ad ad

समाज


सिंहदरबारको मुलढोकामै लेन उल्लंघन

सिंहदरबारको मुलढोकामै लेन उल्लंघन

नेपालखबर
असार २१, २०७६ शनिबार ९:१०,

 मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि कानूनको उल्लंघन गर्ने तथा नियमपालना नगर्ने प्रवृत्तिलाई निरुत्साहन गर्न प्रहरी सक्रिय भएको छ।

भन्द्रकाली मन्दिरतर्फबाट सिंहदरबार पश्चिम मुलद्वार पृथ्वीनारायण शाहको सालिक हुँदै राम शाहपथतर्फ मोडिने सवारी चालकले सडक अनुशासन(लेन) उल्लंघन गरेमा जरीवाना गर्ने कार्यलाई प्रहरीले तीव्र तुल्याएको हो।

सिंहदरबारको मुलढोकामै सवारी चालकको नाममा हुने कानून उल्लंघनलाई नियन्त्रण गर्न साँझ बिहान मात्र होइन, तातो घाममा छातीमा क्यामेरा भिरेका तथा हातमा जरिवाना गर्ने रातो रसिद बोेकेर खडा भएका प्रहरी देखिन्छन्।

लेन क्रम गरे÷नगरेको केहीले चियो गर्छन् भने केहीले उल्लंघन गरेर भाग्न खोज्नेलाई नियन्त्रणमा लिएर जरिवानाको रसिद बोक्ने नेर पु¥याइ दिने गरेको देखिन्छ।

सधैँजसो जाम हुने उक्त ठाँउमा पछिल्लो समय सार्वजनिक विदाको दिनबाहेक दैनिकरुपमा सडक लेन उल्लंघन गर्ने करिब १५० सवारी साधनका चालकलाई कारबाही गरिँदै आएको महानगरीय ट्राफिक महाशाखाको तथ्यांकले पुष्टि गरेको छ।

शुक्रबार उपत्यकामा सडक लेन उल्लंघन गर्ने २७४ सवारी साधनमध्ये १५० सिंहदरबार अगाडि कारबाहीमा परेका हुन्। अघि पछिको तुलनामा बढी जाम हुने बिहान ९ देखि ११ र बेलुकी ४ देखि ६ बजेको बीचमा सडक नियम उल्लंघन गर्नेलाई नियन्त्रणमा लिने निकै चियो गरेर प्रहरी उभिएको त्यहाँ देखिन्छ। उक्त समयमा त्यहाँ छ÷सात जनाको संख्यामा प्रहरी खट्ने गरेको पाइन्छ।

सडक लेन उल्लंघन गर्ने सवारी साधनलाई रु ५०० जरिवाना गरिँदै आएको छ। सडक लेन उल्लंघन गर्नेमा मोटर साइकल चालकको संख्या अधिक अर्थात् ९० प्रतिशतभन्दा रहेको तथ्यांकले देखाएको छ।

सडक अनुशासनलाई बेवास्ता गरी अरुलाई पछिपार्दै सवारी साधन हुइक्याउने शिक्षित युवापुस्ता नै ट्राफिक प्रहरी कार्यालय पुगेर जरिवाना बुझाउने सूचिमा अग्रस्थानमा छन् । सिंदरबारपछि सडक लेन उल्लङ्घन गर्नेबाट जरिवाना असुल्ने चोक भनेको थापाथली, बानेश्वर, त्रिपुरेश्वर, महाराजगञ्ज, कोटेश्वर, माइतीघर, कलङ्की, पुतली सडक हुन्।

जानेर होस् वा नजानेर चालकले सडक अनुशासनमा रहनुपर्छ भन्ने कुरालाई हेक्का नगरी छिटो अघि बढ्न खोज्दा कारबाहीको दायरामा पर्ने गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिए।

सडक अनुशासन उल्लंघन गर्ने र नियन्त्रणमा लिने बसेको प्रहरीबीच सिंहदरबार अगाडि पैदल यात्रुले बाटो काट्ने स्थान (जेब्रा क्रसिङ नजिक) सधैँजसो वादविवाद भइरहेको देखिन्छ। कतिपय चालक भने प्रहरीले भत्ता पाउने आशाले अनाश्वयक रुपमा दुःख दिने काम गरेको भनी आक्रोश व्यक्त गरेको पाइयो।

महाशाखाले सडक लेन पहिलो पटक उल्लंघन गर्ने चालकलाई ५००, दोस्रो पटक गर्नेलाई एक हजार र तेस्रो पटक गर्नेलाई एक हजार ५०० जरिवाना गर्दै आएको छ। यसअघि त्यस प्रहरीले सडक लेन उल्लंघन गर्ने चालक एवं सर्वसाधारणलाई जुन ठाउँमा लेनको अवज्ञा गरेको हो त्यही एक घन्टा नियन्त्रणमा लिई सडक अनुशासन पालनाबारे ज्ञान दिने कार्यक्रम सञ्चालन गरेको थियो। विशिष्ट व्यक्तिको नाममा कतिपयले सडक लेनको पालना त परै जाओस्, प्रवेश निषेध भनी लेखिएको बोर्डको बेवास्ता गरेर ‘साइरन’ दिँदै मोटर हुँइक्याउने प्रवृत्तिलाई आम जनताले मन पराएको देखिन्न। उनीहरुले कानूनी राज्यको दुरुपयोग भएको रुपमा लिएका छन् ।

प्रहरीको पछिल्लो सक्रियाताले कम्तिमा पनि मुलूकको प्रशासनिक प्रमुख केन्द्रकै ढोका अगाडि पृथ्वीनारायण शाहले औँला ठड्याएको सालिक र भद्रकाली क्षेत्रमा कानूनको परिपालनामा योगदान पुग्ने विश्वास गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .