समाज


धुलिखेलमा आगलागी हुँदा पत्नीको मृत्यु, पति घाइते

फर्निचर उद्योग र घरमा आगो फैलिँदा ९० लाख भन्दा धेरैको क्षति
धुलिखेलमा आगलागी हुँदा पत्नीको मृत्यु, पति घाइते

नेपालखबर
माघ १२, २०८१ शनिबार १६:२५, काठमाडौँ

काभ्रेको धुलिखेलमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ। घटनामा अर्का एकजना घाइते भएका छन्। आगलागीबाट ९० लाख रुपैयाँ भन्दा धेरैको क्षति भएको प्रहरीले जनाएको छ। 

शुक्रबार राति करिब नौबजे धुलिखेल नगरपालिका- ९ काभ्रेभञ्ज्याङस्थित श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा बिद्युत सर्ट भई  आगो लाग्दा ७० वर्षीया टीकादेवी दंगालको मृत्यु भएको हो। 

आगलागीमा परेर उनका पति ७३ वर्षीय तोयानाथ दंगाल घाइते भएका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

फर्निचर उद्योगबाट सुरु भएको आगो नजिकै रहेको कृष्ण बिकको ढुंगामाटोले बनेको एकतले कच्ची घर, सोही ठाउँका ध्रुबबहादुर बिकको जस्ताले बेरेको र जस्ताले नै छाएको एक तले टहरोमासमेत फैलिएको जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख एसपपी बसुन्धरा खड्काले जानकारी दिइन्। 

आगलागीमा परेर मृत्यु हुने महिला फर्निचरकी कामदार हुन्। उनीहरु पतिपत्नी फर्निचरमा काम गरेर सोही ठाउँमा बसोबास गर्दै आएका प्रहरीले जनाएको छ। 

आगलागीको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी उपरीक्षक खड्काको  कमाण्डमा ४० जना प्रहरी टोली घटनास्थलमा पुगेका थिए। 

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी र ५ वटा दमकलको सहायतामा गएराति पौने २ बजे आगलागी नियन्त्रणमा आएको थियो। 

मृतक महिला र उनका पति काठमाडौँको शंखरापुर नगरपालिका- १ नाङलेभारेका स्थायी बासिन्दा हुन्। उनीहरु विगत केही समयदेखि फर्निचरमा काम गरेर सोही ठाउँमा बसोबास गर्दै आएका थिए। 

आगलागीमा परेर घाइते भएका तोयानाथको धुलिखेल अस्पतालमा उपचार भैरेहेको प्रहरीले जनाएको छ। 

मृतक महिलाको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमै राखिएको छ। आगलागिबाट फर्निचर उद्योगमा अन्दाजी ८० लाख, कृष्ण बिकको सातलाख र ध्रुब बिकको तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad