समाज


वैदेशिक रोजगारी: ८ महिनामा ९७४ नेपालीको मृत्यु

वैदेशिक रोजगारी: ८ महिनामा ९७४ नेपालीको मृत्यु

फाइल तस्बिर


नेपालखबर
जेठ १५, २०८२ बिहिबार १७:३, काठमाडौँ

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या ६४ लाख नाघेको छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा आज संघीय संसद्मा प्रस्तुत आव २०८१/८२ को आर्थिक सर्वेक्षणका अनुसार २०८१ फागुन महिनासम्म वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या ६४ लाख ६१ हजार १९ पुगेको छ।

नयाँ श्रम स्वीकृति लिनेमा महिला ६.७ प्रतिशत र पुरुष हिस्सा ९३.३ प्रतिशत रहेको छ। चालु आवको फागुनसम्म वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा १११ देशलाई खुला गरिएको छ। १ हजार ६७० म्यानपावर कम्पनीलाई श्रमिक पठाउन इजाजतपात्र प्रदान गरिएको छ।

चालु आवको फागुनसम्म नवीकरणसहित नयाँ श्रम स्वीकृति लिनेको संख्या ५ लाख ३४ हजार ४७१ पुगेको छ। यसमध्ये महिला ११.३ प्रतिशत र पुरुष ८८.७ प्रतिशत रहेका छन्।

सर्वेक्षणका अनुसार औपचारिक क्षेत्र, वैदेशिक रोजगार, अनौपचारिक क्षेत्र र स्वरोजगार क्षेत्र गरी करिब २० लाख ८० हजार श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन्।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सङ्ख्या ३७ लाख ६ हजार ३८९ पुगेको छ।

गत आवको यस्तो सङ्ख्या ३८ लाख २९ हजार ४७३ रहेको थियो। यस्तै, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आव २०८१-८२ को फागुनसम्म ७४३ स्थानीय तहमा सात लाख ९७ हजार ७२५ जना बेरोजगार व्यक्ति सूचीकृत भएका छन्।

आव २०८०-८१ मा ७३५ स्थानीय तहमा आठ लाख ८५ हजार १५३ बेरोजगार व्यक्ति सूचीकृत भएकामा ६४ हजार ७३३ जनाले औसत ७९ दिनको रोजगारी प्राप्त गरेका थिए। आव २०८१-८२ को फागुनसम्म इपीएस प्रणालीमार्फत ७ हजार ५०९ जना नेपाली कामदार दक्षिण कोरिया गएका छन्। यस्तो सङ्ख्या आव २०८०/८१ मा १० हजार ८५५ रहेको थियो।

चालु आवको फागुनसम्म वैदेशिक रोजगारीमा जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारमध्ये सबैभन्दा बढी युएई जान श्रम स्वीकृति लिने रहेका छन्। गत आर्थिक वर्षमा पनि नेपाली कामदारका लागि युएई पहिलो रोजाइको मुलुकका रूपमा रहेको थियो।

चालु आर्थिक वर्षको फागुनसम्म वैदेशिक रोजगारीको सिलसिलामा ९२२ पुरुष र ५२ महिला गरी ९७४ नेपाली कामदारको मृत्यु भएको छ।

यस अवधिमा मृतकका परिवारका सदस्य तथा नजिकका हकदारवालाले क्षतिपूर्तिवापत ६५ करोड ६७ लाख ६० हजार प्राप्त गरेका छन्।

चालु आवको फागुनसम्म वैदेशिक रोजगारीका क्रममा शारीरिक रूपमा अङ्गभङ्ग तथा बिरामी भएका ३१७ पुरुष र १९ महिला गरी ३३६ कामदारले आर्थिक सहायतावापत १४ करोड ७४ लाख ८८ हजार प्राप्त गरेका छन्।

यस्तै, आव ०८१/८२ को फागुनसम्म ५८६ गैरनेपाली नागरिकलाई श्रम स्वीकृति प्रदान गरिएको छ भने १ हजार ८१ जना गैरनेपाली नागरिकको श्रम स्वीकृति नवीकरण गरिएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा ५८९ गैरनेपालीलाई श्रम स्वीकृति र ८५० गैरनेपालीको श्रम स्वीकृति नवीकरण गरिएको थियो।

तीन तहको सरकारको साझेदारीमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम चौथो चरण (२०२४–२०२८) मा ६८ जिल्लाका २६७ स्थानीय तहमा सञ्चालनमा रहेको छ। उक्त कार्यक्रमबाट चालु आवको फागुनसम्म चार लाख ५४ हजार २३१ व्यक्तिले वैदेशिक रोजगारसम्बन्धी सेवा प्राप्त गरेका छन्। पेसागत वर्गीकरणबमोजिमको दक्ष कृषि, वन तथा माछापालन श्रमिक समूहमा तलब सूचकाङ्क सबैभन्दा बढी पाँच दशमलव तीन प्रतिशतले बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad