देशका वभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा भएको र हुने क्रम जारी रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ।
विभागले आज सोमबार ५ बजे जारी गरेको सूचनाअनुसार बागमती प्रदेशका सिन्धुपाल्चोक, दोलखा, काभ्रे, चितवनलगायत क्षेत्र, गण्डकी प्रदेशका म्याग्दी, गोर्खा, कास्कीलगायत क्षेत्र, कर्णाली प्रदेशका जाजरकोट, कालीकोट, जुम्ला, हुम्लालगायत क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका दार्चुला, डोटी, डढेलधुरा, कञ्चनपुरलगायत क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको हो।
मौसम विभागले चेतावनी दिँदै भनेको छ, 'वर्षाको क्रम अझै जारी रहेको र विशेष गरी सुदूरपश्चिम प्रदेशका भूभागमा अझै मेघगर्जनसहित वर्षा गराउने बादल विकसित भइरहेकाले आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ।'
मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ।
अनि ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।
यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो।
यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।
त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।
त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।
यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।
Shares

प्रतिक्रिया