घटना १
केही दिनअघि कोरोना संक्रमण आशंकामा बागलुङकी ६५ वर्षीया महिलाको नमुना र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा नतिजा पोजेटिभ अर्थात् भाइरस भएको आयो। त्यसपछि उनको नमुना पोखरास्थित प्रयोगशालामा लगेर पीसीआर विधिबाट पुनः परीक्षण गरियो। नजिता ठीक उल्टा आयो अर्थात् उनमा कोरोना भाइरसको संक्रमण नभएको पाइयो।
घटना २
कैलालीमा पनि कोरोना संक्रमण आशंकामा ६५ वर्षकै महिलाको नमुना आरडीटी विधिबाट जाँच गरियो। रिपोर्ट नेगेटिभ देखियो। तर फेरि पीसीआरबाट परीक्षण गर्दा पोजेटिभ आयो। अर्थात् उनलाई कोरोना भाइरसको संक्रमण रहेकाे पुष्टि भयो।
माथिका यी दुई घटनाबाटै अनुमान गर्न सकिन्छ कि कोरोना संक्रमण पहिचानका लागि पछिल्लो समय प्रयोगमा ल्याइएको यो आरडीटी विधिले स्वास्थ्य र सामाजिक क्षेत्रमा कस्तो प्रभाव पार्ला?
पहिलो घटनामा जुन महिलामा सुरुको जाँच आरडीटीले कोरोना भाइरस संक्रमण भएको देखायो, त्याे कुरा सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत क्षणभरमै देशभर फैलियो। उनको नाम गोप्य राखिए पनि वरपरका छरछिमेकले उनलाई नचिन्ने कुरै भएन। उनले बाँच्नुपर्ने पनि त्यहीं हो।
पछि गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ त आयो, तर त्योभन्दा बढी नेगेटिभ भइसकेको थियो- उनलाई हेर्ने समाजको दृष्टिकोण।
यसरी आरडीटी टेस्टले पहिलो कुरा त रोग पहिचान गर्न नसक्ने, दोस्रो कुरा सम्बन्धित व्यक्ति मात्र होइन, उनको परिवारै एउटा सामाजिक विभेद र अवहेलनामा पर्ने अवस्था सिर्जना गरेको देखिन्छ।
काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन भन्छन्, ‘एकपकट संक्रमित देखियो रे भन्ने हल्ला चलिसकेपछि पछि रिपोर्ट नेगेटिभ आए पनि मानिसको दृष्टिकोण परिवर्तन हुन मुस्किल पर्छ।’ उनी थप्छन्, ‘पछि नेगेटिभ आए पनि समाजमा कसले बुझ्छ र, अब उनलाई समाजले पक्कै छिःछिः र दूरदूर गर्न थाल्नेछन्।’
आजै मात्र आफूसँग भेट भएका ५० जना जतिले यस्तो गुनासो गरेको डा. पुन सुनाउँछन्।
आफूले सुरुमै यो आरडीटी परीक्षण विधि कुनै पनि हिसाबले उपयुक्त नहुने सल्लाह दिएको उनको भनाइ छ।
‘यसले एकातिर संक्रमित व्यक्तिलाई पनि संक्रमण नभएको (नेगेटिभ रिपोर्ट) देखाएर समाजमा महामारी फैलिने जोखिम देखिन्छ भने अर्कातिर संक्रमण नभएका व्यक्तिलाई पनि संक्रमित (पोजेटिभ) देखाएर अनाहकमा मानिसलाई सामाजिक अवहेलनाको खाल्डोमा धेकेलिदिन्छ,’ डा. पुन भन्छन्, ‘यो कुरा बागलुङकै दुई घटनाले प्रस्ट पारिसकेका छन्।’
विज्ञका अनुसार अहिले नेपालमा प्रयोग भइरहेको आरडीटी किट चीनको ग्वान्जाउ बन्डको बायोटेक कम्पनीले उत्पादन गरेको हो। जुन ‘बन्डफो’ ब्रान्डको हो। यो किटले शरीरमा भाइरस पसेपछि उत्पादन हुने एन्टिबडी भए/नभएको मात्रै पत्ता लगाउँछ।
परीक्षणको नतिजा एन्टिबडी पोजेटिभ देखिए शरीरमा भाइरसकाे संक्रमण छ भन्ने संकेत हो तर राेग हराइसकेर पनि एन्टिबडी रहिरहने हुँदा यसबाट राेग भए/नभएकाे निर्क्याेल गर्न सकिन्न। यसैकारण विश्वभर नै आरडीटीको विश्वसनीयतामा शंका छ।
डा. पुनका अनुसार अन्य मुलुकमा यो किट विशेषगरी ठूलो महामारी फैलिएको अवस्थामा मात्र प्रयोग गरिन्छ, किनकि यसले छोटो समयमा धेरै जनाको परीक्षण गर्न सक्छ। तर भाइरस संक्रमण भए/नभएको निश्चित गर्न अन्त्यमा पीसीआर नै गर्नुपर्ने हुन्छ।
उनका अनुसार कसैको शरीरमा भाइरसको संक्रमण भएको छ भने सुरुवाती चरणमै आरडीटी गर्दा देखिँदैन। तर पीसीआर विधिबाट परीक्षण गर्ने हो भने पत्ता लाग्छ। डा. पुन भन्छन्, ‘अनि आरडीटीबाट रिपोर्ट नेगेटिभ आउनेबित्तिकै ती व्यक्तिलाई घर पठाइयाे भने भन्नुस् त परिणाम के हुन्छ!’
‘शरीरमा भाइरस प्रवेश गरेको सामान्यतया ५/६ दिनमा एन्टिबडी देखिने मान्यता भए पनि हप्ता/दस दिनमा देखिन्छ,’ उनले भने, ‘हो, आरडीटीले त्यो छ भने पोजेटिभ देखाउने हो र उसलाई संक्रमण रहेछ भनेर अनुमान गर्ने हो।’
तर भाइरस संक्रमण भएको सुरुकै चरणमा बिरामीको नमुना जाँचियो भने आरडीटीले संक्रमण नदेखाउने उनी बताउँछन्। ‘यो अवस्थामा पीसीआर नै गर्नुपर्ने हुन्छ, रोग पत्ता लगाउन,’ उनले भने।
यसकारण अहिले नेपालमा व्यापक मात्रामा भइरहेको आरडीटी विधिले रोग पत्ता लगाई महामारी नियन्त्रण गर्ने भन्दा पनि भ्रम पैदा गरी उल्टै राेग फैलाउने र मानिसको सामाजिक प्रतिष्ठामा आँच पुर्याउने काम बढी गर्ने हो कि भन्ने चिन्ताले आफूलाई सताइरहेको डा. पुन बताउँछन्।
आरडीटीको फाइदा
डा. पुनका अनुसार आरडीटीको एउटा राम्रो पक्षचाहिँ के हो भने जस्तैः वीरगन्जमा कुनै ए भन्ने टोल छ। त्यसमा लाखौं मानिस बस्छन्। सबैलाई एक/एक गरी समातेर प्रयोगशालामा नमुना ल्याएर पीसीआर गर्न सम्भव हुँदैन।
किनकि पीसीआर प्रविधि अलि जटिल र लामो समय लाग्ने हुन्छ। यसबाट नतिजा आउन अवस्था हेरी ५-६ घण्टादेखि ७२ घण्टासम्म लाग्ने विज्ञ बताउँछन्। त्यस्तो अवस्थामा ठाउँको ठाउँ फिल्डमै गर्न सकिने र नतिजा पनि तत्कालै १५ मिनेट जतिमै आउने र्यापिड टेस्ट गर्न सजिलो हुन्छ।
यस क्रममा कुनै एक जनामा मात्रै पनि एन्टिबडी पोजेटिभ देखियो भने त्यो गाउँ नै सिल गरेर ती व्यक्तिको ट्रेसिङ सुरु गर्न सकिन्छ। त्यो टोलमा अरूलाई यो संक्रमण छ कि छैन भनेर रणनीति बनाउन सहयोग पुग्छ। तर यस पक्षमा विचार पुर्याउन जरुरी छ।
अर्काे उनको सुझाव छ- र्यापिड टेस्टलाई गोप्य राखौं। नतिजा सार्वजनिक गरिनहालौं। एकैचोटि रोग निर्क्याेल भइसकेपछि मात्रै त्याे पनि उसलाई मात्रै भनौं।
जब रोग (कोभिड-१९) छ/छैन भन्ने अन्तिम फैसला पीसीआरले नै गर्नुपर्छ भने यो र्यापिड टेस्टको होहल्ला किन भइरहेको छ? सरकारलगायत सम्बन्धित सरोकारवाला सबैले एकपटक गम्भीर भएर सोच्नुपर्ने हो कि?
विज्ञहरूको प्रश्न छ।
Shares
प्रतिक्रिया