ad ad

समाज


कोरोनाबाट कसरी बच्ने? यी हुन् नजानी नहुने नौ कुरा

कोरोनाबाट कसरी बच्ने? यी हुन् नजानी नहुने नौ कुरा

नेपालखबर
बैशाख २, २०७७ मंगलबार ५:११,

कोरोना भाइरस (कोभिड-१९) महामारीले यतिबेला विश्वको अवस्था नै अर्कै बनाइदिएको छ।

कोरोना संक्रमण सर्ने त्रासले विश्वका मानिस घरभित्रै कैद हुन बाध्य भएका छन्। यो भाइरसबाट संक्रमण र मृत्यु हुने क्रम रोकिएको छैन, बरु बढ्दै गएको देखिन्छ।

यसैकारण यसबाट बच्न/बचाउन विश्वका सरकारले लकडाउनलगायतका उपाय अवलम्बन गरिरहेका छन्।

यसबाट मानिसलाई बचाउने औषधि/खोप पत्ता लगाउन विश्वका वैज्ञानिक जुटिरहेका छन्, तर अहिलेसम्मको यसको खास औषधि पत्ता लाग्न सकेको छैन। कारण यो अहिलेसम्मकै नयाँ भाइरस भएकाले हो।

यो भाइरस कस्तो हो? कसरी सर्छ? यसबाट मानिसको मृत्यु कसरी हुन्छ? यसबाट बच्न के गर्नुपर्छ जस्ता विषयमा अनुसन्धान जारी छन् र नयाँ-नयाँ तथ्य सार्वजनिक भइरहेका छन्।

यी हुन् अहिलेसम्म प्राप्त तथ्य, जुन जान्न जरुरी छ: 
१. कोरोना कस्तो भाइरस हो?
आनुवांशिक संरचनामा आरएनए भएका भाइरसको एउटा समूहलाई वैज्ञानिकले कोरोना भाइरस नाम दिएका छन्। भाइरसको बाहिरी रूप किरिट अर्थात् श्रीपेचजस्तै भएकाले अंग्रेजीमा यसको नामकरण गरिएको हो। त्यसलाई नेपालीमा ‘किरिटाकार विषाणु’ वा ‘किरिट विषाणु’ पनि भन्न सकिन्छ। तर कोरोना भाइरस नै प्रचलित र सजिलै बुझिने नाम हो।

सन् २०१९ डिसेम्बरमा पहिलोपटक चीनमा मानिसमा देखापरेको यो भाइरस उल्लिखित समूहमा राख्न मिल्ने नयाँ किसिमको भएको अनुसन्धानकर्ता बताउँछन्। 

चीनको उहाननजिकै पशुपक्षी व्यापार हुने एउटा बजारमा पहिलोपटक मानिसमा संक्रमण भएको यो भाइरस केही महिनामै विश्वभरि फैलियो। जसको वैज्ञानिकले सार्स-कोभ-२ हो। यसबाट हुने रोगलाई कोभिड-१९ भनिन्छ।

२. कोरोनाकाे संक्रमण कसरी हुन्छ?
कोरोना भाइरस नाक र मुखबाट शरीरमा प्रवेश गर्छ। संक्रमितको संसर्गमा आउने अरू व्यक्तिलाई यो भाइरस सर्न सक्छ। संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक र मुखबाट निस्किएका ससाना छिटामा कोरोना भाइरस हुन्छन्। त्यसकारण उनीहरूको नजिक बस्ने मानिसको शरीरमा भाइरस छिर्न सक्छ।

संक्रमित व्यक्तिले सरसामान वा सतह छोएर हात नधोई आफ्नो अनुहार छुँदा पनि कोरोना शरीरमा छिर्न सक्छ। यो भाइरस शरीरमा पसेपछि पहिला घाँटी, श्वासनली र फोक्सोका कोषलाई आक्रमण गर्छ। र, बिस्तारै ती अंगलाई नियन्त्रणमा लिएर आफ्नो संख्या बढाउँन थाल्छन् र गम्भीर असर पुर्‍याउन सक्छन्।

३. कोरोना संक्रमण कसरी थाहा पाउने?
ज्वरो आउनु र सुक्खा खोकी लाग्नु यसका मुख्य लक्षण हुन्। तर कसैलाई घाँटी वा टाउको दुख्ने र पखाला लाग्ने पनि पाइएको छ भने केहीमा सुँघ्ने क्षमता पनि कम भएकाे पाइएकाे छ। 

केही मानिसलाई संक्रमण भए पनि कुनै गम्भीर लक्षण देखिँदैन। तर उनीहरूले थाहै नपाई अरूलाई भाइरस सारिदिन सक्छन्। झन्डै ८० प्रतिशत मानिसलाई सामान्य लक्षण मात्र देखिन्छ।

तर ज्वरो आएको छ, खोकी लागेको छ र सास फेर्न गाह्रो भएको छ भने डाक्टरसँग सल्लाह लिनुपर्छ।

उल्लिखित लक्षण देखिनासाथ घरमै पनि अरूबाट अलग्ग (क्वारेन्टिन) बस्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सुझाव दिएको छ।

४. कस्तालाई हुन्छ कोरोनाको बढी जोखिम?
चिकित्सकका अनुसार कोरोना भाइरसको संक्रमण जसलाई पनि हुन सक्छ। विशेषगरी संक्रमित व्यक्तिको संसर्गमा आउने व्यक्ति तथा यस्ता बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई भाइरस सर्ने जोखिम ज्यादा हुन्छ। त्यसैले सबैले आफू सुरक्षित हुने उपाय अपनाउनुपर्छ।

अनि अरू गम्भीर रोग भएका तथा पाका उमेरका व्यक्तिलाई पनि यो भाइरसको संक्रमण हुने बढी जोखिम हुन्छ र संक्रमण भयो भने जटिल अवस्था सिर्जना हुन सक्ने चिकित्सक बताउँछन्।

५. यसबाट मृत्यु हुने सम्भावना कति हुन्छ?
चिकित्साशास्त्रको जर्नल ‘द लान्सिट इन्फेक्सस डिजिजेज’मा प्रकाशित अनुसन्धानअनुसार संक्रमण भएका व्यक्तिमध्ये झन्डै ०.६६ प्रतिशत बिरामीको मृत्यु हुन सक्छ।

यो मृत्युदर अन्य मौसमी रुघाखोकीबाट हुने मृत्युदरभन्दा धेरै हो। अध्ययनअनुसार विश्वमा मौसमी रुघाखोकी लागेका करिब ०.१ प्रतिशत बिरामीको मृत्यु हुने गरेको छ।

तर कोरोना भाइरसबाट विश्वमा कति व्यक्ति संक्रमित भएका छन् भन्ने एकिन तथ्यांक नआएसम्म यसबाट हुने मृत्युदर निश्चित गर्न नसकिने विज्ञ बताउँछन्।

अनुसन्धानकर्ताका अनुसार फरक उमेर समूहका व्यक्तिमा फरक मृत्युदर देखिएको छ। लन्डनस्थित इम्पिरिअल कलेजको अनुमानअनुसार ८० वर्षभन्दा माथिका यसका बिरामीको मृत्युदर औसतभन्दा १० गुणा बढी र ४० वर्षमुनिका बिरामीमा धेरै कम हुन्छ।

चीनमा ४४ हजार बिरामीको अभिलेख अध्ययन गर्दा मधुमेह, उच्च रक्तचाप वा मुटु वा फोक्सोसम्बन्धी समस्या भएका मानिस कोरोना संक्रमणका कारण मृत्यु हुने सम्भावना पाँच गुणा बढी भएको पाइएको छ।

६. कोभिड-१९ रोगको उपचार छ?
कोरोना भाइरसका कारण लाग्ने रोग कोभिड-१९ रोगको उपचार गर्ने तथा यो हुनै नदिने औषधि/खोप अहिलेसम्म विश्वमा कतै बनेको छैन। अन्य कीटाणु/जीवाणु संक्रमणमा प्रयोग गरिने एन्टिबायोटिकले यो भाइरस मार्न सक्दैनन्।

विज्ञका अनुसार कोभिड-१९ हुँदा देखिने लक्षणको मात्र उपचार हुन्छ। धेरैजसो मानिसलाई भने उनीहरूकै शरीरभित्र हुने रोग प्रतिरोधात्मक शक्ति सक्रिय भएर बिस्तारै निको हुन थाल्छ। अहिले विभिन्न देशका वैज्ञानिकले कोरोना भाइरसविरुद्ध खोप बनाउने तथा परीक्षण गर्ने गरिरहेका छन्।

७. कोरोनाबाट कसरी बच्ने?
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसबाट बच्ने प्रमुख र आधारभूत उपाय भनेको व्यक्तिगत सरसफाइ नै हो। नियमित रूपमा साबुन–पानीले हात धुने तथा हातमा गुणस्तरीय स्यानिटाजर दल्ने। यसो गर्दा हातमा भएका भाइरस मर्छन्।

हातले बारम्बार नाक, मुख र आँखा छुन हुँदेन। किनभने हातले दूषित ठाउँ छोएको हुन सक्छ र नधोईकन त्यो हातले अनुहार छुँदा भाइरस नाक, मुख तथा आँखाबाट शरीरभित्र छिर्न सक्छ।

खोक्दा वा हाछ्युँ गर्दा सफा रुमाल, टिस्यु पेपर त्यो पनि नभए कम्तीमा कुहिनाले भए पनि नाक र मुख छोप्नुपर्छ। त्यसो गर्दा आफूसँग भएका भाइरस फैलिन पाउँदैनन्।

तर त्यसरी मुख छोपिएका रुमाल वा टिस्यु पेपर पनि दूषित हुने भएकाले तिनलाई तुरुन्त सुरक्षित रूपमा सुरक्षित ठाउँमा फाल्नुपर्ने चिकित्सक बताउँछन्।

८. कोरोनाबाट बच्न अन्य व्यक्तिसँग २ मिटर दूरी कसरी राख्ने?
कोरोना सर्नबाट बच्न व्यक्तिबीच कम्तीमा २ मिटरको दूरी कायम राख्नुपर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ। यसो गर्दा एक व्यक्तिमा भएका भाइरस अर्कोमा सजिलै सर्न पाउँदैनन्।

भिडभाडमा जानु हुँदैन। सकेसम्म घरभित्रै बस्नुपर्छ। त्यसो गर्दा अरूमा भएका भाइरस आफूमा तथा आफूमा भएका भाइरस अरूमा फैलिन पाउँदैन। एकअर्कालाई भेट्दा हात नमिलाउने सट्टा नमस्कार गर्ने। यसो गर्दा एकअर्कामा रहेका भाइरस सर्न पाउँदैन।

९. मास्क र पन्जाले भाइरस रोक्छन् त?
धेरै खुकुला हुन्छन् र आँखा पनि छोप्न नमिल्ने सामान्य खालका मास्क लामो समयसम्म लाउन नमिल्ने विज्ञको सुझाव छ। मास्कले भाइरस सर्न नदिने ग्यारेन्टी नभए पनि संक्रमित व्यक्तिले मास्क लगाउँदा खोक्दा वा हाछ्युँ गर्दा निस्किने थुकका छिटा त्यसले धेरै मात्रामा रोकिदिन्छ।

धेरै मानिसमा संक्रमण भए पनि लक्षण नदेखिने भएकाले आफ्नो र अरूको सुरक्षाका लागि मास्क लगाउनु उपयुक्त नै हुन्छ। तर विश्व स्वास्थ्य संगठनले पञ्जा लगाए पनि अनुहार छुँदा भाइरस सर्ने सम्भावना भएकाले नियमित साबुन–पानीले हात धुनु बढी सुरक्षित हुने सुझाव दिएको छ।बीबीसी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .