आमरण अनसनमा बसेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई बिरामी परेका छन्।
बिरामी परेपछि उनलाई गएराति वीर अस्पताल भर्ना गरिएको छ।
बाँससहितका स्थानीय कच्चा पदार्थको उपयोग बढाउँदै आयातित सामग्री न्यूनीकरण गर्नुपर्ने माग गर्दै भट्टराईले यही साउन ११ गतेदेखि माइतीघरमा भोक हड्तालसहित सत्याग्रह सुरु गरेका थिए।
सत्याग्रह बस्दा सरकारले कुनै सुनुवाइ नगरेपछि उनले बुधबारदेखि आमरण अनसन सुरु गरेका थिए। बुधबार बिहान नौ बजेदेखि आमरण अनसन सुरु गरेका भट्टराईको स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ।
भट्टराईले स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन वाधक भएकाले पटक-पटक लिखित तथा मौखिक अनुरोधलाई संघीय सरकारले बेवास्ता गरेपछि ७ बुँदे मागसहित उनले आमरण अनसन सुरु गरेका हुन्।
स्थानीय स्रोत र सामग्री प्रयोग गर्नका लागि स्थानीय सरकार र प्रदेश सरकारले कानुन बनाउन नसक्ने स्थिति रहेको भन्दै भट्टराईले गाउँ घरमा खेर गएका कच्चा पदार्थ प्रयोग गर्ने हो भने आयातित सामग्रीलाई न्यूनीकरण गर्न सकिने बताउँदै आएका छन्।
यसले स्थानीयलाई रोजगारी दिन सकिने र वातावरण, पर्यावरणमैत्री नगरपालिका, गाउँपालिका, वडा कार्यालयहरु बनाउन सकिने उनको भनाइ छ।
‘स्थानीय स्रोत सामग्री प्रयोग गर्नका लागि स्थानीय सरकार र प्रदेश सरकारले कानून बनाउन सक्दैन, ऐन बनाउन सक्दैन,’ भट्टराई भनेका छन्, ‘गाउँ घरमा असरल्ल खेर गएका कच्चा पदार्थ प्रयोग गर्ने हो भने आयातित सामग्रीलाई न्यूनीकरण गर्न सकिन्छ। स्थानीय नागरिकलाई रोजगारी दिन सकिन्छ, वातावरण, पर्यावरणमैत्री नगरपालिका, गाउँपालिका, वडा कार्यालयहरू बन्छन्। त्यसैले स्थानीय स्रोत र सामग्रीको प्रयोग गर्ने प्रयास गरिरहेका छौँ। तर कानुन वाधक भएको कारणले सकिएको छैन।’
गाउँघरमा बाँदरको समस्या विकराल बन्दै गएको भन्दै उनले अबको ५ वर्षपछि चुनावमा मतदाता पाउनै गाह्रो हुनेसमेत बताउँदै आएका छन्।
Shares

प्रतिक्रिया