नेपाल र भारतबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्न थिंक ट्याङ्क स्तरमा सम्झौता भएको छ।
नेपालको इन्टरनेशनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) र भारतको इन्टरनेशनल काउन्सिल अफ वर्ल्ड अफियर्स (आईसीडब्लुए) बीच बिहीबार दिल्लीमा कूटनीति, संस्कृति, शिक्षा, व्यापार, मिडिया र अन्य क्षेत्रमा दीर्घकालीन सहयोगलाई बढाउन समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।
आईसीडब्लुएद्वारा आयोजित कार्यक्रममा आईआरजीडीडीकी अध्यक्ष तथा पूर्वराजदूत शर्मिला पराजुली ढकाल र आईसीडब्लुएकी कार्यवाहक महानिर्देशक तथा अतिरिक्त सचिव राजदूत नूतन कपूर महावारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सम्झौता अनुसार दुई संस्थाबीच पारस्परिक समझदारीलाई गहिरो बनाउन र सहयोगी संस्थागत सम्बन्धलाई प्रवद्धन गर्न साझा दृष्टिकोणको अवधारणा प्रस्तुत गर्नेछ। यसले अर्थपूर्ण संवाद र साझेदारीलाई सहज बनाउन कूटनीति, सामाजिक विज्ञान, सञ्चार र अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विभिन्न क्षेत्रहरूमा दुवै देशका महत्वपूर्ण व्यक्तित्वहरूलाई संलग्न गराउने लक्ष्य राखेको छ।
सम्झौता अनुसार दुवै पक्षले वैकल्पिक रूपमा भारत वा नेपालमा आयोजना हुने पारस्परिक हितका क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा द्विपक्षीय सेमिनार, गोष्ठी र प्यानल छलफल जस्ता संयुक्त कार्यक्रमहरू आयोजना गर्नेछन्।
आईआरजीडीडीकी अध्यक्ष ढकालले आईआरजीडीडी र आईसीडब्लुएबीचको सहकार्यले दक्षिण एसियामा अनुसन्धानमा आधारित, समानुभूतिपूर्ण कूटनीतिक संस्कृतिलाई प्रवद्धन गर्न योगदान पुर्याउने बताइन्।
‘हामी प्रतिक्रियालाई प्रतिबिम्बमा बदलौं, धारणालाई बुझाइमा बदलौं। साथ मिलेर कथालाई पुनः लेखौं,’ ढकालले भनिन्, ‘मलाई विश्वास छ कि आईआरजीडीडीले आईसीडब्लुएसगको साझेदारीमा दक्षिण एसिया र त्यसभन्दा बाहिर अनुसन्धानमा आधारित र अग्रगामी कूटनीतिक संस्कृति निर्माण गर्न सक्रिय रूपमा योगदान गर्नेछ।’
आईसीडब्लुएकी कार्यवाहक महानिर्देशक र अतिरिक्त सचिव पूर्वराजदूत महावरले आईआरजीडीडी र आईसीडब्लुएले दुई देशहरू बीचको द्विपक्षीय सम्बन्धलाई प्रवद्धन गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको बताइन्।
उनले भारत-नेपाल सम्बन्ध परम्परागत कूटनीतिभन्दा बाहिर रहेको र यही तथ्यले हामीलाई दुवै पक्षमा राजनीतिक उतारचढाव सहन सक्षम बनाउने बताइन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी प्रथम नीति अन्तर्गत नेपाल एक अत्यन्त महत्वपूर्ण साझेदार भएको उल्लेख गरिन्।
सम्झौता कार्यक्रममा महावर, नेपाल र भारत दुवै देशका कूटनीतिज्ञ, विद्वान र प्रतिष्ठित व्यक्तिहरूको उपस्थिती रहेको थियो। साथै ‘द डिप्लोम्याट नेपाल’ म्यागेजिनका प्रकाशक बिमल ढकाल र दिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख सुरेन्द्र थापा पनि उपस्थित थिए।
Shares

प्रतिक्रिया