समाज


सवा २ करोड हिनामिना : जनरल खड्का र मेजर कार्की सैनिक हिरासतमा

अवकाशप्राप्त २ जनाविरुद्ध अदालत पुग्यो मुद्दा
सवा २ करोड हिनामिना : जनरल खड्का र मेजर कार्की सैनिक हिरासतमा

जनरल रोशन खड्का र पूर्वजमदार आत्मराम थापा


उजिर कार्की
बैशाख २६, २०८२ शुक्रबार १९:३९, काठमाडौँ

सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा नेपाली सेनाका बहालवाला २ र अवकाशप्राप्त दुई सैनिक अधिकारीहरुविरुद्ध मुद्दा अगाडि बढेको छ। 

सहायक रथी (ब्रिगेडियर जनरल) रोशन खड्का र सेनानी (मेजर) बोधराज कार्कीलाई सैनिक हिरासतमा राखेर छानबिन गरिरहेको सेनाले जनाएको छ। 

कोर्ट अफ इन्क्वाएरीको क्रममा हिनामिनामा उनीहरुको संलग्नता पुष्टि भएपछि कोर्ट मार्सलको प्रक्रिया अगाडि बढेको छ भने सैनिक ऐन अनुसार कारबाहीको दायरामा नपर्ने अवकाश भइसकेका २ जनालाई कारबाहीको जिम्मा प्रहरीलाई दिइएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धानपछि अवकाशप्राप्त दुई जनाविरुद्ध पनि अदालतमा मुद्दा दायर भएको छ।

उनीहरु यसअघि सैनिक कल्याणकारी कोषमा कार्यरत रहँदा चारजनाले सवा २ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ। नेपाली सेनाले कोर्ट अफ इन्क्वाएरी (आन्तरिक छानबिन)का क्रममा उनीहरुको पनि संलग्नता पुष्टि भएपछि थप कारबाहीका लागि काठमाडौँ प्रहरीलाई जिम्मा लगाएको थियो। 

प्रहरीले सेनाको जमदारबाट अवकाश भइसकेका आत्मराम थापालाई पक्राउ गरे पनि अधिकारी भने अधिकारी भने अमेरिका पुगिसकेका छन्। 

थापा काठमाडौँ प्रहरीको हिरासतमा छन् भने अधिकारी हाल फरार सूचीमा छन्। उनीहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मार्फत आपराधिक विश्वासघातको कसुरमा मुद्दा दायर भएको छ। 

सैनिक प्रहरी गण जंगी अड्डा भद्रकालीले सैनिक कल्याणकारी निर्देशनालय अन्तर्गत आवास तथा बिमा शाखाबाट आवास तथा बिमा बापतको रकम हिनामिना गरेको उल्लेख गरी प्रहरीलाई पत्र पठाएको थियो। उक्त शाखामा रहँदा वास्तविक रुपमा भुक्तानी गर्नु पर्ने व्यक्तिलाई नभई काल्पनिक नाम खडा गरेर रकम निकासा गर्ने र हिनामिना गर्ने कार्यमा उनीहरुको संलग्नता पुष्टि भएको सेनाको आन्तरिक छानबिनबाट समेत पुष्टि भएको छ। 

यी चारजना उक्त शाखामा कार्यरत रहँदा २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ ४८ पैसा हिनामिना गरेको आरोप छ। 

आत्माराम थापा समेतको संलग्नतामा २०७४ कात्तिक १३ देखि २०७५ भदौ २६ गतेसम्म १४४ थान चेकबाट एक करोड ४७ लाख २१ हजार ३२९ रुपैयाँ ८८ पैसा र २०७३ फागुन ९ गतेदेखि २०७५ असोज १७ गतेसम्म ४० थान चेकबाट ४७ लाख ६४ हजार १८५ रुपैयाँ ६० पैसा हिनामिना गरेको आरोप छ। 

बहालवाला अधिकृतविरुद्ध भने अदालतमा नभई सेनाले आफैँ कारबाही गर्ने भएकाले सैनिक हिरासतमै राखिएको हो। हाल सहायक रथी रहेका खड्का त्यतिबेला प्रमुख सेनानी र बोधराज कार्की सेनानी हुँदा सँगै कार्यरत थिए। 

अवकाशप्राप्त जमदार थापाले यसरी नक्कली कागजात खडा गरेर भुक्तानी गर्ने कार्य सहायक रथी खड्का समेतको निर्देशन बमोजिम नै गरेको बयान दिएका छन्। हिनामिना गर्दा काटिएका चेक अधिकांश थापाकै नामबाट भुक्तानी भएको भेटिएको छ। 

थापाले कल्याणकारी कोषको रकम हिनामिना गर्दा काटेका ४० वटा चेकको फोटोकपी र रकमको विवरण समेत प्रहरीलाई बुझाएको थियो। यसअघि सेनाले कोर्टअफ इन्क्वाएरी गरेको थियो। कोर्ट अफ इन्क्वाएरीको ४३ पानाको रिपोर्ट पनि प्रहरीलाई दिएको छ। बहालवाला सैनिकको हकमा सैनिक ऐन अनुसार नै कारबाही अगाडि बढाउने सेनाको पत्रमा उल्लेख छ। 

आत्मारामको बयान– सबै कुरा माथिको निर्देशन अनुसार गरेँ 
आत्मराम नेपाली सेनाको अमलदार पदमा २०५९ पुस २२ गते भर्ना भएका थिए। पहिले विभिन्न युनिटहरुमा काम गरेका थापा २०७३ सालदेखि २०७५ सम्म कल्याणकारी निर्देशनालय अन्तर्गत आवास तथा बिमा शाखा भद्रकालीमा थिए।

उनी त्यहाँ स्वेच्छिक अवकाश, उपदान, मृतक कर्मचारीहरुले प्राप्त गर्ने आवास तथा बिमा बापतको रकम भुक्तानी गर्ने शाखामा कार्यरत थिए। 

उनी त्यहाँ कार्यरत रहँदा तत्कालीन सेनानी लक्ष्मण अधिकारी, तत्कालीन सेनानी बोधराज कार्की, तत्कालीन प्रमुख सेनानी (हाल सहायक रथी)  रोशन खड्का पनि कार्यरत थिए। 

आत्मरामले त्यतिबेला यी तीन जना सिनियर अधिकारीहरुको निर्देशन बमोजिम नै काम गरेको बयान दिएका छन्। उनीहरुले दिएको सूची अनुसार नै आत्मरामले चेक तयार गर्ने र रकम निकालेर ल्याउने गरेको उनले प्रहरीलाई बयान दिएका छन्। 

चेक तयार भइसकेपछि उक्त रकम समेत भुक्तानी लिएर आउन आफूलाई निर्देशन दिने गरेको पनि थापाको बयान छ। त्यतिबेला उक्त शाखामा सबैभन्दा जुनियर आफू भएकाले निर्देशन अनुसार मात्रै काम गरेको उनको बयान छ। पछिल्लो समय लक्ष्मण अधिकारीले भने बमोजिमका विभिन्न व्यक्तिहरुको नाममा चेक तयार गरेर भुक्तानी समेत लिएको उनको भनाइ छ। 

कल्याणकारी कोषको रकम नेपाल बैंक त्रिपुरेश्वरको शाखाबाट लिने गरेका थिए। त्यसरी भुक्तानी लिइसकेपछि उक्त रकम खड्का, अधिकारी र कार्कीलाई बुझाउने गरेको बयान थापाले दिएका छन्। 

त्यस्तो फर्जी काम गरेबापत आफूलाई बिदामा सहुलियत, पेट्रोलको कुपन र क्यान्टिनमा खाजाको रकम तिरिदिने गरेको आत्मरामको बयान छ। उनले सवा २ करोड रकम तीनजनाकै निर्देशनमा निकालेको स्वीकार गर्दै सबै रकम उनीहरुलाई नै दिएको समेत दाबी गरेका छन्। आफूले भने रकम अपचलन नगरेको दाबी उनले प्रहरी र सरकारी वकिल समक्ष गरेका छन्।

प्रहरीले प्रतिवादी बनाएका लक्ष्मण अधिकारी भने हाल अमेरिकामा रहेको खुलेको छ। सैनिक कल्याणकारी कोषको ४ लाखभन्दा बढी रकम निकाल्न सहायक रथीको हस्ताक्षर आवश्यक हुन्छ भने त्यो भन्दा कमको रकम निकाल्न कम्तीमा २ जना अधिकृतको हस्ताक्षर आवश्यक पर्ने कानुनी व्यवस्था छ। 

अवकाश हुने सैनिकले उपदान बापत पाउने बिमा तथा आवासको रकम बुझिसकेपछि स्वयंले हस्ताक्षर गर्नु पर्ने व्यवस्था छ। 

तर यी चारजनाले भने विभिन्न व्यक्तिको नाममा लिएको रकममा आफैँ हस्ताक्षर गरेर झिकेको खुलेको छ। 

आत्मराम थापाले यसअघि सैनिक छानबिनका क्रममा ३० लाख रुपैयाँ आफूले अपचलन गरेको स्वीकार गरेको सेनाको दाबी छ। अर्का प्रतिवादी लक्ष्मण अधिकारी भने दुई वर्षपहिले नै अवकाश भएर अमेरिका पुगेका छन्। उनीविरुद्ध पनि सैनिक ऐन आकर्षित नहुने भएकाले आवश्यक कारबाही गर्न सेनाले प्रहरीलाई पत्र पठाएको छ। 

उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २५२ बमोजिम आपराधिक विश्वासघात गर्न नहुने कसुरमा कारबाही माग गरिएको छ। यस्तै अपचलन भएको रकम बिगो भराउन पनि माग गरिएको छ। उक्त दफा अनुसार कसुर पुष्टि भएमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad