ad ad

समाज


पोखरामै बन्यो कोरियाको जस्तै काेरोना उपचार गर्दा स्वास्थ्यकर्मीलाई सुरक्षा दिने यस्तो बाकस

पोखरामै बन्यो कोरियाको जस्तै काेरोना उपचार गर्दा स्वास्थ्यकर्मीलाई सुरक्षा दिने यस्तो बाकस

वाशुदेव मिश्र
चैत २४, २०७६ सोमबार २:२६,

कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको सुरक्षाका लागि पोखरामा ‘ग्लोब वाल सिस्टम’को सुरक्षा कवच निर्माण गरिएको छ। यो, कोरियाले अपनाएको प्रविधि हो।

पोखरा विश्वविद्यालयअन्तर्गत नेपाल इनोभेसन टेक्नोलोजी एन्ड आन्टरप्रेनरसिप सेन्टर (एनटीईसी) को पहलमा यो प्रविधि विकास गरिएको हो। यसको निर्माण भने पोखराकै पोखरा यूपीभीसी उद्योगले गरेको हो।

coronabakas2

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न ‘ग्लोब वाल सिस्टम’ उपयोगी हुने एनटीईसीअन्तर्गत यो परियोजनाका संयोजक रवि भण्डारीले जानकारी दिए।

उनका अनुसार ग्लोब वाल सिस्टम यसअघि नै विभिन्न ल्याबमा खतरनाक रसायन एवं अन्य विभिन्न परीक्षणमा प्रयोग भइरहेका छन्। कोरोना सन्त्रासका बेला कोरियाले कोरोना शंका गरिएका बिरामीको परीक्षण गर्न यो प्रविधि उपयोगमा ल्याएको हो।

याे हाे- काेरियामा बनेकाे

coronabakas3

‘कोरियामा यही प्रविधि उपयोग गरी कोरोना संक्रमितको परीक्षण गरेको तथा सडकमा ज्वरो नापेको देखेपछि हामीले पनि यसको निर्माण थालेका हौं,’ परियोजगना संयोजक भण्डारी नेपालखबरसँग भने, ‘नेपाल इनोभेसन टेक्नोलोजी एन्ड आन्टरप्रेनरसिप सेन्टर, पोखरा विश्वविद्यालय र कोरियाको ह्यानदङ विश्वविद्यालयको संयुक्त कार्यक्रम भएकाले पनि हामीलाई सजिलो भयो।’

उनका अनुसार अहिले यहाँ तयार पारिएको ग्लोब वाल सिस्टममा नेपालमै पाइने सामान प्रयोग गरिएका छन्। ‘हामीले यहीँ पाइने युपिभिसी, प्लाइउड, प्लास्टिक, बत्ती, माइक, स्पिकर, सिसा र पञ्जा प्रयोग गरेका छौं,’ संयोजक भण्डारीले भने,‘ अहिले बनेको ग्लोब वाल सिस्टम एक प्रकारको भेन्टिलेटर नै हो।’

उनका अनुसार अहिले तयार भएको यो ग्लोब वाल सिस्टम एउटा बाकसजस्तो भेन्टिलेर नै हो। १ मिटर लम्बाइ, १ मिटर चौडाइ र २.५ फिट अग्लो यो बाकसमा बाहिरको हावा छिर्दैन। डाक्टर त्यसभित्र बसेपछि बाहिरबाट हावा दिइन्छ।

करिब २० फिट परबाट त्यहाँभित्र अक्सिजन प्रवाह (डक्ट) गरिने र त्यहाँभित्रको दूषित हावा फाल्न एडजस्ट पंखा पनि प्रयोग गरिने उनले जानकारी दिए।

उनका अनुसार डाक्टर भित्र बसेपछि बाकस पूरै बन्द हुन्छ। नजिक आएका बिरामीलाई डाक्टरले माइक्रोफोनबाट निर्देशन दिन्छन्। आवश्यकताअनुसार त्यहाँ भएको एउटा प्वालबाट डाक्टरले सुरक्षित पञ्जा लगाएर बिरामीको परीक्षण गर्छन्।

संयोजक भण्डारीका अनुसार पञ्जा भने भेटेनरी डाक्टरले लगाउने प्रयोगमा ल्याइएको छ। ‘डाक्टरले बिरामी जाँचेपछि पञ्जा मात्रै फाले हुन्छ, बाकस र अन्य सामान पुनः प्रयोग गर्न सकिन्छ’, उनले भने, ‘यहाँ पीपीईको अभावमा रेनकोट लगाएर हिँड्ने अवस्था छ, संकटका बेला काम लाग्ला भनेर कोरियन प्रविधिमै बाकस बनाइएको हो।’

उनका अनुसार एउटा बाकस बनाउन करिब ८० हजारजति खर्च भएको छ। कोरियामा भने यही बाकसलाई करिब ७ लाख नेपाली रुपैयाँ पर्ने उनले बताए। महँगा माइक्रोफोन र अन्य सामान प्रयोग गरिएकाले त्यहाँ मूल्य बढी भएको उनको अनुमान छ।

अहिले एउटा मात्रै बाकस बनाइएको र परीक्षणमा त्यो एकदम राम्रो भएको पनि उनको दाबी छ। ‘डाक्टरबाट परीक्षण र प्रमाणित हुन त बाँकी छ, तर यो काम लाग्ला भन्ने हाम्रो विश्वास छ,’ उनले भने, ‘अब हामी यो बाकस प्रदेश सरकार वा प्रदेश स्वास्थ्य मन्त्रालयलाई निःशुल्क दिँदै छौं।’

पोखरा युपिभिसी उद्योगका सञ्चालक गेहेन्द्र भट्टराईले अनुसार संकटका बेला यो बाकस काम लाग्छ भनेर आफूहरूले ४ दिनमा बाकस तयार पारेको बताए। कोरियन प्रविधि भए पनि बाकसभित्र हावा छिर्न नदिने र सुरक्षाको प्रबन्ध गर्ने काम स्थानीय तहमै भएको उनले जानकारी दिए।

महावीर पुनले पनि करिब यस्तै प्रकारको बाकस निर्माण गरिरहेका छन्। उनका अनुसार यो बाकस बन्नुअगावै निजी अस्पतालबाट माग आउन थालिसकेको छ। तर यसको प्रमाणीण भएपछि मात्रै बजारीकरण गर्ने उनले बताए।

उनका अनुसार गण्डकी प्रदेशका आर्थिक मामला तथा योजनामन्त्री किरण गुरुङले यो बाकसप्रति औधि चासो दिएका छन्।

गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर विनोदबिन्दु शर्माले पनि यस्तो आविष्कारबारे आफूलाई जानकारी नभए पनि भइरहेको काम सह्रानीय भएको बताए।

‘मेरो जानकारीमा आएको छैन, उहाँहरू आउनुभयो भने हामी त्यसको प्रभावकारिता हेर्छौं र प्रभावकारी भए तत्काल उपयोगमा ल्याउँछौं,’ उनले भने, ‘संकटका बेला गरिएको यो प्रयास प्रशंसनीय छ।’

पाेखरामा बनाइएकाे बाकस स्वास्थ्यकर्मी (सुरक्षा-कवच)का अन्य तस्बिर-

coronabakas4coronabakas5

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .