समाज


भेटेरिनरी अस्पताल सप्तरीका तत्कालीन प्रमुख डा. प्रभात झासहित तीनजना विरुद्ध भ्रष्टाचार मुद्दा

भेटेरिनरी अस्पताल सप्तरीका तत्कालीन प्रमुख डा. प्रभात झासहित तीनजना विरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
असार ११, २०८२ बुधबार १५:१६, काठमाडौँ

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका तत्कालीन कार्यालय प्रमुख, वरिष्ठ पशु विकास अधिकृत डा. प्रभात झासमेत ३ जना र कम्पनी उपर आरोपपत्र दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. झा लगायत विरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीले भवन निर्माण ठेक्का सम्बन्धी बोलपत्र आव्हानको सूचना सार्वजनिक खरिद ऐन, २०६३ को दफा १४ को उपदफा (१) बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सूचना लुकाई छिपाई, सार्वजनिक रूपमा प्रकाशन नगरी कार्यालयको अभिलेखमा राख्ने प्रयोजनार्थ सौर्य राष्ट्रिय दैनिक पत्रिकामा एक प्रति मात्र सूचना प्रकाशन गरेको अख्तियारको ठहर छ।

प्रेश काउन्सिल नेपालको यही २०८२ जेठ २ गतेको पत्रबाट भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीको भवन निर्माण सम्बन्धी बोलपत्र आव्हानको कुनै पनि सूचना नरहेको पाइएको छ। 

अख्तियारका अनुसार प्रतिवादीहरूको मिलेमतोमा झुट्टा बिल तयार गरी एक लाख २९ हजार ६६७ रुपैयाँ भुक्तानी दिए लिएको पाइएको छ। 

प्रतिवादीहरू भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका तत्कालीन कार्यालय प्रमुख, वरिष्ठ पशु विकास अधिकृत डा प्रभात झा र तत्कालीन सह लेखापाल अनिल लिम्बुविरुद्ध एक लाख २९ हजार बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवाना तथा बिगो असूल उपर हुन मागदाबी लिइएको छ।

यस्तै, मोडाक एडभरटाइजिङ प्रालि तथा सोका प्रोपाइटर कौशल राज सिंहलाई पनि मुख्य कसूरदार सरह सजाय गरी बिगो असुल उपर हुन मागदाबी लिइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जनाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad