विश्व स्वास्थ्य संगठनले आज नेपालमा जनस्वास्थ्य समस्याको रूपमा रहेको रूबेला रोग निवारण भएको घोषणा गरेको छ।
योसँगै नेपाल दक्षिण–पूर्वी एसिया क्षेत्रमा रूबेला निवारण गर्ने छैटौँ राष्ट्र बनेको छ।
नेपालले हासिल गरेको यो उल्लेखनीय उपलब्धि खोपबाट बचाउन सकिने रोगहरूविरुद्ध दिइने खोप सेवामा गरिएको निरन्तर एवं दृढ प्रयासबाट सम्भव भएको संगठनले जनाएको छ।
दादुराजस्तै देखिने रुबेला अर्थात् जर्मन दादुरा भाइरसको संक्रमणबाट हुने अति संक्रामक रोग हो। यस रोगले विशेष गरी गर्भवती महिलामा जटिलता निम्त्याउँछ। यसका कारण गर्भपतन हुने, मृत शिशु जन्मिने वा बच्चालाई जीवनभर असर पार्ने अपांगता लगायतका समस्याहरू देखिन सक्छन्। तर, रूबेलालाई सुरक्षित र प्रभावकारी खोपबाट रोकथाम गर्न सकिन्छ।
‘नेपालले प्राप्त गरेको यो सफलता नेतृत्व तहको दृढ प्रतिबद्धता, स्वास्थ्यकर्मीहरूको लगनशीलता, महिला सामुदायिक स्वास्थ्य
स्वयंसेविकाहरूको निरन्तर सहयोग, स्वास्थ्यप्रति आमजनसमुदायको चासो र सहयोगको परिणाम हो। यस उपलब्धिले शिशुहरूका लागि स्वस्थ जीवनको सुरुवात र रूबेलामुक्त भविष्य सुनिश्चित गरेको छ,’ विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्व एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा क्याथरिना बोहमले भने।
उनले दक्षिण–पूर्व एसिया क्षेत्रमा दादुरा र रूबेला निवारणका लागि क्षेत्रीय प्रमाणीकरण आयोगको सिफारिसलाई स्वीकृत गर्दै नेपालबाट रूबेला निवारण भएको प्रमाणित गरेका हुन्।
क्षेत्रीय प्रमाणीकरण आयोगको २०८२ साउन ६ देखि ८ गतेसम्म भएको वार्षिक बैठकले नेपालको राष्ट्रिय प्रमाणीकरण समितिले पेस गरेको रोग निगरानी र खोप कभरेज दरसम्बन्धी तथ्यांक तथा विवरणको समीक्षा र मूल्यांकन गरी रूबेला निवारण भएको प्रमाणित गर्न सिफारिस गरेको हो।
सन् २०२६ भित्र दादुरा र रूबेलालाई जनस्वास्थ्य समस्याको रूपमा नरहेको अवस्थामा पुर्याउने लक्ष्य हासिल गर्ने सम्बन्धमा भुटान, उत्तर कोरिया, माल्दिभ्स र टिमोर–लेस्टेले दादुरा निवारण गरी सकेका छन् भने भुटान, उत्तर कोरिया, माल्दिभ्स, श्रीलंका, टिमोर–लेस्टे र अब नेपालले पनि रूबेला निवारणमा सफलता प्राप्त गरेका छन्।
‘नेपालले क्षेत्रीय लक्ष्यभन्दा अगाडि रुबेला निवारण गर्नु राष्ट्रिय खोप कार्यक्रमको सफलताको अर्को प्रमाण हो, जुन हाम्रो स्वास्थ्य
प्रणालीको एक बलियो आधारस्तम्भको रुपमा रहँदै आएको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले भने, ‘नेपालको खोप कार्यक्रमलगायत समग्र स्वास्थ्य क्षेत्रमा ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन (गाभी) र विश्व स्वास्थ्य संगठनले प्रदान गर्दै आएको निरन्तर सहयोग प्रति हामी कृतज्ञता व्यक्त गर्दछौँ । म यस अवसरमा यो उपलब्धि हासिल गर्न योगदान गर्नुहुने सम्पूर्ण नेतृत्वकर्ता, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि एवं समुदायप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु र बधाई दिन पनि चाहन्छु।’
उनले बालबालिका अब खोपबाट बचाउन सकिने रोगबाट पीडित हुनु नपरोस् भन्ने उद्देश्यका लागि सबै सरोकारवालाहरूलाई सहयोग जारी राख्नसमेत आह्वान गरेका छन्।
नेपालले सन् २०१२ मा ९ महिना देखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै देशव्यापी अभियानमार्फत रूबेला खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको थियो । सन् २०१६ मा रूबेला खोपको दोस्रो मात्रा पनि राष्ट्रिय खोप तालिकामा थप गरियो।
सन् २०१५ र २०२३ का भूकम्प र कोभिड–१९ जस्ता स्वास्थ्य आपतकालीन अवस्थाका बीच पनि सन् २०१२, २०१६, २०२० र २०२४ मा देशभर सञ्चालन गरिएका रुबेला खोप अभियानले जीवनरक्षक खोपहरूमा पहुँच वृद्धि गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको संगठनको भनाइ छ।
त्यसैगरी, सन् २०२४ सम्ममा नेपालले रूबेला खोपको पहिलो मात्रा ९५ प्रतिशतभन्दा बढी बालबालिकामा लैजान सफल भएको थियो।
हरेक वर्ष वैशाख महिनालाई ‘खोप महिना’ को रुपमा मनाएर नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि ‘खोज र खोप’ अभियान सञ्चालन गरिएको थियो।
रोग निगरानीलाई अझ सबल बनाउने उद्देश्यले नेपालले हालै एक सुदृढ प्रयोगशाला परीक्षण प्रणाली लागू गरेको छ, जुन दक्षिण–
पूर्वी एसिया क्षेत्रमै पहिलो हो।
‘रूबेला निवारण गर्न सफल भएकोमा नेपाललाई बधाई छ,’ विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यालयका प्रमुख डा राजेश सम्भाजिराव पाण्डवले भने, ‘यो जनस्वास्थ्य क्षेत्रमा हासिल भएको महत्त्वपूर्ण उपलब्धि सरकार, स्वास्थ्यकर्मी, साझेदार संस्था र समुदायबीचको बलियो र प्रभावकारी सहकार्यको परिणाम हो । यस यात्रामा योगदान गर्न पाएकोमा विश्व स्वास्थ्य संगठन गर्व गर्दछ र यो उपलब्धि दीर्घकालसम्म कायम राख्न नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछ।’
Shares

प्रतिक्रिया