समाज


विश्व प्रसिद्ध सेफ सन्तोष साहलाई धनगढीमा ‘एसपीए सम्मान’

विश्व प्रसिद्ध सेफ सन्तोष साहलाई धनगढीमा ‘एसपीए सम्मान’

नेपालखबर
भदौ ११, २०८२ बुधबार २०:४५, धनगढी

एसपीए कलेज धनगढीले विश्व प्रसिद्ध पाककलाका माहिर सेफ सन्तोष साहलाई ‘एसपीए सम्मान’ प्रदान गरेको छ। होटेल व्यवस्थापन र पाककलामा असाधारण योगदान दिँदै अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम र नेपाली खानाका परिकारहरू को उजागर गर्ने लगायतका कार्यहरू को कदर स्वरूप कलेजले साहलाई विशेष सम्मान प्रदान गरेको हो। 

‘एसपीए सम्मान’ एसपीए कलेजले सामाजिक, व्यवसायिक, खेलकुद एवं कुनै न कुनै आफ्नो कला कौशलबाट समाज देश र राष्ट्रको शिर उच्च पार्ने व्यक्तित्वहरू लाई प्रदान गर्दै आएको एक विशेष सम्मान हो। 

मङ्गलवार साँझ धनगढी आई पुगेका साहले आज बिहान कलेजको अडिटोरियम हलमा विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाटका क्रममा प्रश्नोत्तर अन्तरक्रिया गर्नुका साथै आफ्नो जीवन–यात्रा, व्यावसायिक अनुभव र पाककला सम्बन्धी विशेष अनुभवहरू प्रस्तुत गरे।

साहले ‘विश्व प्रसिद्ध पाककला प्रतिभा, सेफ सन्तोष साहसँग अतिथि सत्र’ कार्यक्रमलाई सम्बोधन गर्दै अनुशासन, मेहनत र आत्मविश्वासकै कारण आफूले अन्तर्राष्ट्रिय स्तरमा सफलता हात पारेको उल्लेख गरे। सोही क्रममा उनले नेपाली परिकारलाई विश्व बजारमा पुर्‍याउने आफ्नो प्रयास र अनुभव विद्यार्थीहरूसँग बाँड्दै व्यावसायिक यात्रामा आउने चुनौती र अवसरबारे समेत प्रेरणादायी विचारहरू सेयर गरे।

आयोजक एसपीए कलेजका अनुसार कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफूलाई ऊर्जावान् र अन्तर्राष्ट्रिय स्तरमा सफल हुन प्रयोगमा आउने विभिन्न कलाहरू सम्बन्धी अनुभव प्राप्त गरेका छन्। साथै, साहसँग प्रत्यक्ष संवाद गर्न पाउनु धनगढीका होटेल म्यानेजमेन्ट विद्यार्थी र पाककला रुचाउने सबैका लागि दुर्लभ अवसर रहेको बताएका छन्। सोही कार्यक्रममा उनलाई धनगढी सिटीअफ क्रिकेटको लोगो अंकित मायाको चिनो समेत प्रदान गरिएको थियो।

साह मास्टर सेफ यूकेः द प्रोफेसनल २०२० मा पहिलो रनर–अप र २०२१ मा ‘मास्टर सेफ यूकेः द प्रोफेसनल रिम्याच स्पेसल’ का विजेता बन्न सफल भएका थिए। अहिले कक्षा १० को अङ्ग्रेजी विषयमा सन्तोष साहको बायोग्राफी अध्ययन गर्न मिल्ने गरी पाठ्यक्रममा समेत समेटिएको छ।

विश्वका ५६ राष्ट्रमा नेपाली खानाका विभिन्न स्वाद खाना पारखीहरूलाई चखाई सकेका साहले हालै अनलाइन खबरले २०८२ सालका ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरू लाई प्रदान गरेको पुरस्कार समेत प्राप्त गरेका थिए।

नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा गौरवान्वित बनाएका साहलाई सम्मानित गर्न पाउनु कलेज र सम्पूर्ण विद्यार्थीका लागि गर्वको विषय भएको कलेज परिवारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad