ad ad

समाज


‘लकडाउन’ अवधि : आमाबाबु र छोराछोरीलाई आपसमा सिक्ने अवसर

‘लकडाउन’ अवधि : आमाबाबु र छोराछोरीलाई आपसमा सिक्ने अवसर

प्रकाश सिलवाल
चैत १२, २०७६ बुधबार ८:४४,

विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि जारी ‘लकडाउन’ का अवधिमा अभिभावक र विद्यार्थीले घरमा कसरी समय बिताउने? बालबालिकालाई ‘बोर’ र अभिभावकलाई झर्को लाग्न नदिने उपायहरु के–के हुन सक्छन्? बालबालिकालाई मोबाइलको लतमा फस्न नदिन सिकाइका वैकल्पिक अवसरहरुको खोजी भइरहेको छ भने विकल्प खोज्न अन्यत्र भौतारिनुभन्दा घरपरिवारमै उपयुक्त काम र सिकाइ गरेर सहजरुपमा समय बिताउन पनि सकिन्छ।

यस्ता संवेदनशील घडीमा शिक्षासम्बन्धी विभिन्न संस्था, मनोपरामर्शकर्ता र अनलाइन प्रविधिमा सिकाइ सामग्री उत्पादन गर्ने संस्था र व्यक्तिले स्वयंसेवीरुपमा गरेका प्रयासलाई पनि पछ्याउन सकिनेछ। सामान्य अवस्थामा शैक्षिकसत्रको अन्त्यमा वार्षिक परीक्षापछि बिदा हुने यस अवधिमा बालबालिकालाई छुट्टी हुने भए पनि अभिभावक आफ्ना काम र रोजगारीमा व्यस्त हुने गरेकामा अहिले कोरोना भाइरसबाट बच्न सबै जना घरमा बस्नुपर्ने भएकाले आपसी सिकाइको अवसरका रुपमा यसलाई लिन सकिन्छ।

युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा बाबुराम अधिकारी बालबालिकाले अभिभावकसँग घुलमिल हुने यो उनीहरुको राम्रो अवसर भएको जनाउँदै अभिभावकले पनि उनीहरुको समस्या जिज्ञासाबारे जानकारी लिन सक्ने बताए। डा अधिकारीले भने, ‘यो बेला कुनै घोक्ने खालको पाठ्य सामग्रीभन्दा समसामयिक कुराबारे पढ्न र रचनात्मक कुरा खुला किसिमले सिक्न प्रेरित गर्नुपर्छ। घरमा बसेर गर्न मिल्ने खालका बालबालिकाको रुचिअनुसारको काम गर्न दिनुपर्छ।’ उनका विचारमा बालबालिकालाई गीतसंगीत, खेल, साहित्य र राम्रा चलचित्र हेर्न दिन सकिन्छ भने खाना बनाउन र घर सफा गर्नेजस्ता उनीहरुले सक्ने काममा पनि अभ्यस्त बनाएर उनीहरुलाई बाहिरका कुरामा मानसिक तनाब हटाउन सकिन्छ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका महासचिव गुणराज मोक्तानले बिदाको यस अवधि बुबाआमाले छोराछोरीलाई सिकाउन पाउने सुनौलो अवसर भएकाले जीवनोपयोगी सीप, व्यवहारिक सिकाइ, घरायसी काम र मिदास संस्थाको पाठ्यक्रमअनुसारको शिक्षा लिन सकिने बताए। मोक्तानले भने, ‘छोराछोरीले बुबाआमालाई प्रविधि सिकाउने र बुबाआमाले छोराछोरीलाई व्यवहारिक एवं परम्परागत सीप सिकाएर दुई पुस्ता जोड्न यो एक मौका पनि हो। यसको सदुपयोग गरौँ।’

विश्व शान्तिका लागि प्रशिक्षणका क्षेत्रमा कार्यरत ‘क्रोधरहित संसार’ संस्थाका अध्यक्ष देशमर्दन बस्नेतका विचारमा बालबालिकालाई उनीहरुको रुचिअनुसार चित्र बनाउन दिएर र उनीहरुले कार्टुनमा देख्ने चित्रसँग आफूले बनाएका चित्रको तुलना गर्न लगाउन सकिने बताउछन्। बस्नेत भन्छन्, ‘बालबालिकाले कापीमा राम्रो अक्षर लेख्ने आदत बसाउन पनि यो बिदालाई उपयोग गर्न सक्नेछन्। यसका लागि बालबालिकालाई नै अभिभावकसमेतको दिनभरको योजना बनाउन दिन सकिन्छ।

लकडाउनका समयमा शिक्षक र बालबालिकाको रुचि र उनीहरुको सहभागितामा सिकाइका अवसरमा जोडिइरहन इ–लर्निङका सामग्री संकलन, उत्पादन र निःशुल्क प्रसारण गर्न अन्य संस्थागत पहल पनि शुरु भएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र शैक्षिक सामग्री उत्पादक संस्था ‘कारखाना’बीच सहमति भएको छ।

प्याब्सनका महासचिव कुमार घिमिरे र कारखानाका प्रमुख कार्यकारी अधिकृत पवित्रबहादुर गौतमबीच सो सहमतित्रमा आज हस्ताक्षर भएको हो। कारखानाका स्वयंसेवीले यसको उत्पादन गर्नेछन्। यसबाट अभिभावकले पनि लाभ लिन सक्नेछन्। कारखानाडट एशियाबाट पाउन सकिने यी सामग्रीमा ‘स्कूल सपोर्ट रिसोर्स’, ‘वेल बिइङ ः क्यारिङ फर द होल ह्युमन बिइङ, ‘किप लर्निङ’ खण्ड राखिएको छ।

प्याब्सन र मिदास एजुकेशन प्रालिबीच मिदास इ क्लास एप बालबालिकाका लागि एक महिनासम्म निःशुल्क रूपमा प्रदान गर्ने सहमति पनि भएको छ। कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यालयका लागि उक्त एप निःशुल्क प्रदान गरिनेछ। प्याब्सनका अध्यक्ष टिकाराम पुरी र मिदासका प्रबन्ध निर्देशक छत्रहरि कार्कीबीच सो सहमतिपत्रमा हस्ताक्षर भएको हो। यो सुविधा सामुदायिक र निजी सबै विद्यालयका विद्यार्थीले प्रयोग गर्न सक्नेछन्।

बालबालिकाले मिदास इक्लास एपको प्रयोग गरेर बालबालिका घरभित्रै पठनपाठन र रचनात्मक कार्यमा व्यस्त हुनसक्ने र विभिन्न कक्षाअनुसारको सिकाइ क्रियाकलापमा भाग लिइ सिकाइ उपलब्धि हासिल गर्न सक्ने जनाइएको छ। बालबालिकाले प्लेस्टोरबाट मिदास इक्लास एप डाउनलोड गरेर इन्स्टल गरी एप खोली एपको मेनुमा रहेको अर्डर थिचेपश्चात् सब्क्रिस्पसन कार्ड लिन सक्ने र भौचर कोडमा प्याब्सन कोड लेखेर आपूmले चाहेको कक्षाको मिदास इ क्लास एप प्रयोग सक्नेछन्। कास्कीमा कार्यरत कोपिला नेपालले यस अवधिमा बालबालिकालाई अनलाइन र फोनबाट आवश्यक मनोपरामर्श दिने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .