ad ad

समाज


भारतीय क्वारेन्टिनमा हजारभन्दा बढी नेपाली, भन्छन्ः भेडाबाख्राझैं कोचिएका छौं

भारतीय क्वारेन्टिनमा हजारभन्दा बढी नेपाली, भन्छन्ः भेडाबाख्राझैं कोचिएका छौं

गोकुल जोशी
चैत २२, २०७६ शनिबार ४:५०,

 नेपाल-भारत सीमा बन्द भएपछि सुदूरपश्चिमसँग जोडिएको भारतीय भूमिमा हजारभन्दा बढी नेपाली रोकिएका छन्।

भारतमा मजदुरी गर्ने उनीहरू काेराेना भाइरस महामारीका कारण घर फर्किन लाग्दा नेपाल प्रवेश गर्न नपाएपछि उतैका क्वारेन्टिनमा बस्न बाध्य भएका हुन्। 

तर क्वारेन्टिन व्यवस्थित नहुँदा उनीहरू कोचाकोच गरेर बस्नुपरेको छ। सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बैतडी र दार्चुला नाकाबाट आफ्नो देश प्रवेश गर्ने अनुमति नपाएपछि उनीहरू उतै रोकिन बाध्य भएका हुन्।

‘कति साथी त महाकाली नदी पौडेर आफ्नो देश गए, तर त्यसो गर्न नसक्दा मसहित धेरै नेपाली मजदुर धार्चुला क्वारेन्टिनमा बस्न बाध्य छौं,’ बैतडीको पुर्चौडी नगरपालिकाका पुष्कर धामीले नेपालखबरसँग भने, ‘एउटै ग्यालरीमा ठेलमठेल गरी ४०-५० जना राखिएको छ भने हलभित्र डेढ सय जनाभन्दा बढी सुत्ने गर्छौं।’

क्वारेन्टिन व्यवस्थित नहुँदा बसाइमा निकै समस्या भइरहेको दार्चुलाको मार्मा गाउँपालिकाका हरिप्रसाद भट्टले गुनासो गरे।

‘के क्वारेन्टिन भन्नु, सबै एक ठाउँमा कोचाकोच गरी बस्नुपरेको छ, क्वारेन्टिन बस्नु र नबस्नु उस्तै छ,’ उनले दुखेसो गरे, ‘भेडालाई जस्तै गोठमा कोचिएको हो।’

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन उनीहरूलाई क्वारेन्टिनमा राखिएको भए पनि कोचाकोच गरेर बस्नुपरेकाले झनै जोखिम बढाएको छ। दार्चुला पारी धार्चुलामा ९ सय ५७ जना नेपाली क्वारेन्टिनमा रहेको प्रशासनले जनाएको छ।

यो धार्चुलास्थित क्वारेन्टिनको मात्रै समस्या होइन, भारतका अधिकतर क्वारेन्टिनमा रहेका नेपाली कोचाकोच गरी बस्न बाध्य छन्। कञ्चनपुरस्थित महाकाली पारी बनबासा र टनकपुर क्षेत्रका क्वारेन्टिनमा पनि स्थिति उस्तै छ।

खनाको व्यवस्था भने राम्रो रहेको भारतीय क्वारेन्टिनमा बसेका नेपालीले बताएका छन्।

‘एउटै कोठामा २८-३० जनासम्म कोचिएर बस्नुपर्दा निकै समस्या छ,’ बनबासास्थित क्वारेन्टिनमा बसेका कृष्ण जोशीले नेपालखबरसँग भने, ‘खाना भने राम्रै छ, समयमै दिन्छन्।’ एउटै कोठामा कोचाकोच भएर बस्नुपर्दा भने रोग लाग्ला भन्ने चिन्ता बढेको उनले बताए।

आफूहरूलाई उद्धार गरी स्वदेशमै क्वारेन्टिनमा राख्न उनीहरूले नेपाल सरकारसँग माग गरेका छन्। आफ्नै देशमा प्रवेश गर्न नपाउँदा सबभन्दा बढी साना बालबालिका, महिला र वृद्धावृद्धा समस्यामा परेका छन्।

१४०३ नेपाली भारतका क्वारेन्टिनमा
नेपालको सुदूरपश्चिमसँग जोडिएको भारतीय भूमिस्थित क्वारेन्टिनमा अहिले १ हजार ४ सय ३ नेपाली बसिरहेका छन्। भारतका विभिन्न सहरमा मजदुरी गर्ने उनीहरू घर फर्किने क्रममा सीमाबाट नेपाल छिर्न नपाएपछि उतैका क्वारेन्टिनमा रहन विवश भएका हुन्।

भारतमा रहेका नेपाली स्वेदश फर्किने क्रम अझै रोकिएको छैन। जसले गर्दा सीमाका भारतीय क्वारेन्टिनमा नेपालीको संख्याय दिनप्रतिदिन बढ्दै गएको हो।

दार्चुला पारि धार्चुलामा ९ सय ५७, बैतडीको झुलाघाटा नाकाभन्दा पर २ सय २७, कञ्चनपुरका सीमावर्ती सहर बनबासामा ७० र टनकपुरमा ६० गरी १ सय ३० र कैलालीको सीमावर्ती सहरमा ८९ नेपाली क्वारेन्टिनमा राखिएका छन्।

भारतबाट नेपाल फर्किने क्रम नरोकिएकाले क्वारेन्टिनमा नेपालीको संख्या बढ्दै गएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए। धार्चुलास्थित क्वारेन्टिनमा बसेका नेपाली मजदुरलाई व्यवस्थित किसिमले छुट्टा–छुट्टै ५ स्थानमा राखिएको उनको दाबी छ।

‘खाने, बस्ने व्यवस्था राम्रै छ, महिलालाई छुट्टै स्थानमा राखिएको छ, उनीहरूको स्वास्थ्य परीक्षणसमेत गर्न लागिएको छ,’ प्रमुख जिल्ला अधिकारी पौडेलले नेपालखबरसँग भने, ‘हामी त्यहाँका अधिकारीसँग निरन्तर छलफलमा छौं।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .