समाज


एसईईमा प्रदेश सरकारले हस्तक्षेप गर्न मिल्दैन, अवरोध नगर्नू: राष्ट्रिय परीक्षा बोर्ड

एसईईमा प्रदेश सरकारले हस्तक्षेप गर्न मिल्दैन, अवरोध नगर्नू: राष्ट्रिय परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा


नेपालखबर
चैत ६, २०८१ बुधबार १२:३५, काठमाडौँ

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनमा कुनै पनि प्रकारको अवरोध नगर्न सबैलाई आग्रह गरेको छ। 

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भोली (बिहीबार) देखि सुरु हुने एसईई परीक्षामा प्रदेश सरकार सहभागी नहुने जनाएपछि बोर्डले आन्तरिक रूपमा उठेका बिषय मिलाएर परीक्षा सञ्चालनमा कुनै पनि प्रकारको अवरोध नगर्न आग्रह गरेको हो।
 
बोर्डका अध्यक्ष महाश्रम शर्माले नेपालखबरसँगको कुराकानीमा प्रदेश सरकारले गरेका निर्णयमा बोर्डले हस्तक्षेप गर्न नमिल्ने तर परीक्षा सञ्चालनमा अवरोध गर्न नहुने बताएका हुन्। 

अध्यक्ष शर्माले प्रदेश परीक्षा व्यवस्थापन कार्यालय र जिल्ला परीक्षा समन्वय समितिले छलफल गरेर यो विषय छिटो मिलाउनुपर्नेमा पनि जोड दिए। 

उनले भने, ‘परीक्षालाई मार्यादित बनाउन बोर्ड लागिरहेको छ। परीक्षा रोक्ने र नराम्रो बनाउने मनसाय मुख्यमन्त्रीको पनि होइन होला। तर, सबै पक्षको सहयोग भए मात्र परीक्षा सफल र मर्यादित बनाउन सकिन्छ।’

मधेस प्रदेश सरकारले  फागुन २६ गते एसईईलाई मर्यादित तथा व्यवस्थित बनाउन परीक्षामा खटिने केन्द्राध्यक्ष गोलाप्रथाबाट छनोट गर्नुपर्ने निर्णय गरेको थियो।  

तर, जिल्ला परीक्षा समन्वय समितिले निर्णय कार्यावन्यन नगरेको भन्दै मंगलबार मुख्यमन्त्री सिंहले जनकपुरमा पत्रकार सम्मेलन गर्नै एसईई परीक्षामा प्रदेश सरकार सहभागी नहुने बताएका थिए। तर, उनले परीक्षा सञ्चालनमा कुनै पनि प्रकारको अवरोध नगरिने पनि बताएका छन्।

केन्द्राध्यक्ष परीक्षा केन्द्र रहेको विद्यालयका प्रधानाध्यपकलाई सिफारिस गरिँदा परीक्षा मर्यादित नहुनेमा उनको जोड थियो। भोलि (बिहीबार) बिहानदेखि सञ्चालन हुन लागेको एसईई परीक्षामा मधेस प्रदेशबाट ८८ हजार ८ सय ५८ विद्यार्थी सहभागी हुँदैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad