ad ad

समाज


टेकु अस्पताल भन्छ : कोरोना संक्रमित दुई जना केही दिनमै डिस्चार्ज हुँदैछन्

टेकु अस्पताल भन्छ : कोरोना संक्रमित दुई जना केही दिनमै डिस्चार्ज हुँदैछन्

सीबी अधिकारी
चैत २९, २०७६ शनिबार ६:५७,

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोरोना भाइरस (कोभिड–१९) का दुई संक्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुँदैछन्। कोभिड–१९ संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि छिट्टै डिस्चार्ज हुने अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले राससलाई जानकारी दिए।

उनले भने, “अस्पतालमा उपचारको क्रममा रहेका कोभिड संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ। दुई दिनभित्र अन्तिम रिपोर्ट आउनेछ, त्यो रिपोर्ट नेगेटिभ देखिएमा डिस्चार्ज गरिनेछ।’ टेकु अस्पतालमा अहिले कोभिड शंकास्पद नौ जनाको उपचार भइरहेको छ। यीमध्ये दुई जनामा कोभिड पोजेटिभ देखिएको छ भने बाँकी सात जनाको नेगेटिभ छ। तर पनि विभिन्न कारणले गर्दा सात जनालाई अस्पतालमै राख्नुपर्ने अवस्था भएको अस्पतालले जनाएको छ।

निर्देशक डा राजभण्डारीले विगतका तुलनामा पछिल्ला दिनमा अस्पतालको सेवामा सहजता आएको छ। जनशक्ति तथा उपकरणको कमी छैन। कोभिड डेडिकेटेड अस्पताल घोषणा गरिएको र लकडाउनका कारण पनि उल्लेख्य सङ्ख्यामा बिरामी नआएको उनको भनाइ छ। ‘अस्पतालमा अहिले पहिलाभन्दा बिरामीको चाप कम छ। क्षयरोगलगायत अन्य सरुवा रोगका बिरामीलाई अन्यत्रै सिफारिस गरिएको हुनाले कोभिडको उपचारमा सहजता आएको छ’, निर्देशक डा. राभण्डारीले भने।

यसैबीच अस्पतालले उपलब्ध गराउँदै आएको रेबिजको भ्याक्सिन भने नियमित भइरहेको छ। अहिले दैनिक ७० जनासम्म रेबिजको सुई लगाउन अस्पताल आउने गरेको अस्पतालका निर्देशक राजभण्डारीले जानकारी दिए। टेकु अस्पतालमा हाल पाँच आइसोलेसन र ३० क्वारेन्टिन कक्ष छन्।

अहिले २५ आइसोलेसन र २० सघन उपचारकक्ष तयार गर्ने कार्य उच्चगतिमा भइरहेको पनि निर्देशक राजभण्डारीले बताए। ‘अक्सिजन प्लान्ट’सहितको सघन उपचारकक्ष तयार गरिँदैछ। अस्पतालले आफ्नै अक्सिजन प्लान्ट स्थापना गरी बिरामीको कपडा धुलाइका लागि अस्पतालमै वासिङ मेसिन, विद्युत्का लागि ‘पावर ब्याकअप’ तयार गरेको अस्पतालले जनाएको छ।

विश्व माहामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण नेपालमा पनि देखा परेपछि यो निकै चिन्ताको विषय बनेको थियो। तर, कोरोनाको संक्रमण देखिएपछि नेपालमा पहिलोपटक टेकु अस्पतालमा भर्ना भएका बिरामी उपचारपछि निको भएर घर फर्किन लागेका छन्। यसअघि नेपालमा पहिलोपटक कोभिडको संक्रमण फेला परेका एक नेपाली उपचारपछि घर फर्किसकेका छन्। कोभिड पहिलोपटक देखापरेको चीनको वुहान शहरबाट अएका उनी उपचारपछि घर फर्किएका थिए । नेपालमा दोस्रोपटक गत चैत १० गते १९ वर्षीया युवतीमा कोभिडको संक्रमण देखापरेको थियो।

नेपालमा हालसम्म नौ जनामा कोभिडको संक्रमण देखिए पनि एक जना उपचारपछि घर फर्किसकेका छन्। नेपालमा दोस्रोपटक गत चैत १० गते कोभिडको नयाँ संक्रमित फेला परेका थिए। चैत ४ गते कतार एयरवेजको जहाजमार्फत फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोभिड–१९ पोजेटिभ देखिएको थियो। त्यस्तै चैत १२ गते पुनः एक जनामा कोभिड पोजेटिभ देखिएको थियो। कोभिड पोजेटिभ देखिएका ती पुरुष व्यक्तिको विस्तृत विवरण खुलाइएको छैन। यस्तै चैत २० गते बागलुङकी ६५ वर्षीया एक ज्येष्ठ नागरिकमा कोभिड पुष्टि भएको थियो। पछिल्लोपटक चैत २२ गते एकै सुदूरपश्चिममा एकै दिन थप तीन जनामा कोभिड संक्रमण भेटिएको थियो। भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

मन्त्रालयले थप नयाँ व्यक्तिमा कोभिडको संक्रमण नदेखिएको र संक्रमितको अवस्था पनि सामान्य रहेको शुक्रबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको थियो। मन्त्रालयको तथ्यांकअनुसार हालसम्ममा तीन हजार ५२४ व्यक्तिको कोरोना संक्रमणको नमूना परीक्षण गरिएको छ। हिजो मात्रै ६३० परीक्षण गरिएको थियो। आठ सय बढी परीक्षणको क्रममा छ। हाल नेपालभरि आठ हजार ६६० जना क्वारेन्टिनमा छन्। आइसोलेसनमा रहेका व्यक्तिको संख्या १२५ रहेको मन्त्रालयले उल्लेख गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले प्रत्येक प्रदेशमा क्वारेन्टिनमा रहेका व्यक्तिको परीक्षणका लागि प्रतिप्रदेश पाँच हजारका दरले ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) सामग्री प्रदान गरिएको बताए। बागलुङ, म्याग्दी र पर्वतका स्वास्थ्यकर्मीलाई ¥यापिड डाइग्नोस्टिक टेष्टसम्बन्धी तालिम दिइएको र परीक्षणसमेत शुरु गरिएको उनले बताएका थिए।

संकटको समयमा जनशक्ति अभाव नहोस् भन्दै मन्त्रालयले सेवा बाहिरका र सेवा निवृत्त चिकित्सकलाई स्वेच्छिकरुपमा सेवामा आबद्ध हुन आग्रह गरिसकेको छ। मन्त्रालयले छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीलाई परिचालन गर्ने जनाएको छ। विभिन्न अन्तर्राष्ट्रिय तथ्यांकअनुसार हालसम्म विश्वभर हाल १६ लाख ९९ हजार ६३२ कोभिड–१९ बाट संक्रमित भएका छन्। यीमध्ये एक लाखभन्दा बढीको मृत्यु भएको छ भने तीन लाख ७६ हजार ३३ जना उपचारपछि घर फर्किएका छन्। हाल विश्वका करिब २१० देशमा कोभिड–१९ फैलिएको बताइएको छ।
–––

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .