काठमाडौँ मूलपानी बस्ने सरस्वती रायमाझी १९ वर्षदेखि जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड धाइरहेकी छन्। रामेछाप घर भएकी सरस्वतीले २०६२ सालमा औषधि बनाउने कम्पनीमा ज्यालादारी काम पाइन्। काम गरे अनुसारको पारिश्रमिक पाउन थालिन्।
अनि परिवार पाल्न सजिलो भयो। बिरामी श्रीमान् पाल्न र छोराछोरी पढाउन सक्ने भइन्।
उनी कच्चा पदार्थ राख्ने, प्याकेजिङ गर्ने काम गर्थिन्। चैत्र १५ गते पनि उनी काम गरेर घर फर्किएकी थिइन्।
तर, चैत्र १७ गते कम्पनीमा फर्किंदा जुन दृश्य देखिन्, त्यसले उनको मन नराम्ररी कुँडियो।
गेटबाट भित्र छिर्नेबित्तिकै जलेका गाडी, बाटोभरि सिसाका टुक्रा। जलेर बस्न नमिल्ने भएका भवन। दुई दिनअघि उनैले प्याकेजिङ गरेका सन्चो लगायतका औषधि जलेर नष्ट भएका थिए।
‘१९ वर्षदेखि ज्यालादारीमा काम गर्दै छु, काम नगरेको दिन पैसा आउँदैन,’ गहभरि आँसु पार्दै सरस्वतीले भनिन्, ‘हाम्रो त सबै लुटियो नि। अब के काम गर्ने? छोराछोरी कसरी पाल्ने, कसरी पढाउने? शुक्रबार काम गरेर गएको भवन अहिले जलेर बस्न लायक नै छैन।’

अब के गर्नु हुन्छ भन्ने प्रश्नमा उनले इसारामार्फत जवाफ दिइन्, ‘थाहा छैन।’
‘सबैभन्दा बिजोग त उसको हुने भयो,’ सँगै बसेकी इन्द्र परियारले हेमाको बारेमा भनिन्, ‘परिवारको सदस्य कोही छैनन्। अब यहाँ काम भएन भने त हेमालाई पालिन नै गाहो हुन्छ।’

राजावादीहरूले गत शुक्रबार गरेको आगजनीका कारण जडीबुटी कम्पनीमा २८ वर्षदेखि ज्यालादारी गर्दै कर्मचारीको काम र माम खोसिएको छ। जहाँ ज्यालामा काम गर्ने सरस्वती, हेमा र इन्द्रजस्ता ४० जना कर्मचारी छन्। उनीहरूले सन्चो, शिलाजित, केस तेल, बाम, मसाज तेल र स्यानिटाइजर उत्पादन गर्दै आएका थिए।
प्रर्दशन र शुक्रबार पनि भएकाले जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा ज्यालादारी काम गर्दै आएका ४० जना अरु दिनभन्दा छिट्टै घर गएका थिए। आन्दोलन बढ्दै गए घर जान पाइँदैन भनेर उनीहरूलाई घर पठाइएको थियो।
‘साँझमा जडीबुटीमा आगो लगाइएको खबर सुनेँ। तर यसरी जलेको होला भन्ने सोचेको थिइनँ,’ ज्यालामा काम गर्दै आएकी सुमिता गौतम भन्छिन्, ‘आज अफिस आउँदा सबै जलेको देख्दा त आकाशले थिचे जस्तो भयो। परिवार पाल्न सजिलो भएको थियो, काठमाडौँमा बाँचिएको थियो। अब त आम्दानीको स्रोत नै गुम्यो नि, कसरी पो बाँच्ने हो!’

के-केमा क्षति पुग्यो?
गत वर्ष सञ्चालनमा आएको भवनदेखि प्रशासनिक भवनसम्म जलेको छ। गत वर्ष खरिद गरिएको प्याकेजिङ मेसिन, बजारमा लैजान तयारी अवस्थामा रहेको सन्चोदेखि अन्य उत्पादन जलेर नष्ट भएको छ। भवन बस्नै नमिल्ने अवस्थामा पुगेको छ। कर्मचारी बस्ने कार्यकक्ष नै छैन।
आइतबार कार्यालय पुगेका कर्मचारी परिसरबाहिर बसेका थिए।
‘२८ वर्षदेखि काम गर्दै आएको संस्था आँखाअगाडि जल्न थाल्यो। लाचार भएर हेर्नबाहेक केही गर्न सकिएन। धेरै कर्मचारी शुक्रबार भएर घर गइसकेका थिए। प्रबन्ध निर्देशक म्याडम र हामी केही मात्र थियौँ,’ कम्पनीका प्रशासन प्रमुख धर्मलाल नेपाल भन्छन्, ‘एक्कासि ढुंगा बज्रिन थालेपछि भाग्न थाल्यौँ। हामी बाहिर निस्किएको देखेपछि सरकारी कर्मचारी रैछ भन्दै पछाडि पछाडि ढुंगा हान्दै आएका थिए। बल्लबल्ल ज्यान जोगाउन सक्यौँ।’
कम्पनीका अर्का एक कर्मचारीले घटना विवरण यसरी सुनाए, ‘गेट फोडेर भित्र आएकाले गाडीमा आगो लगाउन थाले। दुईवटा गाडीमा आगो लाग्न थाल्यो। सुरक्षाकर्मी पनि हाम्रो कार्यालयको परिसरका थिए। ढुंगामुढापछि सुरक्षाकर्मी पनि भाग्न थाले। त्यसपछि त झन् हौसिएर अगाडि बढ्दै भवनमा आगो लगाउन गए। आगो दन्किँदै गयो। दमकल पनि समयमा आएन। ५ बजेदेखि लाग्न थालेको आगो रातिको १ बजे मात्र निभेको थियो।’ कम्पनीका एक कर्मचारीले बताए।’

कम्पनीकी महाप्रबन्धक संगीता यादवले बजार पठाउन तयार भएको सामानदेखि कच्चा पदार्थ, फर्निचर, ल्याब, मेसिन सबै जलेको जानकारी दिइन्।
‘कति क्षति भयो भनेर अध्ययन गर्न कार्यदल गठन भएको छ। गत वर्षदेखि सञ्चालनमा आएको सिलिङ मेसिन क्षति पुग्दा काम सुरु गर्न समस्या आउने देखिएको छ। अहिले तत्काल वीरगन्जको तामागढी शाखाबाट उत्पादन बढाउने सोचेका छौँ,’ उनले भनिन्।
कसरी पुनः सञ्चालन गर्ने भनेर छलफल गरिरहेको भन्दै महाप्रबन्धक यादवले थपिन्, ‘कमाएर खाने संस्था हो। धेरै समय उत्पादन रोक्न मिल्दैन। कुनकुन स्थान प्रयोग गर्न सकिन्छ हेदौँ छौँ, सरकारको सहयोग भए छिटै काम सुरु गर्छौं।’
सरकारी स्वामित्वमा रहेका तीन औषधि कम्पनीमध्ये नाफामा गएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड मात्रै हो। विसं २०३८ सालमा नेपाल सरकारको पूर्ण स्वामित्वमा स्थापना भएको यो कम्पनी लामो समयसम्म राम्रोसँग चल्न नसकेको कम्पनीले आर्थिक वर्ष २०७५/७६ देखि नाफा कमाउन थालेको थियो।

स्थापना भएको ३७ वर्षपछि पहिलोपटकको नाफामा कर तिरेर एक करोड ९२ लाख कमाएको थियो। आर्थिक बर्ष २०७६/७७ मा पनि एक करोड २२ लाख नाफा कमाएको कम्पनीले सेयरधनीलाई लाभांश पनि बाँड्न थालेको थियो।
आर्थिक वर्ष २०७७/०७८ मा १ करोड ९१ लाख नाफा कमाएको कम्पनी २ वर्षयता भने घाटामा गएको थियो। २०७८/७९ मा १ करोड ६७ लाख र २०७९/०८० मा २ करोड ८४ लाख रूपैयाँ घाटा भएको थियो। कम्पनीको अधिकृत पुँजी ५ करोड छ भने सञ्चित नाफा २७ करोड रूपैयाँ छ।
वन तथा वातावरण मन्त्रालय, कृषि विकास बैङ्क, नेपाल औषधि लिमिटेड र वन पैदावार विकास समिति कम्पनीको सेयर सदस्य छन्।
सन्चो ब्रान्डको रूपमा कम्पनीले थुप्रै जडीबुटीका औषधि निर्माण गर्दै आएको छ। जसले पछिल्लो समय मह उत्पादन र प्रशोधन गरी बिक्री सुरु गरेको थियो।


Shares

प्रतिक्रिया