राजावादीले चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनका क्रममा मारिएका सविन महर्जनकी छोरीलाई नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले निःशुल्क शिक्षाको प्रबन्ध गर्ने घोषणा गरेका छन्।
कोषाध्यक्ष श्रेष्ठले मृतक श्रेष्ठको परिवारको आर्थिक अवस्था कमजोर भएको जानकारी पाएकाले उनकी छोरीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गर्ने बताएका हुन्।
‘सविनको परिवारसँग छलफलपछि उहाँहरूको आर्थिक अवस्था कमजोर रहेको थाहा भयो, राम्रो विद्यालयमा पढाउने इच्छा रहेछ, इच्छाअनुसार महर्जनकी ८ वर्षीया छोरीलाई कीर्तिपुरको ल्याबोरेटरी स्कुलमा कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्ने व्यवस्था गरेको छु। विद्यालय प्रशासन र कीर्तिपुर नगरपालिकाका नगरप्रमुखसँगसमेत यस विषयमा कुरा भएको छ’, श्रेष्ठले भने।
नेता श्रेष्ठले लामो समयसम्म शैक्षिक क्षेत्रमा योगदान गर्दा धेरैलाई सहयोग गरेको जानकारी दिँदै अभिभावक गुमाएकी बालिकाको शिक्षादिक्षाका लागि मानवताका आधारमा सहयोग गर्न लागेको बताए।
नेपाल महिला संघकी अध्यक्ष उषा राउत मिश्र र मानव अधिकार आयोगकी आयुक्त लीली थापाले आफूलाई मृतकको परिवारबारे जानकारी गराउँदै आवश्यक व्यवस्थाका लागि अनुरोध गरेको कांग्रेस कोषाध्यक्ष श्रेष्ठले बताए।
Shares

प्रतिक्रिया