समाज


तिब्बतमा आज गएको भूकम्पले नेपालमा विद्यमान भूकम्पीय जोखिम कम भएको हो?

तिब्बतमा आज गएको भूकम्पले नेपालमा विद्यमान भूकम्पीय जोखिम कम भएको हो?

आज बिहान तिब्बतको सिगात्सेमा गएको भूकम्पले भत्किएका संरचना


नेपालखबर
पुस २३, २०८१ मंगलबार १२:११, काठमाडौँ

आज बिहान चीनको तिब्बतलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले नेपालमा जानसक्ने महाभूकम्पको जोखिमलाई कम नगर्ने भूकम्पविद्हरुले बताएका छन्। 

मंगलबार बिहान दक्षिण पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगात्से सहरको डिङ्ग्री काउन्टी नजिक केन्द्रबिन्दु भएर सात म्याग्नीच्युडको भूकम्प गएको थियो। 

जुन भूकम्पबाट अहिलेसम्म चीनमा ५३ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। काठमाडौँ उपत्यकासहित नेपालका तीन दर्जन भन्दा धेरै जिल्लामा भूकम्पको कडा धक्का महसुस भएको छ। 

भूकम्पविद्का अनुसार नेपाल पनि भूकम्पीय दृष्टिले अत्यन्तै जोखियुक्त क्षेत्रमा पर्छ। अझ पश्चिम नेपालमा त्यो जोखम मध्य र पूर्वी नेपालमा भन्दा ज्यादा छ। 

‘आज बिहान तिब्बतमा गएको भूकम्पले नेपालको हिमाली क्षेत्रको जमिनमुनी संचित भूकम्पीय शक्तिलाई क्षीण गरेको छैन,’ राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले नेपालखबरसँग भने, ‘तिब्बत क्षेत्रको जमिनमुनी संचित भूकम्पीय शक्तिलाई आजको भूकम्पले अवस्य पनि क्षीण गर्‍याे, तर नेपालको जमिनमुनी विद्यमान भूकम्पीय शक्तिलाई त्यसले क्षीण गर्‍याे भन्न सकिँदैन।’

उनले आज तिब्बतमा गएको भूकम्प हाम्रोतिर जाने भन्दा फरक किसिमको भएको पनि बताए। 

राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले आज बिहान तिब्बत केन्द्रबिन्दु भएर गएको सात म्याग्नीच्युडको भूकम्पलाई नेपालमा ५.३ म्याग्निच्युडको भनेर गरेको मापन गलत भएको पनि भूकम्पविद् अधिकारीले बताए। 

‘भूकम्प जहाँ केन्द्रबिन्दु भएर गएको हो, त्यहीमात्रै मापन हुन्छ,’ भूकम्पविद् अधिकारीले भने, ‘हल्लिएको आधारमा केन्द्रबिन्दुमा सातको भूकम्प जाँदा यता ५.३ को गयो भन्न मिल्दैन। त्यहाँ सात रेक्टरको गयो, त्यसको मापन नेपालमा ५.३ गरियो भन्नु नै गलत हो। आज बिहान तिब्बतमा गएको भूकम्पले नेपालमा कति हल्लियो भनेर हामीले नापेकै छैन। त्यसको मापनको मापदण्ड नै अर्को हुन्छ।’

उनले नेपालको सीमा क्षेत्रबाट झण्डै एकसय किलोमिटर टाढा केन्द्रबिन्दु भएर गएको कारण आज बिहान गएको भूकम्पले नेपालमा धेरै क्षति नगरेको बताए। 

‘फेरि भूकम्पको केन्द्रबिन्दु नजिकको नेपाली भूभाग हिमाली र पहाडी ठाउँमा पर्योे। जहाँ मानव बस्ती र संरचना पनि धेरै छैनन्,’ उनले भने, ‘त्यति टाढा गएको सात म्याग्निच्युडको भूकम्पले यहाँ धेरै क्षति गर्दैन।’

उनले संरचना कमजोर छन् भने मात्रै भूकम्पले क्षति धेरै हुने बताए। बलिया संरचना भएको ठाउँमा ठूलै भूकम्प जाँदा पनि क्षति कम हुन्छ,’ उनले भने, ‘संरचना कमजोर छन् भने पाँच म्याग्निच्युडको भूकम्पले पनि क्षति गर्छ। जुन हामीले नेपालमा भोग्दै आएका छौँ।’

आज बिहान तिब्बत केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का कोसी, बागमती र मधेस प्रदेशमा धेरै महसुस भएको छ। सबैभन्दा कडा धक्का संखुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, पाँचथर र इलामा जिल्लामा महसुस भएको छ। 

राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रकाअनुसार झापा, सुनसरी, मोरङ, उदपयुरसहितका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको छ। तर, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका जिल्लामा भने भूकम्पको धक्का खासै महसुस नभएको केन्द्रले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad