समाज


बुटवलमा यसरी गरियो कोरोना आशंकित युवकको अन्त्येष्टि, पत्नी भन्छिन्ः शव छुनै दिइएन

बुटवलमा यसरी गरियो कोरोना आशंकित युवकको अन्त्येष्टि, पत्नी भन्छिन्ः शव छुनै दिइएन

नेपालखबर
चैत २७, २०७६ बिहिबार ६:५९,

रूपन्देहीको बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवकको ११औं दिनमा अन्त्येष्टि गरिएको छ।

कोरोना आशंकामा अस्पताल भर्ना भएका पाल्पाको रिब्दीकोट गाउँपालिका-५ का ३४ वर्षीय बाबुराम थापाको  मृत्यु भएको ११औं दिनमा गए (बुधबार) राति दाहसंस्कार गरिएको हो।

दुबईमा ट्याक्सी चालक काम गरिरहेका थापा कोरोना महामारीका कारण यही चैत ६ गते नेपाल आएका थिए। स्थानीय मेडिकलबाट जति औषधि खाए पनि ज्वरो र खोकी निको नभएपछि कोरोना पो हो कि भन्ने शंकामा उनी चैत १३ गते बुटवल कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए।

तर उपचारकै क्रममा चैत १६ गते उनको मृत्यु भयो भने भोलिपल्ट मात्रै उनको स्वाब परीक्षणको नतिजा आयो। काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको पहिलो नमुना परीक्षणले थापामा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि गर्‍याे। 

याे पनिबुटवल कोरोना अस्पतालका डाक्टर भन्छन्ः रिपोर्ट नेगेटिभ आए पनि मृतकमा कोरोना थिएन भन्नेमा शंका छ

त्यसपछि उनकी पत्नी रीता थापाले श्रीमानको मृत्यु कोरोनाका कारण भएको होइन भने केले भएको हो, प्रस्ट पार्नुपर्‍याे भन्दै तत्काल शव जिम्मा लिन अस्वीकार गरिन्। अस्पतालको लापर्बाहीले उनको मृत्यु भएको आरोप लगाउँदै उनले घटनाको सत्यतथ्य छानबिन नभएसम्म र क्षतिपूर्ति नपाएसम्म शव नउठाउने अडान लिइरहेकी थिइन्।

बुधबार प्रदेश सरकारले उनलाई रोजगारी दिने, उनका साना दुई छोरालाई १२ कक्षासम्म पढाइदिने तथा पीडितको न्यायका लागि पहल गरेका पाल्पाली समाजलगायत संघ/संस्थाले ९ लाख रुपैयाँ आर्थिक सहयोग जुटाइदिने सहमति भएपछि थापाको शव त्यही साँझ परिवारले जिम्मा लिएको हो।

यसरी गरियो अन्त्येष्टि
बुधबार प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमा छलफल गर्दागर्दै साँझकाे ६ बजिसकेको थियो। ७ बजेतिर थापाको शव उठाइएकाे पाल्पाली समाजका सल्लाहकार एवं पूर्वसभासद विनोद पहाडीले जानकारी दिए।

मृतककी पत्नी रीता थापाका अनुसार बुटवलको मगरघाट भन्ने स्थानमा लगेर पतिको शव जलाएर अन्त्येष्टि गरिएको हो। बिहीबार बिहान नेपालखबरसँगको कुराकानीमा उनले भनिन्, ‘तर अन्तिम पटक मैले श्रीमानको मुख हेर्न पाइनँ।’ कोरोना अस्पाताल भर्ना भएका दिन चैत १३ गतेदेखि नै पतिको अनुहार हेर्न नपाएको उनले बताइन्।

उनका अनुसार सहमतिपछि बुधबार बेलुका अस्पतालकै शववाहन गाडीमा उनको पतिलाई घाटमा लगिएको थियो।

अनि अस्तालले नै व्यवस्था गरिदिएको गाडीमा रीतालगायत आफन्तलाई पनि घाट लगिएको थियो। अनि शव चितामा राखियो, तर रीतालगायत कसैलाई पनि छुन दिइएन। एक मिटर परै बस्न लगाइयो। 

याे पनि : आफन्तले एक मिटर टाढाबाट मात्रै हेर्न पाउने छन् कोरोना संक्रमितको शव (१९ बुँदे कार्यविधि)

‘दागबत्ति त मैले नै दिएका हुँ,’ अहिले स्थायी ठेगाना पाल्पा रिब्दीकोटकै घरमा कुरीमा बसेकी रिताले फोनमा नेपालखबरसँग भनिन्, ‘तर श्रीमानको मुख हेर्न पाइनँ, प्लास्टिकले बेरिएको थियो, खुट्टा कता हो, टाउको कता थाहै भएन।’

उनका दुई छाेरा भए पनि ससाना ७ र ८ वर्षका भएकाले आफूले नै दागबत्ति दिएको उनले बताइन्। दाहसंस्कारमा पति तर्फका दाजुभाइ तथा माइती पक्षका दाजुभाइ पनि सहभागी भएको उनले बताइन्।

दागबत्ति दिनेबित्तिकै आफूलाई त्यहाँबाट चाँडचाँडो हट्न भनेको उनले बताइन्। ‘मैले अन्तिमपटक पनि पतिको मुख हेर्न पाइनँ,’ अत्यन्तै दुःखी स्वरमा रीताले भनिन्, ‘यो एउटा जीवनभर नबिर्सिने घाउ भयो मलाई।’

स्वाब परीक्षण गर्दा कोरोना लागेको होइन भनिएका पतिको शव किन त्यसरी छुन र हेर्न नदिइएर जलाइएको हो भन्ने प्रश्न पनि उनको मनमा सधैं गाडिएर रहने भयो। भन्छिन्, ‘मेरा पतिलाई कोरोना नलागेको भए, किन त्यसरी अछूत बनाइयो, मैले बुझ्न सकेको छैन।’

उनका अनुसार त्यहाँबाट उनीहरू बुटवलबाट सीधै आफ्नो स्थायी घर पाल्पाको रिब्दीकोट-५ पुगे। ‘राति त्यस्तै १० बजेतिर आइपुगिएको थियो होला,’ उनले भनिन्, ‘अहिले म कुरीमा बसेको छु।’

याे पनि :

बुटवल कोरोना अस्पतालमा मृत्यु भएका युवकको शव ११औं दिनमा आज उठाइँदै, यस्ताे भयाे सहमति

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad