समाज


काठमाडौँमा गुड्ने ५८ प्रतिशत सवारी साधन प्रदूषण मापनमा फेल

काठमाडौँमा गुड्ने ५८ प्रतिशत सवारी साधन प्रदूषण मापनमा फेल

फाइल तस्बिर


नेपालखबर
माघ २२, २०८१ मंगलबार ६:५७, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले पाँच सय ९९ वटा सवारी साधन परीक्षण गर्दा तीन सय ४५ वटा धुँवा उत्सर्जन मापदण्ड विपरीत पाइएका छन्। कामपाले निकायगत समन्वयमा गरेको प्रदूषण जाँचका क्रममा ५८ प्रतिशत सवारीसाधन मापदण्ड विपरीत भेटिएका हुन्।

जाँच गरिएका सवारीसाधनमध्ये पेट्रोलबाट सञ्चालित २३ र डिजेलबाट सञ्चालित तीन सय २२ वटा धुँवा उत्सर्जन मापदण्ड विपरीत भेटिएका कामपा वातावरण विभागले जनाएको छ। पेट्रोलभन्दा डिजेलबाट सञ्चालित सवारीसाधन बढी मापदण्ड विपरीत रहेका विभागका प्रमुख सरिता राईले जानकारी दिइन्।

उनका अनुसार सवारीसाधनबाट वायु प्रदूषणमा पार्ने असर घटाउन कामपाले सडकमा आकस्मिक चेकजाँच गरिरहेको छ । यस क्रममा मापदण्ड विपरीत भएका सवारीसाधनलाई मर्मत गरेर सञ्चालन गर्न सुझाव दिइएको उनले बताइन्। 

प्रदूषण नियन्त्रणका लागि गत पुस २९ गतेदेखि थालिएको सचेतनात्मक कार्यक्रम नियमित सञ्चालन भइरहेको प्रमुख राईले उल्लेख गरिन्। उक्त कार्यक्रमबाट सुधारको मौका दिँदा मापदण्ड पूरा नभएका सवारीसाधनलाई क्रमशः कारबाहीको दायरामा ल्याएर सञ्चालनमा रोक लगाउनेसम्मका कारबाहीको तयारी भइरहेको उाले जानकारी दिइन्।

‘सञ्चालनमा रोक लगाउनु अघि सुधार गरेर सञ्चालनको मौका दिइनेछ। यो अवसरलाई प्रयोग गर्न अटेर गर्नेलाई जरिवाना तिराएर सञ्चालनमा रोक लगाइने छ’, प्रमुख राईले भने। उनका अनुसार हालसम्म कुलेश्वर, कमलपोखरी, वनस्थली, कोटेश्वर, दरबारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामङ्गल, पानीपोखरी र जमल भएर सञ्चालित सवारीसाधनको परीक्षण भएको छ। 

परीक्षणका क्रममा मापदण्ड विपरीत पाइएका सवारीमा सार्वजनिक यातायात सेवाका लागि सञ्चालित तथा स्कूल बस, सरकारी कार्यालयद्वारा सञ्चालित, सामान बोक्ने ट्रकलगायत रहेका विभागले जनाएको छ।  

परीक्षणमा मापदण्डबाहिर रहेका सवारीसाधनलाई मर्मत गर्न, त्यसपछि पुनःपरीक्षण गराउन र मापदण्डभित्र मात्र सञ्चालन गर्न कवुलियतनामा गराइएको प्रमुख राईले बताइन्। 

कामपाको वातावरण व्यवस्थापन विभागले सङ्घीय सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र कामपाको नगर प्रहरी बलसँगको सहकार्यमा सवारी जाँचको काम गरिरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad