ad ad

समाज


कोरोना भाइरसः जर्मनीले कसरी रोक्यो मृत्युको सुनामी?

कोरोना भाइरसः जर्मनीले कसरी रोक्यो मृत्युको सुनामी?

नेपालखबर
चैत २६, २०७६ बुधबार १३:११,

संक्रमित दर र मृत्यु दरलाई मध्यनजर गर्दा केही दिनमै इटली, स्पेन, फ्रान्स र बेलायतजस्ता देश संकटमा फस्ने संकेत देखिएको थियो। आज यी चारै देश कोरोनाको ठूलो चपेटामा फसेका छन्।

त्यस समय जर्मनीका चान्सलर एंगेला मर्केलको एक बयान सार्वजनिक भएको थियो, उनको अभिव्यक्तिले जर्मनीका मानिसहरु त्रसित बनेका थिए। मर्केलले जर्मनीका ७० प्रतिशत जनसंख्या अर्थात् ५ करोड ८० लाख मानिसमा कोरोना भाइरसको संक्रमण हुनसक्ने बताएकी थिइन्।

जब उनी आफैं क्वारेन्टिनमा बसिन् तब जर्मनीको अवस्था पनि इटली र स्पेनको जस्तै हुने अनुमान गरिएको थियो। तर एक महिनापछि अहिलेको अवस्थालाई नियाल्दा इटली, स्पेन, फ्रान्स र बेलायतमा हरेक दिन सयौं मानिसको मृत्यु भइरहेको छ। जर्मनी भने यो अवस्थामा पुगेकाे छैन।

जर्मनीले त्यस्तो के गर्यो, जसका कारण त्यहाँ मृतकको संख्यामा कमी आयो?

तथ्यांक हेर्दा इटली र स्पेन जत्तिकै कोरोना संक्रमित जर्मनीमा पनि छन्। ताजा तथ्यांकअनुसार जर्मनीमा १ लाख ७ हजार ६६३ संक्रमित छन्। इटलीमा १ लाख ३५ हजार ५८६ संक्रमित छन् भने स्पेनमा १ लाख ४६ हजार ६९० कोरोना संक्रमित छन्।

तर जर्मनी र यी देशहरुमा मृतकको संख्यामा ठूलो अन्तर छ। जर्मनीमा हालसम्म २ हजार १६ को ज्यान गएको छ। स्पेनमा १४ हजार ५५५ को मृत्यु हुँदा इटलीमा १७ हजार १२७ को मृत्यु भएको छ।

यस हिसाबले हेर्दा जर्मनीमा कोरानाका कारण हुने मृत्यु दर ०.३ प्रतिशत छ। तर इटलीमा ९ प्रतिशतले मानिस मरिरहेका छन् भने बेलायतमा ४.६ प्रतिशतले मानिसहरुकाे ज्यान गइरहेकाे छ।

तथ्यांकलाई हेरेरै जर्मनीमा सबै ठीक छ भन्ने पनि हुँदैन। जर्मनीले आगामी दिनमा ठूलो चुनौतीको सामना गर्नुपर्ने अवस्था आउनसक्ने विश्लेषकहरु बताउँछन्।

परीक्षण

जानकारहरुका अनुसार जर्मनीले चीनमा कोरोनाको प्रभाव बढ्न थालेसँगै जनवरी महिनाको सुरुवातदेखि कोरोना परीक्षणको तयारी थाल्दै टेस्ट किटहरु निर्माण गर्न सुरु गरेको थियो।

जर्मनीमा कोरोना संक्रमणको पहिलो घटना फेब्रुअरीमा पुष्टि भएको थियो। तर, त्यो भन्दा अगाडि नै जर्मनीले देशभर टेस्ट किट्सको व्यवस्था गरिसकेको थियो।

जर्मनीमाभन्दा दुई हप्ता अगाडि नै इटलीमा कोरोना देखिएको थियो। यद्यपी जर्मनीभन्दा इटलीमा किन धेरै मृत्युको घटना छन्? वास्तबमा उत्तरी इटलीको टेक्सटाइल उद्योगमा चीनको ठूलो लगानी छ। त्यसकारण इटलीमा तीव्र गतिमा कोरोना फैलियो।

जर्मनीमा भने यस्तो स्थिती थिएन

जानकारहरुका अनुसार अस्ट्रिया र इटलीको स्की रिसोर्टबाट जर्मनीमा कोरोनाको संक्रमण फैलिएको हो। कोरोनाले जर्मनीमा पहिले कम उमेर भएका मानिस प्रभावित भएका थिए।

तर जर्मनीले सुरुवातदेखि कोरोना परीक्षणलाई प्राथमिकता दिएको थियो।

जर्मनीका कयौं शहरमा कोरोना परीक्षण गराउने ट्याक्सी चलाइएको थियो, जसले लकडाउन प्रभावितलाई सजिलै कोरोना परीक्षण गराउने पहुँच दियो। याे काम गर्न युरोपका अन्य देश चुकेका थिए।

जर्मनीका स्वास्थ्य अधिकारीहरुले आफ्ना नागरिकमा कोरोनाको लक्षण देखिए अस्पताल नजान र स्थानीय अधिकारीलाई फोन गर्न सूचना दिए। जर्मनीमा घरघरमै कोरोनाको परीक्षण सेवा पुग्थ्यो।

जर्मनीमा स्वास्थ्य अधिकारीले एक हप्तामा एक लाखभन्दा बढी मानिसमा कोरोनाको परीक्षण गरेका थिए। समयमै कोरोनाको परीक्षण हुँदा कोरोना संक्रमित पहिचान भए र उनीहरुले समयमै उपचार पाए। मानिसलाई आइसोलेसनमा राखियो र त्यसले राम्रो नतिजा दियो।

रोबर्ट कोच इन्स्टिच्युटका प्रमुख लोथर विलर भन्छन्, ‘जर्मनीले सुरुमै परीक्षण थालेको थियो। हामीले सामान्य लक्षण भएका मानिसलाई पनि पहिचान गर्यौ।’

उनले जर्मनीमा बढी उमेरका मानिसमा कोरोनाको संक्रमण देखिएको पनि बताए तर चाँडै कोरोनाको परीक्षण भएकाले थोरै संख्याका वृद्धवृद्धा मात्र कोरोना संक्रमित बने।

बर्लिनका प्राध्यापक क्राउजलिकले न्युयोर्क टाइम्ससँग भनेका थिए, ‘हामीले आम मानिसलाई मात्र कोरोनाको परीक्षण गरेनौं, हामीले डाक्टर र नर्समा पनि नियमित परीक्षण गर्यौ।’ जर्मनीमा सबै परीक्षण निशुल्क गरिएको थियो, त्यसकारण त्यहाँका अत्यधिक मानिसले कोरोनाको परीक्षण गराए।

Coronavirus Outbreak: Pictures show intensive treatment of ...

ट्रेसिङ र ट्रयाकिङ

जर्मनीले परीक्षणका साथै ट्रेसिङ र ट्रयाकिङलाई पनि उत्तिकै प्राथमिकता दियो। युरोपका कयौं मुलुकसँगै संयुक्त राज्य अमेरिका पनि यो कार्य गर्न चुकेको अवस्था छ।

तर जर्मनीले दक्षिण कोरियाको ट्रेसिङ र ट्रयाकिङ विधिलाई राम्रोसँग सिक्यो। विज्ञहरु कोरोना परीक्षणसँगै कोरोना संक्रमितसँग सम्पर्कमा आएका मानिसको पहिचान गर्नु, उनीहरुको स्थान पत्ता लगाउनु पनि अत्यन्त जरुरी भएको सुझाव दिन्छन्।

सुरुवातमा जर्मनीले कोरोना संक्रमितको सम्पर्कमा आएका मानिसलाई पहिचान गर्न र उनीहरु रहेको स्थान पत्ता लगाउनमा कम ध्यान दियो। जसका कारण त्यहाँ तीव्र गतिमा कोरोनाको संक्रमण फैलियो।

तर जब एकपटक जर्मनीले यस विषयमा ध्यान दियो, सरकार कोरोना संक्रमितसँग सम्पर्कमा आएका मानिसलाई पहिचान गर्न सफल भए र उनीहरुको तत्काल उपचार भयो।

जर्मनीमा ट्रेसिङ र ट्र्याकिङ गर्न पहिल्यैबाट विद्यालय बन्द गरिएको थियो। धेरै मानिसलाई आइसोलेसनमा राखिएको थियो।

स्वास्थ्य सेवा प्रणाली

जर्मनीमा स्वास्थ्य सेवा प्रणालीको पनि तारिफ भएको छ। जर्मनीले समय हुँदै आईसीयूको संख्या बढायो, अस्पतालमा बिरामी राख्ने बेड थपिएको थियो।

जर्मनीका एक डाक्टर सुजेन हेराल्ड जर्मनको क्षमताको बारेमा भन्छिन्, ‘यहाँ इटली, स्पेन र फ्रान्सका बिरामीको पनि उपचार भइरहेको छ।’

जनवरीमा जर्मनीमा भेन्टिलेटरयुक्त आईसीयू बेडको संख्या २८ हजार थियो, तर यतिबेला यो संख्या बढाएर ४० हजार बनाइएको छ। जर्मनी कोरोना संक्रमित हजारमध्ये ६ जनालाई आईसीयू बेडमा राख्न सक्षम छ।

तर फ्रान्स ३.१, स्पेन २.६ र बेलायत २.१ जनालाई मात्र आईसीयू बेडमा राख्न सक्षम भएको जनाइएको छ। जर्मनीमा स्वास्थ्य सुविधा निशुल्क छ। त्यसकारण मानिसहरु सजिलै कोरोना संक्रमणको परीक्षण गर्न गए।

angelamarkelcoronaजर्मन चान्सलर एंगेला मर्केल

सरकारलाई जनताको समर्थन

जर्मनीका जनताले कोरोना नियन्त्रण अभियानमा सरकारलाई सक्दो सहयोग गरे। सीमा बन्द गर्ने फैसला देखि शारीरिक दुरी कायम गर्ने नियम उनीहरुले सरकारको हरेक कदम स्वागत गरे।

मार्चको अन्तिममा एंगेला मर्केलले सार्वजनिक स्थानमा तीन जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने घोषणा गरेकी थिइन्। विभिन्न प्रतिबन्धका नियमहरुमा जनताले नै समर्थन जनाएपछि जर्मन सरकारलाई कोरोना नियन्त्रणको अभियान सन्चालन गर्न झनै सजिलो भयो।

यस कारणले पनि जर्मनीमा कम मानिसहरुको मृत्यु भएको हो।

यी सबै सावधानीको बाबजुद स्वास्थ्य अधिकारीहरुमा केही चिन्ता छ। कयौं विज्ञहरु जर्मनीमा कोरोनाको उच्च प्रभाव देखिन बाँकी रहेको बताउँछन्।

जर्मनीमा कोरोना संक्रमितको संख्या अत्यधिक छ, मृतक दर भने निकै न्यून छ।

अधिकारीहरुले सरकारलाई शारीरिक दुरी कायम गर्ने नियम अझै बढाउनुपर्ने सुझाव दिएका छन्। जर्मनीसँग आफ्ना नागरिकका लागि पर्याप्त मास्क पनि छ।

द बर्लिन स्पेक्टेटर मा छापिएको अनुसन्धानमा जर्मनी आउने जस्तोसुकै मुश्किलको सामना गर्न तयार भएको बताइएको छ। जर्मनीलाई अबको चिन्ता भनेको संक्रमित व्यक्तिलाई लिएर मात्र हो। -बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .