शिक्षक आन्दोलनको नेतृत्वकर्ता नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सरकारसँग वार्ताका लागि भनेर सार्वजनिक २५ सदस्यीय टोली आफ्नो संगठनले नबनाएको बताएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले वार्तामा बोलाएपछि शुक्रबार शिक्षा मन्त्रालय जान भनेर सिंहदबारको गेटमा पुगेका शिक्षक प्रतिनिधिहरू त्यसै फर्किएका थिए।
विशेष कारणवश आफूहरू मन्त्रालय प्रवेश नगरी फर्किएको अध्यक्ष सुवेदीको भनाइ छ।
अध्यक्ष सुवेदीले भनेका छन्, ‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेशि (नेपाल शिक्षक) महासंघले तयार नगरेको बेहोरा जानकारी गराउँछौँ। मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौँ तर विशेष कारणवश हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौँ।’
यो अभिव्यक्तिले शिक्षा मन्त्रालयले आज निर्णायक वार्ता हुने भने पनि शंका उब्जाएको छ।
तत्काल नयाँ शिक्षा ऐन ल्याउनु पर्ने मागसहित देशैभरिका शिक्षक काठमाडौँमा २५ दिनदेखि आन्दोलनरत छन्।
शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियानसहित विद्यालय तहका सम्पूर्ण शैक्षिक गतिविधि ठप्प भएको छ।
सोही कारण वैशाख ११ गते गर्ने भनिएको कक्षा १२ को वार्षिक परीक्षा पनि वैशाख २१ का लागि सारिएको छ।
Shares

प्रतिक्रिया