयको ललितपुरको खुमलटारस्थित विद्यालय मात्रै निशानामा परेन, काठमाडौँको बाँसबारी र काभ्रेको नालास्थित आउटडोर लर्निङ सेन्टरमा रहेको विद्यालयका सम्पत्तिलाई पनि प्रदर्शनकारीले छाडेनन्।

खुमलटारमा रहेको ५ वटा भवन, बाँसबारीस्थित ३ वटा भवन र काभ्रेको नालास्थित विद्यालयको आउटडोर लर्निङ सेन्टरमा आगजनी गरिएको छ। 

युलेन्स फाउन्डेसन अन्तर्गत स्कुल, कलेज र युलेन्स सेन्टर फर एजुकेटर डेभलपमेन्ट गरी तीन वटा संस्था छन्।

युलेन्सका प्रधानाध्यापक मेदिन लामिछानेले भदौ २४ गते हजारौँको भीड आएर युलेन्सको ललितपुर र काठमाडौँमा रहेका भवनहरूमा तोडफोड र आगजनी गरेको जनाए। उनले प्रदर्शनमा आएकाहरूले धेरै सामान लुटेर लगेको बताए। 

प्रदर्शनकारीको तारो बनेपछि विद्यालयका ८३ वटा गाडी जलेका छन्। विद्यालय प्रशासनले किन्डरगार्टेनदेखि आईबी डिप्लोमा र कलेज तहसम्मका सबै विद्यार्थीका लकरहरूमा रहेका पुस्तक तथा स्टेसनरी जलेको जनाएको छ। 

विद्यालयमा ५०० भन्दा बढी व्यक्ति कार्यरत रहेको भन्दै उनीहरूको रोजगारीमा प्रत्यक्ष असर गरेको जनाइएको छ। 

ललितपुरको खुमलटारमा रहेको युलेन्स स्कुल भवन

आरजुको लगानी रहेको अफवाह
युलेन्स स्कुलका सबै संरचनामा एकै दिन एक साथ यसरी आगो लगाउनुको पछाडि एउटा अपुष्ट भाष्य कारक रह्यो। त्यो हो विद्यालयमा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाको लगानी रहेको अफवाह। राणाको लगानी रहेको भन्दै प्रदर्शनकारीले छानीछानी यी सबै संरचना नष्ट गरेका थिए।

२४ वर्षअघि स्थापना भएको युलेन्स स्कुलसँग अब नामबाहेक केही छैन। युलेन्स एजुकेसन फाउन्डेसनले आफ्नो संस्था अफवाहको सिकार भएको जनाउँदै विद्यालयमा नेपाली कांग्रेसकी नेतृ समेत रहेकी आरजु राणा देउवाको लगानी नरहेको स्पष्ट पारेको छ। युलेन्स एजुकेसन फाउन्डेसनले विद्यालयमा आरजु राणा देउवाको स्वामित्व कहिल्यै नरहेको जनाउँदै भनेको छ– आरजुको लगानी पहिले पनि थिएन, अहिले पनि छैन। 

‘सबै निजी विद्यालयलाई मुनाफा वितरण नगर्ने कम्पनीमा लैजानुपर्ने बहस संसद् र सार्वजनिक डबलीहरूमा चलिरहेका सन्दर्भमा २० वर्षअघि नै ‘शिक्षा व्यापारको विषय होइन, यो सामाजिक प्रतिष्ठाको समर्पण हो’ भन्ने अवधारणामा प्रस्ट भएरै मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा युलेन्स दर्ता भएको थियो,’ फाउन्डेसनले भनेको छ। 

मुनाफा वितरण नगर्ने कम्पनीमा रहेकाले कसैको व्यक्तिगत लगानी र कोही सेयरहोल्डर नरहेको विद्यालयले जनाएको छ। 

‘कम्पनी ऐनमै मुनाफा वितरण नगर्ने कम्पनी बन्द हुँदाको बखत त्यसका सारा सम्पत्ति राज्यको हुने भन्दै नागरिक समाज, बौद्धिक समुदाय र विद्यालयलाई नजिकबाट चिनेका अभिभावकहरूले समेत सार्वजनिक रूपमा अभिव्यक्त नगरिदिँदा आज विद्यालयमाथि यो स्तरको आक्रमण भयो,’ फाउन्डेसनले भनेको छ।

बेल्जियन नागरिक मिरियम युलेन्सको पहलमा स्थापना भएको विद्यालयको नाम पनि उनैको नामबाट राखिएको हो। सन् २००६ मा स्थापना भएको विद्यालयले सोही साल कम्पनी रजिस्ट्रारको कार्यालयमा मुनाफा वितरण नगर्ने कम्पनीका रुपमा युलेन्स एजुकेसन फाउन्डेसन दर्ता भएको जनाएको छ। 

स्थापनाकालदेखि नै सोम पनेरुको नेतृत्वमा युलेन्स एजुकेसन फाउन्डेशनको बोर्ड अफ ट्रस्टीमा रहेका व्यक्ति र शैक्षिक नेतृत्व गर्ने प्रतिबद्ध टिम सँगै चुस्त व्यवस्थापन क्षमताले विद्यालय सञ्चालन हुँदा नै अत्याधुनिक भव्य भवनसहितको शैक्षिक प्रतिष्ठान निर्माण गरिएको फाउन्डेसनको भनाइ छ। 

युलेन्स फाउन्डेसनले आरजु राणा देउवासँग विद्यालय सञ्चालनमा सहयोग मागेको भने स्वीकार गरेको छ। फाउन्डेसनको प्रस्तावमा राणा विद्यालय व्यवस्थापनको नेतृत्व गर्न तयार भएको जनाइएको छ। विद्यालयले अफवाहको भरमा निसाना बनाइएको भन्दै राणाको लगानी भएको प्रमाणित गर्न चुनौती दिएको छ। साथै, सुरक्षा दिन सक्ने नसक्ने भनेर सरकारलाई प्रश्न पनि गरेको छ।

खरानीबाट उठ्न र ढलेको आत्मविश्वास उठाउन सजिलो नभएको भन्दै फाउन्डेसनले उठे पनि फेरि ढल्नुपर्दैन भन्ने सुनिश्चितता नभएको बताएको छ। 

‘अनिश्चयबाट कसरी निस्कने र पुनर्निर्माणपछि फेरि ध्वंसको सामना गर्नुपर्दैन भनेर कसरी ढुक्क हुने? कक्षाकोठामा हाम्रा बालबालिका, शिक्षक र कर्मचारीको जीवनको सुरक्षामा कसरी विश्वस्त हुने? सडकमा बालबालिका लिएर गुड्ने हाम्रा सवारीसाधन निर्बाध र सुरक्षित रुपमा गन्तव्यमा पुग्ने प्रत्याभूति हामीले कसबाट, कसरी प्राप्त गर्ने?’ फाउन्डेसनले भनेको छ।

जेनजी प्रदर्शनमा काठमाडौँ र ललितपुरका तीन विद्यालयमा क्षति पुगेको छ। ललितपुरको युलेन्स सहित, नाइटिङ्गेल स्कुल र काठमाडौँको ग्लोबल कलेजमा आगजनी भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad