हामी नेपालले जेनजी आन्दोलनकारीलाई अब तोडफोड र आगजनी बन्द गर्न आग्रह गरेको छ।
संयोजक सुदन गुरुङले भिडिओ प्रेस विज्ञप्ति जारी गर्दै अब निर्माणतिर लाग्न आग्रह गरेका हुन्। ‘अब प्रदर्शन हामी रोक्नुपर्छ,अब यसरी सबै चिज जलाएर भोलि, पर्सि निर्माण गर्न गाह्रो हुन्छ,’ उनको आग्रह छ, ‘अब हामीले उद्धार गर्नुपर्छ।’
यस्तो छ गुरुङको भनाइः
अब प्रदर्शन हामी रोक्नुपर्छ। अब यसरी सबै चिज जलाएर भोलि, पर्सि निर्माण गर्न गाह्रो हुन्छ।
अब हामीले उद्धार गर्नुपर्छ। कतिजना फसेको छ भन्ने सुन्नमा आएको छ।
कृपया अब विमानस्थल चाहिँ बन्द नगरिदिनु होला। विमानस्थलमा केही यस्तो गरिदियो भने हामीलाई उद्धार गर्न गाह्रो हुन्छ।
अब चाहिँ आगजनी गर्नेदेखि केही नगरिदिनुहोला। हामीले नै बनाउनुपर्छ। पछि धेरै गाह्रो हुन्छ। अब सरसफाइतिर लागौँ। आगो निभाउनेतिर लागौँ। अब जलाउनेतिर भन्दा पनि बनाउनेतिर लागौँ।
सुरक्षा निकायमा पनि तोडफोड बन्द गरौँ। सबै मिलेर अब जलाउनेतिर होइन, बनाउनेतिर लाग्नुपर्छ।
Shares

प्रतिक्रिया