समाज


तुइन खोलामा खसेको पहिरोले १ सय मिटर सडक ढाक्यो

नारायणगढ-मुग्लिन सडक १३ घण्टादेखि अवरुद्ध, यात्रुहरू रातभर सडकमै
तुइन खोलामा खसेको पहिरोले १ सय मिटर सडक ढाक्यो

तस्बिर: रासस


नेपालखबर
असोज ४, २०८२ शनिबार ६:४९, चितवन

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ। शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ। 

डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको छ।

झण्डै १०० मिटर माथिबाट झरेको पहिरोले सडक ढाकिँदा सवारी आवागमन पूर्णरुपमा अवरुद्ध छ। निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन नसकिएको लामिछानेले बताए। आज बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम सुरु भएको छ।

दुवैतर्फबाट एक–एक वटा लोडरले पहिरो पन्छाउने काम थालेका छन् । नारायणगढतर्फ सेती दोभान क्याम्पमा रहेको एउटा स्काभेटर पनि पठाइएको लामिछानेको भनाई छ। 

पहिरो ठूलो भएको र ढुङ्गा झरिरहेकाले थप पहिरो नखसेमा चार घण्टामा सडक सफा गरेर सवारी सञ्चालन गर्न सकिने अनुमान गरिएको लामिछानेले बताए। 

शुक्रबार दिउँसो पनि यहाँ पटक पटक पहिरो खसेको थियो। पहिरो सफा गरेर सवारी सञ्चालन गरिएको अवस्थामा शुक्रबार साँझ झन् ठूलो पहिरो खसेको हो। 

पहिरोले सडक अवरुद्ध हुँदा शुक्रबार साँझ ६ः०० बजेदेखि नै यात्रुहरु सडकमा छन्।  सवारी चल्न नसक्दा यात्रुहरू रातभर सडकमै बसेका छन्। पहिरो खसेको ठाउँ मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ पर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad