क्यूलेक्स जातको लामखुट्टेको टोकाइबाट गर्ने जापनिज इन्सेफलाइटिस (जेई)बाट देशभर २७ जनाको मृत्यु भएको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार जेईबाट गत पुषदेखि २७ जनाको मृत्यु भएको हो। महाशाखाका अनुसार ४० जिल्लाका १४१ जनामा जेई पुष्टि भएको छ।
सबै भन्दा बढी लुम्बिनी प्रदेशका ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कोसी प्रदेशमा ४, मधेषमा ३, बागमतीमा ४, गण्डकीमा ५,कर्णाली र सुदुरपश्चिम प्रदेशमा १/१ जनाको मृत्यु भएको छ।
जापनिज इन्सेफलाइटिस नामक भाइरसका कारण लाग्ने जेई क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्छ। यो भाइरसबाट सर्ने सङ्क्रमित चराचुरुङ्गी र सुँगुरलाई टोक्ने लामखुट्टे सुरुमा आफू सङ्क्रमित हुन्छ र त्यसले टोक्दा मानिसमा सङ्क्रमण सर्छ।
चिकित्सकका अनुसार उच्च ज्वरो आउने,मुर्छा पर्ने,घाँटी अररो हुने,भ्रममा पर्नु,बोल् नसक्ने अवस्थामा पुग्ने, शरीर अनियन्त्रित भएर कामिरहने र मांसपेशी कमजोर हुनु वा पक्षाघात हुने जस्ता लक्षण देखिन्छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार जापानिज इन्सेफलाइटिसबाट सङ्क्रमित हुने २५० मध्ये एक जनामा अझ गम्भीर लक्षण देखिन्छ।
त्यस्ता समस्या भएका ३ बिरामीमध्ये एक जनाको मृत्यु हुन्छ।
Shares

प्रतिक्रिया