समाज


सगरमाथा संवादका लागि भारतले दियो १५ वटा विद्युतीय गाडी

सगरमाथा संवादका लागि भारतले दियो १५ वटा विद्युतीय गाडी

नेपालखबर
बैशाख २८, २०८२ आइतबार १८:१०, काठमाडौँ

नेपाल सरकारद्वारा यसै हप्ता आयोजना गरिएको सगरमाथा संवादको पहिलो संस्करणका लागि सहयोगस्वरुप भारत सरकारले १५ वटा विद्युतीय सवारी साधन (गाडी) उपलब्ध गराएको छ। 

नेपाल भारत सहयोग कार्यक्रम अन्तर्गत उपलब्ध गराइएका ती सवारी साधन आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले हस्तान्तरण गरेका हुन्।

त्यस अवसरमा मन्त्री डा राणाले नेपालले आयोजना गरेको सगरमाथा संवादका लागि उपलब्ध गराएको सो सहयोगका लागि भारत सरकारलाई धन्यवाद ज्ञापन गरिन्। उनले जलवायु परिवर्तन नेपालको मात्र नभएर यस क्षेत्रकै एक साझा चुनौतीका रुपमा रहेकाले यसको समाधानका लागि पनि सबैको आपसी समन्वय र सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिइन्।

  
नेपालले आयोजना गरेको सगरमाथा संवाद कार्यक्रमले जलवायु परिवर्तन सम्बन्धी यस क्षेत्रको साझा समस्याको उजागर गर्दै त्यसको समाधानका उपायहरुको खोजीका लागि समेत सामूहिक प्रयत्नको मोडल तय गर्ने जानकारी दिँदै यसमा भारत सरकारको सहयोग उल्लेखनीय रहेको बताइन्। 

मन्त्री डा राणाले यही मे १६‐१८ मा आयोजित सगरमाथा संवादको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र अब नेपाल सरकार विदेशी उच्चपदस्थ व्यक्तित्वहरु तथा पाहुनाहरुको स्वागतको प्रतिक्षामा रहेको जानकारी दिइन्। 

त्यस अवसरमा राजदूत श्रीवास्तवले भारत सरकारले नेपालको आर्थिक, सामाजिक लगायतका क्षेत्रमा पुर्याउँदै आएको सहयोगको चर्चा गर्दै सगरमाथा संवादका लागि सवारीसाधन उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गरे।

उनले जलवायु परिवर्तनको चुनौती यस क्षेत्रकै साझा समस्या रहेकाले यसको समाधानमा अवलम्बन गरिने उपायहरुमा भारत सरकार नेपालको साथ रहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad