ad ad

समाज


तेस्रो विश्वयुद्धका लागि पनि तयार एउटा देश, जहाँ स्वास्थ्य सामग्रीको अभाव छैन

तेस्रो विश्वयुद्धका लागि पनि तयार एउटा देश, जहाँ स्वास्थ्य सामग्रीको अभाव छैन

नेपालखबर
चैत २३, २०७६ आइतबार १२:३४,

यतिबेला विश्वका थुप्रै मुलुक कोरोना भाइरससँग जुध्न आवश्यक सुरक्षा सामग्रीको अभाव खेपिरहेका छन्। स्वास्थ्य सामग्रीका लागि मुलुकहरुबीच प्रतिस्पर्धा चलिरहेको छ।

चिनियाँ विमानस्थलमा आफूहरुले लैजान ठिक्क पारेको मास्क अमेरिकाले खोसिदिएको गुनासो फ्रान्सेली अधिकारीहरुले गरेका छन्।

जर्मनीको बर्लिन प्रहरीले पैसा तिरेर बैंककबाट लैजान तयार गरेको २ लाख मास्क अमेरिकाको जोडमा त्यता लगिएको छ।

यसलाई हामी आधुनिक डकैती भन्छौँ,’ बर्लिनका आन्तरिक मामिला मन्त्री आन्द्रियास गाइजेले भनेका छन्।

विश्वको महाशक्ति अमेरिका मास्क, भेन्टिलेटर, स्वास्थ्यकर्मीले लगाउने गाउन नपाएर हैरान छ।

तर, एउटा मुलुकलाई भने यस्तो अभावले सताएको छैन। त्यो हो फिनल्यान्ड। किनभने फिनल्यान्डले दशकौँदेखि यस्ता सामग्री थुप्रो लगाएर राखेको छ।

यो मुलुकको भण्डारलाई युरोपकै सबैभन्दा ठूलो मानिन्छ। फिनल्यान्डले स्वास्थ्य सामग्री मात्रै होइन, तेल, अन्न, कृषि औजार, हतियारका लागि चाहिने कच्चा पदार्थ समेत विशाल मात्रामा भण्डारण गरेको छ।

उसो त उसका छिमेकी नर्वे, स्वीडेन, र डेनमार्कले पनि केही समयअघिसम्म स्वास्थ्य तथा सैन्य सामग्री, इन्धन र खाद्यान्न थुप्रो लगाएर राखेका थिए। तर, शीतयुद्ध सकिएपछि विस्तारै तिनको भण्डार रित्तिँदै गयो।

छिमेकीले लत्तो छाडे भन्दैमा फिनल्यान्डले भने आफ्ना खजाना खाली हुन दिएन। कोरोना भाइरस महामारीको बेला यो मुलुक यसैको फाइदा उठाइरहेको छ।

‘सबैभन्दा बढी भण्डारण गर्ने नर्डिक मुलुक हो फिनल्यान्ड। यो मुलुक भयंकर प्रलय वा तेस्रो विश्वयुद्धका लागि पनि सधैँ तयार रहन्छ,’ नर्वेजियन इन्स्टिच्युट फर डिफेन्स स्टडिजका अध्येता म्याग्नस होकेन्स्टाड भन्छन्।

पछिल्लो समय फिनल्यान्ड वर्षैपिच्छे सबैभन्दा खुसी मुलुकको सूचीको शीर्षमा देखिन्छ। तर, यसको अवस्थिति र इतिहासले ५५ लाख जनसंख्या भएको यो देशलाई सधैँ खराबभन्दा खराब परिस्थितिका लागि तयार रहन सिकाएको फिनल्यान्डको नेसनल इमर्जेन्सी सप्लाइ एजेन्सीका प्रमुख तोमी लुनिमा बताउँछन्।

‘तयारी त फिनल्यान्डका मान्छेको डीएनएमै छ,’ लुनिमा भन्छन्।

फिनल्यान्डमा सन् १९३९ मा सोभियत संघले आक्रमण गरेको थियो। त्यसमाथि फिनल्यान्ड सबैजसो व्यापार बाल्टिक सागर भएर जान्छ। जहाँको सुरक्षा अवस्थामा गडबडी आउनेबित्तिकै आपूर्ति रोकिन सक्छ।

आइतबारसम्ममा फिनल्यान्डमा १ हजार ८ सय ८० जना कोरोना संक्रमित भएका छन् भने २५ जनाको मृत्यु भइसकेको छ। विश्वभर कोरोनाबाट संक्रमितको संख्या १२ लाख नाघिसकेको छ भने ६४ हजारभन्दा बढीको ज्यान गइसकेको छ।

महामारी फैलिएसँगै फिनल्यान्डको स्वास्थ्य मन्त्रालयले भण्डारमा राखिएका मास्क अस्पताल र अन्य क्षेत्रमा पठाउने आदेश दिएको छ।

‘मास्क पुराना भए तर अझै तिनले काम गर्छन्,’ लुनिमा भन्छन्।

यद्यपि यो मुलुकसँग भण्डारमा कति यस्ता सामग्री छन्, त्यो गोप्य राखिन्छ।

तर, सन् १९५० देखि नै तयार गरिएका यस्ता भण्डार देशभर रहेको सरकारी अधिकारीहरुको भनाइ छ।

यसैका कारण महामारीका बेला अभावको कुनै चिन्ता गर्नुनपर्ने अवस्थामा फिनल्यान्ड छ।

(द न्युयोर्क टाइम्सबाट) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .