ad ad

समाज


दैनिक १० हजार धाउने सिंहदरबार लकडाउनपछि भयो सुनसान

दैनिक १० हजार धाउने सिंहदरबार लकडाउनपछि भयो सुनसान

नेपालखबर
चैत २५, २०७६ मंगलबार १५:२४,

सधैँ भीडभाड हुने देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार दुई सातादेखि सुनसान छ।

नेता भेट्नेदेखि बजेट माग्नेसम्म, दुःख पाएकादेखि दलाली गर्नेसम्मले धाउने ठाउँमा अहिले सधैँको जस्तो मानिसको ताँती छैन।

सामान्य अवस्थामा दैनिक औसत १० हजारभन्दा बढी ओहोरदोहोर गर्ने सिंहदरबारमा अहिले दैनिक ६ देखि ७ सयसम्म मात्र आउने जाने गर्छन्।

स्वास्थ्य मन्त्रालयबाहेक प्रधानमन्त्री कार्यालयदेखि सबै मन्त्रालय सिंहदरबार परिसरभित्रै छ। संसद सचिवालय, नेपाल टेलिभिजन, रेडियो नेपाल, मुद्रण विभाग, योजना आयोगसहित विभिन्न कार्यालयहरु रहेका छन्।

अहिले मन्त्रालयहरु सञ्चालन भएपनि उच्च तहका कर्मचारी मात्रै कार्यालय आउने गरेको छन्।

‘हामी नियमित रुपमा समयमै मन्त्रालय पुग्ने गरेका छौं,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने, ‘कोरोनाको विषय मुख्य भएपनि अहिले बजेट निर्माणको विषयमा मन्त्रालयमा छलफल भइरहेको छ। चैतभित्रै सक्ने गरी काम भइरहेको छ।’

उनले निश्चित दूरी कायम गरी काम सञ्चालन गरिएको बताए।

‘स्वास्थ्यको विषयमा पनि ध्यान दिँदै काम गरिहेका छौं,’ भट्टराईले भने।

sunsaan_singhadurbar_5.jpg

अधिकांश मन्त्रीहरु निर्धारित समयमै कार्यालय पुग्ने गरेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले मन्त्री र सचिव नियमित रुपमा कार्यालय जाने गरेको भएपनि सह सचिवहरुलाई आलोपालोको व्यवस्था गरिएको बताए।

‘मन्त्री र सचिव नियमित रुपमा आइरहनु भएको छ। सहसचिवहरु भने आलोपालो गर्ने गरेका छौं,’ पौडेलले भने, ‘मन्त्रालयले नियमित गतिमा काम गरिहेको छ। आवश्यकताअनुसार घरबाट पनि काम हुने गरेको छ।’

पौडेलले द्विपक्षीय, बहुपक्षीय बैठकसहित अन्य विषयहरुको कामहरु ठप्प रहेको र कोभिड–१९ सँग सम्बन्धित कामहरु थपिएको बताए।

‘फरक फरक समयका लागि निरन्तर रुपमा कार्यालयमा रहन कर्मचारीको चारपाँच वटा समूह बनाइएको छ,’ पौडेलले भने, ‘कोभिड १९ सँग सम्बन्धित कुनै काम गर्नुपर्ने भए कर्मचारीहरु २४ घण्टा तयारी अवस्थामा हुनुहुन्छ।’

मन्त्रालयले विदेशस्थित नेपाली कूटनीतिक नियोग तथा नेपालस्थित विदेशी कूटनीतिक नियोगहरुसँग समन्वयका लागि हटलाइनको सञ्चालन भइरहेको पनि उनले बताए।

‘कोभिड १९ को संकट सुरु भएपछि समन्वयका लागि शिष्टाचार महापालअन्तर्गत हटलाइन सञ्चालन गरेको छौं। बिहान सबेरैदेखि बेलुकीसम्म हटलाइन सञ्चालन हुन्छ,’ पौडेलले भने।

उप प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोभिड १९ रोकथाम, नियन्त्रण र रोकथाम उच्चस्तरीय समन्वय समितिले अत्यावश्यक सेवा बाहेक अन्य कर्मचारीलाई घरमै तयारी अवस्थामा रहन निर्देशन दिएको थियो।

sunsaan_singhadurbar_6.jpg

महानरीय सुरक्षा गण सिंहदरबारका अनुसार सामान्य अवस्थामा दैनिक ७ हजार ३ सय देखि ७ हजार ५ सय कर्मचारी र ईपासबाट २५ सयदेखि ३ हजारसम्म आगन्तुक प्रवेश गर्ने सिंहदरबारमा अहिले ६ देखि ७ सयसम्म कर्मचारी र ईपासबाट १५ देखि २० जना मात्र प्रवेश गर्ने गरेका छन्।

त्यस्तै, दैनिक ३१०० देखि ३५ सयसम्म मोटरसाइकल प्रवेश गर्ने सिंहदरवारमा अहिले ३ सय ५० देखि ४०० सम्म मात्रै आउने गरेको गणले जनाएको छ। सामान्य अवस्थामा १ हजार ८ देखि २ हजार मोटर प्रवेश गर्ने गरेकोमा अहिले त्यो संख्या २ सय ५० देखि ३ सयमा सिमित भएको छ।

‘लकडाउन सुरु हुनुभन्दा पहिलदेखि नै चहलपहल घट्दै गएको थियो,’ गणका डीएसपी राकेश सिंहले भने, ‘लकडाउन सुरु भएपछि त ठप्पैजस्तो भएको छ।’

धेरै भीडभाड रहने गरेको मन्त्रालयपिच्छे रहेको तथा सेवा केन्द्रको चमेनागृह बन्द गरिएको छ।

भिडियाे:  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .