समाज


सवारी पास बनाउनका लागि जसले आमाको मृत्यु भएको झुटो विवरण दिए...

सवारी पास बनाउनका लागि जसले आमाको मृत्यु भएको झुटो विवरण दिए...

नेपालखबर
चैत २५, २०७६ मंगलबार ९:२१,

आफूलाई जन्म दिने बुबाआमाको विषयमा हत्तपत्त जो कोहीले झुठो बोल्दैनन्। त्यही बुबाआमालाई ढाल बनाएर झुटा विवरण पेश गरी फाइदा लिने मानिस पनि समाजमा नभएका होइनन्।

यस्तै एउटा घटना ललितपुरमा भएको छ। आमा मृत्यु भएको बहाना बनाएर लकडाउनको पास लिई गाडीमा यात्रु ओसारेको फेला परेको छ।

लकडाउनको समयमा झुठो विवरण पेश गरी सवारी पास बनाएर प्रयोग गरेको पाइएपछि ललितपुरबाट तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सप्तरीको सुरुंगा घर भई ललितपुर महानगरपालिका–३ पुल्चोक बस्ने ४५ वर्षीय शुभनारायण चौधरी, सोही नगरपालिका घर भएका ३० वर्षीय जितेन्द्रप्रसाद चौधरी र सोही नगरपालिका–५ का ४६ वर्षीय नरेश चौधरी रहेका छन्।

शुभ नारायणले आफ्नो आमाको मृत्यु भएकाले काजक्रिया गर्न जान भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा झुठो विवरण पेश गरी सवारी पास लिएको खुलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उनले चैत २४ र २५ गतेका लागि ३–०८–००५ ख ९१९८ नम्बरको बसको पास लिएर ३० जना यात्रु बोकी सप्तरीतर्फ जान लागेको अवस्थामा फेला पारी महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

सरकारले कोभिड–१९ को संक्रमण रोक्न यही चैत ११ गतेदेखि अत्याश्यक काम बाहेक बाहिर ननिस्किन जारी गरेको आदेश आजदेखि तेस्रो हप्तामा प्रवेश गरेको छ। यो अवधिमा मानिसको आवतजातलाई रोक्दै अत्यावश्यक कामका लागि मात्र जिल्ला प्रशासन कार्यालय र सम्बन्धित मन्त्रालयबाट पासको व्यवस्था मिलाइएको थियो। महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले विभिन्न बहाना तथा नक्कली विवरण बनाएर पास लिने तथा नक्कली पास नै बनाएर हिँड्ने गरेको पाइएको र त्यसलाई आजदेखि थप कडाइका साथ अनुगमन थालेको जानकारी दिए।

उपत्यकामा नौ हजार ५०० प्रहरी परिचालन गरिएको जानकारी दिँदै उनले लकडाउन उल्लंघन गर्ने दुईदेखि तीन हजारलाई दैनिक कारबाही गरिरहेको समेत बताए। प्रहरीले उपत्यकामा आजमात्रै लकडाउन उल्लंघन गर्ने एक हजार ६०० लाई कारवाही गरिसकेको छ। आजसम्म २५ हजार बढीलाई कारबाही गरिएको पोखरेलले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad