वार्तामा नजाने अडान लिएका आन्दोलनरत शिक्षकहरूले विद्यालय शिक्षा विधेयकबारे शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको धारणा बुझ्ने भएका छन्।
यसका लागि आज मन्त्रालयमा बुँदागत रूपमा लिखित प्रश्न पठाउने तयारी भइरहेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीप्रसाद सुवेदीले नेपालखबरलाई जानकारी दिए।
पछिल्लोपटक बुधबारका लागि बोलाइएको वार्ता पनि शिक्षक महासंघले अस्वीकार गरेपछि शिक्षा मन्त्रालयका सचिव दीपक काफ्लेले शिक्षा विधेयकका बुँदामा छलफल गर्न आउन भन्दै पत्र पठाएका छन्।
शिक्षक महासंघका अध्यक्ष सुवेदीले भने, ‘वार्ता होइन, शिक्षा ऐन बर्खे अधिवेशन बोलाएर तुरुन्तै जारी गर्नुहुन्छ कि विशेष अधिवेशन बोलाएर वा अध्यादेशबाट ल्याउनुहुन्छ भनेर मन्त्रालयमा लिखित प्रश्न पठाउन लागेका हौँ।’
भएका सहमति कार्यान्वयनका लागि मन्त्रिपरिषद्बाट निर्णय नहुँदासम्म वार्तामा नबस्ने अडान शिक्षक महासंघको छ।
वार्तामा नजाने तर ऐनका विषयमा मन्त्रालयको धारणा के हो भन्ने भन्ने विषयमा औपचारिक प्रश्न गर्न लागिएको शिक्षक महासंघका अध्यक्ष सुवेदीको भनाइ छ।
गत असोज ५ गते आफूहरूसँग भएको सहमतिअनुसार विद्यालय शिक्षा विधेयक ल्याउनुपर्ने एकसूत्रीय माग राखेर शिक्षकहरू चैत २० देखि काठमाडौँमा आन्दोलनरत छन्।
यस क्रममा चैत २५ देखि शिक्षकहरू अनिश्चितकालीन शैक्षिक हड्तालमा उत्रिएका छन्।
Shares

प्रतिक्रिया