ad ad

समाज


सीमानामा भारतबाट निर्वाध आउजाउ, ज्वरो नाप्ने थर्मल गनसमेत छैन

सीमानामा भारतबाट निर्वाध आउजाउ, ज्वरो नाप्ने थर्मल गनसमेत छैन

शैलेन्द्र महतो
चैत ६, २०७६ बिहिबार १६:६,

नेपालसँग १४ जिल्ला टाँसिएरै रहेको बिहार राज्यलाई भारतले कोरोना संक्रमणको महामारी क्षेत्र घोषणा गरेको छ। कोरोना संक्रमणको सामना गर्न बिहार महामारी रोग कोभिड–१९ नियमावली २०२० लागु गर्दै हाइ एलर्टमा छ। तर बिहारसँगै जोडिएको तराई मधेशका जिल्लाहरुमा भने भारतबाट सहज आउजाउ भइरहेको छ।

कोरोना संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले वीरगन्जको रक्सौल, भैरहवाको सुनौली, महेन्द्रनगरस्थित बनबासा र झापाको काँकडभिट्टा गरी ४ वटा बाहेक सबै नाका बन्द गरेको छ। यद्यपि यी ४ नाका बाहेक अन्य नाकाहरुबाट सवारीसाधनको प्रवेश नभएपनि लाखौं सर्वसाधारण आउनेजाने क्रम जारी छ। यति हुँदा पनि नेपाल सरकारबाट नाकामा खासै सावधानी र सतर्कता अपनाएको देखिँदैन।

border8.jpgसीमानामा भद्रगाेल हेल्थ डेस्क

देशकै सबैभन्दा ठुलो नाकाको रुपमा रहेको पर्साको वीरगञ्जस्थित रक्सौल नाका खुल्ला छ। यस नाकाबाट दैनिक हजाराैं मानिसहरु भारतीय बजारमा आवत जावत गर्ने तथा भारतका विभिन्न ठाउँहरुबाट भित्रिने क्रम चलिरहेको छ। ७ जना स्वास्थ्यकर्मी टोलीसहितको नाकामा एउटा हेल्थ डेस्क खडा गरिएको छ। सातैजना तीन सिफ्टमा बस्ने गरेका छन्। एक सिफ्टमा मात्र दुईजना हुन्छन्। त्यस नाकाबाट प्रवेश गर्नेहरुलाई लाम लगाएर शरीरको तापक्रम जाँच्ने गरिन्छ। तापक्रम जाँच्न २ वटा थर्मल गन सरकारले उपलब्ध गराएको छ।

मान्छेको बाक्लै आउजाउ हुने गरेकाले उत्ताबाट आउने सबैलाई चेकजाँच गर्न नभ्याइने गरेको वीरगञ्जका समाजसेवी प्रकाश थारु बताउँछन्।

‘करोना संक्रमणको उच्च जोखिमको बेला पनि हजरौं मान्छे भित्रिने नाकामा २ जना चिकित्सक राखेर के हुन्छ? सबैलाई राम्ररी जाँच्न सम्भव छैन। धेरै मान्छे यतिकै भित्रिन्छन्’ समाजसेवी थारुले भने, ‘कोरोना रोक्न सरकारले गम्भीर भएर नाकामा चेकजाँचको उचित व्यवस्थापन गर्न सकेन। हामी नेपाली कोरोना भाइरसको उच्च जोखिममा छौं। अहिले पनि सरकार यसप्रति गम्भीर होस्।’

border4.jpgरक्सौल नाकाबाट नेपाल प्रवेश गर्नेकाे भीड

रक्सौल नाकाकै जस्तै हालत सवारीसाधन प्रवेश निषेध गरिएका अन्य नाकाको पनि छ। सिरहाको प्रमुख नाकाको रुपमा रहेको खयरटोका नाका बन्द गरिएको छ। तर सयौं मानिस दैनिक आउने जाने गर्दछन्। नाकामा तीनजना स्वास्थ्यकर्मी र एक प्रहरीसहित चारजनाको हेल्थ डेस्क राखिएको छ। हेल्थ डेस्क सीमाबाट झण्डै ५ सय मिटर पूर्व उत्तरमा खैरटोका भन्सार नजिक छ।

भारत बिहारको मधुवनी जयनगर हुँदै खैरटोका नाकाबाट मानिसहरु सिरहा छिर्ने गर्दछन्। तर प्रवेश गरेकालाई हेल्थ डेस्कमा अनिवार्य चेकजाँच भने छैन। आफैँलाई मन लागेको खण्डमा मानिसहरु चेकजाँच गराउँछन्। नभए त्यतिकै भित्रिने गरेको सिरहा नगरपालिका खयरटोकाका स्थानीय उमेश यादव बताउँछन्।

‘नाकामा संवेदनशील भएर प्रवेश गर्ने प्रत्येक मासिनलाई चेकजाँच गर्नुपर्ने हो। तर त्यसो गरिएको छैन। यो कस्तो चेकजाँच हो? नामको लागि सीमामा यस्तो हेल्थ डेस्क राखेर के फाइदा?’ प्रश्न गर्दै उमेश यादव भन्छन् ‘सरकार महामारी कोरोनाप्रति गम्भीर छैन भन्ने यसबाट पुष्टि हुन्छ। हामी सुरक्षित छैनौं भनेर बुझ्दा हुन्छ। देशभित्र जति नै सावधानी अपनाएर के हुन्छ?’

border7.jpgसिरहाको खयरटोका नाका, जहाँ स्वास्थ्य जाँच अनिवार्य छैन

यो भन्दा पनि दयनीय चेकजाँचको अवस्था छ महोत्तरी जिल्लाको मुख्यनाका भिठ्ठामोडको। जहाँ चारजना स्वास्थ्यकर्मीको हेल्थ डेस्क राखिएको छ। पालैपालो र्दुइजना डिउटीमा हुन्छन्। यहाँ मानिसको शरीरको तापक्रम नाप्ने थर्मल गन पनि छैन। ज्वरो नाप्ने थर्मामिटरको प्रयोग गरी काखीमा लगाएर तापक्रम जाँच्ने गरिएको जलेश्वरका पत्रकार रञ्जन भण्डारीको भनाइ छ। यो नाका बन्द गरिएपनि दैनिक हजारौं नागरिक जातआवत गर्ने क्रम जारी छ। यस्तो चेकजाँचले जाँच्ने हेल्थ डेस्कका स्वास्थ्यकर्मी नै करोना संक्रमणको खतरामा रहेको पत्रकार भण्डारीको तर्क छ।

यीत तीन नाका उदाहरण मात्र हुन्। भारतको बिहार राज्यसँग जोडिएका तराई मधेशका १४ जिल्लाका ठुला साना गरी दर्जनौं सिमानाकाको अवस्था यस्तै छ। छोटी नाकाहरुबाट भारतीय नागरिक तथा काम गर्न भारतको विभिन्न भागमा पुगेर फर्किरहेका नेपाली नागरिकहरु सहजै प्रवेश गरिरहेका छन्। सबै नाकाहरुमा हेल्थ डेस्क राखिए पनि साधन, श्रोत र जनशक्तिको अभाव र लापरवाहीले चेकजाँचको व्यवस्थापन फितलो रहेको स्थानीयको गुनासो छ।

janaki_mandir.jpgजानकी मन्दिरमा देखिएकाे भिडभाड

कोरोना संक्रमण रोक्न सरकारले पहिलो चरणमा अपनाउनु पर्ने सावधानी एवं सतर्कता देश भित्र अपनाएको, तर दैनिक हजारौं मानिस भित्रिने नाकाप्रति गम्भीर नबनेको वीरगञ्जका पत्रकार सुरेश बिडारीको तर्क छ। रक्सौल नाकामा पटक–पटक समाचार संकलनको क्रममा पुग्दा त्यहाँ देखेको फितलो व्यवस्थापनले देशमा सहजै कोरोनाको महामारी फैलिने पत्रकार बीडारीको भनाई छ।

सरकारले कोरोनाको संक्रमण रोक्न बिहीबारदेखि चैत मसान्तसम्मका लागि एसईई लगायत सबै परीक्षा स्थगित र शैक्षिक संस्था बन्द गरेको छ भने २५ जनाभन्दा बढी सार्वजनिक स्थलमा भेला हुन नपाउने सूचना जारी गरेको छ। तर, नाकाबाट भइरहेको दैनिक हजारौं नागरिकको प्रवेशले कोरोना सहजै फैलिन सक्ने भन्दै नागरिक त्रसित बनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .