नेपाल पत्रकार महासंघले बाराको सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवद्वारा सामाजिक सञ्जालबाट पत्रकारलाई लाञ्छित गर्दै व्यक्त धारणाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
यही साउन ६ गते मंगलबार आफ्नो विषयमा समाचार प्रकाशित भएपछि यादवले पत्रकारलाई बदनाम र अपमानित गराउने खालका धारणा व्यक्त गरेको नेपाल पत्रकार महासंघ बारा शाखाले जनाएको छ।
महासंघ, बारा शाखाकाअनुसार, मंगलबार दिउँसो मोटरसाइकलमा सवार एक युवकले अध्यक्ष यादव चढेको स्कारपियोको चक्कामा ठोक्किएर टायर पञ्चर बनाएको निहुँमा अध्यक्ष यादवले ती युवकलाई गालीगलौज र दुर्व्यवहार गरेका थिए।
यस घटनाबारे पत्रकारहरूले समाचार लेखेकै आधारमा अध्यक्ष यादवले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिले समग्र पत्रकारिता क्षेत्रलाई नै बदनाम गराउने प्रयास गरेको महासंघको भनाइ छ।
‘प्रकाशित समाचारप्रति गुनासो भए कानुनी या विधि सम्वत् प्रक्रियामा जान सकिनेमा सो नगरी सार्वजनिक पदधारी व्यक्तिबाट प्रेस स्वतन्त्रता विरोधी कार्य भएकोमा महासंघ आपत्ति प्रकट गर्दछ’ महासंघका महासचिव रामप्रसाद दाहालद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारलाई धम्क्याउनेमाथि कानुनबमोजिम कारबाही गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ।’
Shares

प्रतिक्रिया