समाज


गाउँपालिका अध्यक्षले कुटे कांग्रेस नेताका छोरा

गाउँपालिका अध्यक्षले कुटे कांग्रेस नेताका छोरा

कुटपिटमा संलग्न गाउँपालिका अध्यक्ष र उनको कुटाइबाट प्रभात आलेको शरिरमा लागेको चोट


वाशुदेव मिश्र
फागुन १३, २०८१ मंगलबार १९:५४, पोखरा

तनहुँको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले एक व्यक्तिलाई निर्घात कुटपीट गरेका छन्। कुटाइ खाने ५७ वर्षीय प्रभात आले २०१५ सालमा निर्वाचित सांसद तथा कांग्रेस नेता स्वर्गीय पदमबहादुर आलेका छोरा तथा गण्डकीका पूर्वअर्थमन्त्री जीतप्रकाश आलेका सहोदर भाइ  हुन्। 

पिट्ने पालिका अध्यक्ष नेपाली कांग्रेस तनहुँका उपसभापतिसमेत हुन्। प्रभातका अनुसार  राजेन्द्रकृष्णले उनलाई पीभीसी पाइपको ठूलो टाउकोले शरीरभर लगातार हानेका थिए। अहिले उनको शरीरभर नीलडाम छन्। आक्रमणपछि आफूले कान सुन्न छाडेको पनि उनले बताए। 

प्रभातका अनुसार घटना फागुन ७ गतेको हो। उनका अनुसार भिमादमा उनको र दाइको सात रोपनी जग्गा थियो। पछि दाइको अंशमा परेको जग्गा अध्यक्ष राजेन्द्रकृष्णले किनेका थिए। 

जग्गा किनेर प्लटिङ गर्ने क्रममा पछाडि र अगाडि बाटो छाड्ने सहमति बनेको थियो तर राजेन्द्रकृष्णले बाटो छाडेनन्।

‘जग्गामा डीपीसी हाल्नेर र कित्ताकाट गर्ने बेला पछाडि बाटो राख्ने,अगाडि पनि बाटो छाड्ने सहमति भएको थियो तर अगाडि २ मिटर पनि छाडेनन्। त्यो विषयमा ७ वर्षदेखि विवाद थियो,’ पीडित प्रभातले भने,‘मैले विवाद मिलाऊँ भन्न फोन गरेँ,उनले घर बोलाए। भिमाद नगरपालिका–६ मालेबगर पुरानो स्कूलस्थित घर पुगेपछि राजेन्द्रकृष्णको श्रीमतीले ढोका खोलिन्। उनले पहिला कागज गरेर जग्गा दिने अनि अहिले लफडा गर्न आउने भन्दै हप्काइन्। मैले के लफडा गरेको छु र भन्न नपाउँदै राजेन्द्रकृष्णले लगातार मेरो फिलामा हाने। मैले रोक्न खोजेँ तर सकिन। पछि त कान,पेट जताततै हाने।’ 

मंगलबार उनले तनहुँको बेलचौतारामै रहेको जीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफ्नो स्वास्थ्य परीक्षण गराएका छन्। 

‘अस्पतालले कानको, पेटको भिडिओ एक्सरे र सीटि स्क्यान गर्न भनेको छ। अब अर्को अस्पताल जाऊ भनेको छ,’ उनले भने,‘अब जता पायक पर्छ, त्यहीँ गएर उपचार गराउने होला।’

अध्यक्ष श्रेष्ठले चाहिँ राति मादक पदार्थ सेवन गरी आफूमाथि आक्रमण गरेपछि प्रतिकारमा एकपटकमात्र पाइपले पीटेको जिकिर गरेका छ्न्। 

‘सात गतेको घटना हो, मलाई ८ बजेर ४५ मिनेट जाँदा फोन गर्‍यो। नानाभाँति मुख छाड्यो। तिमीसँग मेरो कुरै छैन। अहिले रक्सी खाएको बेला कुरै नगरौँ भनेँ। तिम्रो घरमै आएर जे पनि गर्न सक्छु भन्यो। मैले  आऊ न त गर्न सक्छौ भने भनेँ,’उनले टेलिफोनमा भने, ‘ऊ आयो। गेट खोल्यो। मुख छाड्ने काम ग-यो। म बाहिर निस्किइन। भाउजू (श्रीमती) निस्किइन्। भाउजूलाई केही हुन्छ कि भनेर म पनि झरेँ। उसले एक्कासी टाउकोमा आक्रमण गर्‍यो। मैले त्यसो गर्दा पनि सहेँ। रक्सीले मातेको थियो, फेरि हिर्काउँदा भाउजूको गालामा लाग्यो। सहेर बस्ने कुरा भएन। अनि मैले एकपटक पाइपले हानेको हो।’

आफूले प्रभातको दाइसँग जग्गा लिएको बताउँदै उनले विवाद भए प्रभातले दाइसँगै कुरा गर्ने हो भनेको पनि सुनाए। 

यता प्रभातले  चाहिँ आफूले अध्यक्ष श्रेष्ठविरुद्ध उजुरी दिन खोजे पनि प्रहरी कार्यालय बेलचौताराले उजुरी लिन नमानेको दाबी गरे। यता, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी वीरेन्द्रबहादुर शाहीले चाहिँ कुटपीटको घटना अदालतको विषय भएको र आलेको ठाडो उजुरी पछि घाउजाँचको लागि भने पठाइएको र बाँकी कुरा बुझ्दै गरेको प्रतिक्रिया थिए। 

‘घटना ७ गतेको रैछ। आज आउनुभएको रैछ, कुटपीटको मुद्दा फिरादबाट चल्ने हो। जिल्ला अदालत जाने हो,'उनले भने,‘घटनाको कुरा आएपछि हामीले दुवैको कुरा सुन्नुपर्ने होला। सत्य तथ्य बुझ्ने कुरा आफ्नो ठाउँमा रह्यो। ठाडो निवेदन लिएर घाउँजाँच गरिदिएको हो।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad