समाज


नेपालकै पहिलो लिंग परिवर्तन शल्यक्रिया: पुरुषबाट यसरी महिला बने ‘समीर’

नेपालकै पहिलो लिंग परिवर्तन शल्यक्रिया: पुरुषबाट यसरी महिला बने ‘समीर’

एआई निर्मित सांकेतिक तस्बिर


प्रज्ञा तिम्सिना
जेठ २५, २०८२ आइतबार २०:३४, काठमाडौँ

जनकपुरका समीर (नाम परिवर्तन) जन्मिँदा शारीरिक रूपमा पुरुष थिए। तर, हुर्किंदै जाँदा अनुभूतिले उनलाई महिला बनाउँदै लग्यो। लवज र चाहना महिलाको जस्तो बन्दै गएपछि समीरले आफूलाई महिला मान्न थाले।

समाज र परिवार भने उनलाई महिला मान्न तयार भएनन्। उनको पहिचान पुरुष नै बनिरह्यो। 

समीरको शरीरका अंग पनि पुरुषकै स्वरूपमा विकास हुँदै गए, जुन उनलाई पटक्कै मन परेको थिएन। किनभने उनको चाहना थियो, राम्री महिला बन्ने। तर के गर्नु? शरीर र समाजले दिएन पो!

अन्य महिलाजस्तै आफ्नो शरीरिक बनावट किन नभएको, स्तन किन नबढेको? अनुहार पुरुषको जस्तै किन बन्यो? अनि आफूलाई किन सबैले पुरुषको संज्ञा दिए भन्ने प्रश्नले उनलाई सताउन थाल्यो। र, आफ्नो लिंग परिवर्तन गरेर महिलाको पहिचान बनाउन पाए कति जाति हुन्थ्यो भनेर सोच्न थाले। 

उनले आफूलाई महिला मानेको परिवारले स्वीकार गरिरहेको थिएन। पहिचानका लागि परिवार छोडेर हिँडे। समीर लैंगिक पहिचान यकिन गरिदिने संस्थामा पुग्छन्। उनको भेट पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) सुरु गर्ने तयारी गरेका त्रिवि शिक्षण अस्पतालका चिकित्सकसँग हुन्छ। 

अनि समीरको पहिचान फेरिन्छ। 

उनी पुरुषबाट महिला बन्छन्। 

पहिलो लिंग परिवर्तन शल्यक्रिया सफल भएपछि आयोजित त्रिवि शिक्षण अस्पतालको पत्रकार सम्मेलन

नेपालको पहिलो
प्लास्टिक सर्जरीमा उपचार विस्तार गर्दै लगेको त्रिवि शिक्षण अस्पतालले ट्रान्सजेन्डर व्यक्तिमा शल्यक्रिया गर्ने योजना १ वर्षदेखि बनाइरहेको थियो। जसका लागि अमेरिकामा कार्यरत प्लास्टिक सर्जन डा अलिरेजा हामिदियन जारोमीसँग छलफल भएको थियो। शिक्षण अस्पतालमा नेपालमा ट्रान्सजेन्डर व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया सुरुवात गराउन डा जारोमीको सहयोग लिने तयारी थियो। जसका लागि चिकित्सकहरू ब्लु डाइमन्ड सोसाइटीसँग छलफल गरिरहेका थिए। 

त्यहीँ चिकित्सक र समीरबीच भेट भयो। प्लास्टिक सर्जरी विभागीय प्रमुख प्राध्यापक डा जयनमान श्रेष्ठ समीरसँग २ महिनाअघि ब्लु डाइमन्ड सोसाइटी मार्फत भेट भएको बताउँछन्। 

‘शरीरिक रूपमा पुरुष उहाँमा महिला बन्ने चाहना भएको पायौँ। महिला बन्ने उहाँको इच्छा अनुसार शिक्षण अस्पतालमा पहिलोपटक लिङ्ग परिवर्तन शल्यक्रिया समीरको गर्ने तयारी गर्न थाल्यौँ,’ उनले भने, ‘नेपालमा पहिलोपटक भएकाले अमेरिकामा सेक्स चेन्ज शल्यक्रिया  गरिरहनु भएको चिकित्सक ल्याएर सुरु गराउने योजना बनायौँ।’

समीरको शल्यक्रियामा टिमका संयोजक रहेका डा श्रेष्ठ नेपाल मेडिकल काउन्सिलसँग अनुमति लिएर डा अलिरेजा हामिदियन जारोमीलाई ल्याएर शल्यक्रिया गरिएको बताउँछन्। शल्यक्रियाका लागि समीर जेठ १२ गते अस्पताल भर्ना भएका थिए। परिवारको साथ नपाएका समीरको साथमा साथी मात्र थिए। जेठ १२ गते उनको अनुहारको शल्यक्रिया भयो। त्यसपछि स्तनको शल्यक्रिया भयो। 

जेठ १५ गते उनको शरीरमा भएको पुरुषको लिङ्गको तन्तुहरू चाहिने मात्रामा उपयोग गरेर महिलाको जनेन्द्रिय पुनर्निर्माण गरियो। शल्यक्रिया टोलीमा डा ईश्वर लोहनी, डा संगम रायमाझी, डा समीत शर्मा, डा विकेश राजभण्डारी, डा हिमालय निरौला तथा रेजिडेन्ट डाक्टर डा अनुप थापा, डा सुदीप पण्डित, डा आशिष अधिकारी, डा नोभेल, डा ईशा, डा अश्विन र एनेस्थेसियामा डा मेघा कोइराला तथा डा पंकज जोशी थिए। 

तीन चरणमा भएको शल्यक्रिया र १ हप्तासम्म अस्पतालको बसाइपछि समीर पुरुषबाट महिला बनेर डिस्चार्ज भए। शल्यक्रियापछि समीरको आँखामा महिला भएकोमा खुसी झल्किएको थियो। 

‘शल्यक्रिया गरेको एक सातापछि उहाँलाई डिस्चार्ज गरेका छौँ। अहिले उहाँ स्वस्थ हुनुहुन्छ। स्वास्थ्यमा कुनै समस्या देखिएको छैन,’ डा श्रेष्ठले भने, ‘हर्मोन परिवर्तन गर्ने औषधि भने उहाँले खानुपर्छ।’

ट्रान्सजेन्डर शल्यक्रिया बढाउने योजना
२०५४ सालदेखि प्लास्टिक सर्जरी सेवा सुरु गरेको त्रिवि शिक्षण अस्पतालमा हाल ६ जना प्लास्टिक सर्जन छन्। त्रिविको चिकित्साशास्त्र अध्ययन संस्थानले वार्षिक प्लास्टिक सर्जन उत्पादन समेत गर्न थालेको छ। आइओएमबाट हालसम्म ८ जना जनशक्ति उत्पादन भइसकेका छन्। ४ जना पढ्दै छन्। उत्पादन भएका जनशक्ति त्रिवि शिक्षण अस्पतालका कार्यरत छन्। 

त्रिवि शिक्षण अस्पतालले आफनो पहिचान स्थापित गर्न चाहने ट्रान्सजेन्डरको शल्यक्रिया नियमित गर्ने योजना बनाएको छ। अस्पतालले केही समय प्लास्टिक सर्जन डा अलिरेजा हामिदियन जारोमीको नेतृत्वमा गर्ने जनाएको छ। विभागीय प्रमुख प्रा डा जयनमान श्रेष्ठ केही वर्ष डा अलिरेजाको सहयोगमा नै शल्यक्रिया अघि बढाउने बताउँछन्। 

‘पूर्ण रूपमा सक्षम भएपछि हामी आफैँ सुरु गर्छौं, अहिले पहिलो चरणमा केही समय उहाँको सहयोगमा नै सुरु गर्र्छौं,’ उनी भन्छन्, ‘शल्यक्रिया, औषधि समेत गरेर डेढ देखि २ लाखसम्म खर्च लाग्छ। ट्रान्सजेन्डर सबैलाई शल्यक्रिया आवश्यक पर्दैन। आवश्यक पर्नेको शल्यक्रिया गर्न सक्षम भएका छौँ।’ 

प्लास्टिक सर्जन प्रा डा ईश्वर लोहनी लिंग परिवर्तन सुरु गराउन कानुनी रूपमा प्रस्ट नहुदा सुरु गर्ने कि नगर्ने भन्नेमा ठूलो द्विविधा भएको बताउँछन्। 

‘कानुन नबनेकाले झन्झटिलो हुने हो कि भन्ने डर पनि थियो। तर, शिक्षण अस्पतालमा यो सेवा सुरु गर्न सफल भयौँ। सारै खुसी लागेको छ,’ उनले भने, ‘२०५४ देखि जोडिएको अस्पतालले २७ वर्षपछि ठूलो उपलब्धि हासिल गरेकोमा निकै खुसी छौँ।’

शल्यक्रियामा संलग्न अस्पतालको टोली
नेपालमा कति छन् लैगिंक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्ति?
राष्ट्रिय जनगणना २०७८ अनुसार यौनिक तथा लैंगिक अल्पसंख्यकको जनसंख्या २ हजार ९ सय २८ छ। यो कुल जनसंख्याको ० दशमलव ०१ प्रतिशत हो। तथ्याङ्कअनुसार बागमती प्रदेशमा सबैभन्दा बढी ३२ दशमलव ७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा २ दशमलव ८ प्रतिशत यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्ति छन्।  यस्तै विश्वमा २ प्रतिशत व्यक्ति यौनिक तथा अल्पसंख्यकको पहिचानमा रहेको विभिन्न अध्ययनले देखाएको छ। 

नेपालको संविधानको धारा १२ मा नागरिकताको अधिकारमा प्रत्येक नेपाली नागरिकले आफ्नो पहिचान अनुसारको नागरिकता प्रमाणपत्र प्राप्त गर्ने उल्लेख गरिएको छ। 

संविधान अनुसार लैंगिक अल्पसङ्ख्य व्यक्तिले पनि आफनो पहिचानको आधारमा नागरिकता लिन पाउनुपर्छ। सर्वोच्च अदालत हाल जुन लिंगको अनुभव गरिन्छ, सो अनुसार नागरिकता पाउने व्यवस्था पर्ने निर्णय गरेको छ। सर्वोच्चको निर्णय अनुसार अब लैंगिक पहिचान नपाएका व्यक्तिले आफनो पहिचान खुल्ने गरी नागरिकता पाउने भनेको छ। 

९४ वर्षअघि सुरु भएको थियो शल्यक्रिया
सन् १९३१ मा डेनमार्कको लिली एम्बेको पहिलोपटक लिंग परिवर्तनसम्बन्धी शल्यक्रिया गरिएको थियो। शरीरिक हिसाबले पुरुषका रूपमा जन्मिएकी लिली आफूलाई महिला ठान्थिन्। उनको अण्डाशय, पुरुष जननेन्द्रिय हटाउने र भजाइनोप्लास्टी (कृत्रिम योनी निर्माण गर्ने) शल्यक्रिया भएको थियो।  उनको पाँचपटक शल्यक्रिया गरिएको थियो। तर, अन्तिम शल्यक्रियाको केही महिनापछि, शरीरले अङ्ग स्वीकार नगरेपछि सन् १९३१ मा उनको मृत्यु भयो। 

सन् १९५० को दशमा अमेरिकाको जोन्स हप्किन्स अस्पतालले यस्तो शल्यक्रिया सुरु गरेको थियो।

आजभोलि थाइल्यान्ड ट्रान्सजेन्डर शल्यक्रियाको लागि विश्वकै प्रमुख गन्तव्य बनेको छ। थाइल्यान्डले ट्रान्सजेन्डर मेडिकल टुरिजम केन्द्रको परिचय बनाएको छ। नेपालबाट पनि शल्यक्रिया गर्न थाइल्यान्ड जाने गरेका छन्। 

लैगिंक अल्पसङ्ख्यकहरूको समूह ब्लु डाइमन सोसाइटीकी पिटर थाइल्यान्डमा जाँदा भाषाको समस्या र निकै महँगो पर्ने बताउँछिन्। 

‘नेपालले सेवा सुरु गर्दा शल्यक्रिया मार्फत आफनो पहिचान स्थापित गर्न चाहनेहरूलाई निकै सहज हुन्छ। थाइल्यान्ड जाँदा एक त भाषाको समस्या, केको शल्यक्रिया गराउने हो भन्न नसकिने, अर्को महँगो। बढी पैसा लाग्ने भएका कारण धेरैले चाहना भएर पनि शल्यक्रिया गराउन पाएका छैनन्,’ उनले भनिन्, ‘नेपालमा नै सुरु भएकोमा हामी धेरै खुसी छौँ। विदेशबाट शल्यक्रिया गराएर आयो, पछि कुनै समस्या आयो भने पुन जानुपर्‍यो। चिकित्सकको निगरानीमा बस्न पाइएन। यहाँ त चिकित्सकको निगरानीमा बस्न पाइयो। कुनै जोखिम भए तुरुन्तै देखाउन पाइने भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad