नेपाल प्रहरीमा रिक्त प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पद पूर्तिका लागि बढुवा गर्ने तयारी भएको छ।
यही साता ५ जना एसएसपी प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएपछि जनपदतर्फ रिक्त एसएसपी पदको संख्या २५ पुगेको छ।
तत्काल थप दरबन्दी खालि हुने सम्भावना नभएपछि एसपीबाट बढुवा गरेर एसएसपी बनाउने तयारी गरिएको हो।
आगामी साता एसएसपीमा बढुवा सिफारिस गर्ने तयारी बढुवा समितिले गरेको छ। २ दिनको फरकमा एआईजी र डीआईजी बढुवाका लागि सिफारिस भइसकेका छन्।
२५ एसपी पदका लागि २ ब्याचका ३७ जना एसपी प्रतिस्पर्धामा छन्। तर तीमध्ये केही कारबाहीका कारण छुट्ने छन् भन्ने यसअघि पछाडि परेकाहरूले मौका पाउने सम्भावना छ।
हालका एसपीमा सबैभन्दा वरिष्ठ विमल बस्नेत भने यसपटक पनि एसएसपीमा बढुवा हुने छैनन्। उनको अझै पनि बढुवा रोक्का छ।
उनी २०५३ सालमै राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि प्रहरीमा आएको टोलीका हुन्। उनको टोलीका अरू भने एसएससपी र डीआईजीसमेत भइसकेका छन्।
उनलाई भने ५ वर्षपछिको टोलीकाले समेत उछिन्ने पक्का छ।
२०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएर २०५८ सालको टोलीसँगै एसपीमा बढुवा भएका केही अधिकारी यसपटक एसएसपीमा बढुवा हुनेछन्।
त्यो टोलीबाट गोविन्द अधिकारी, विनोद सिलवाल र विमलराज कँडेल छन्। यसपटक उनीहरू एसएसपी बन्ने लगभग निश्चित छ।
उनीहरूबाहेक सबै एसपी २०५८ सालमा भर्ना भएको टोलीका हुन्। यो टोलीबाट पनि दुईपटकमा एसपी बनेका अधिकारीहरू छन्। २०७५ फागुनमा एसपी भएका केही अधिकारी छुट्ने सम्भावना छ।
यो टोलीबाट एसपी कमल थापा र प्रकाश रानाभाट विवादित छन्। उनीहरूलाई अहिले नै बढुवा गर्ने सम्भावना कम छ।
थापाविरुद्ध भैँसेपाटीमा प्रहरीकै संलग्नतामा भएको हनी ट्र्यापको घटनामा अनुसन्धान गर्न सीआईबीलाई सरकारी वकिल कार्यालय ललितपुरले निर्देशन दिइसकेको छ।
रानाभाट जिल्ला प्रहरी कार्यालय धनुषाको प्रमुख हुँदा लागु औषध मुद्दामा मातहत इलाका प्रहरी कार्यालयबाट पक्राउ गरिएका अभियुक्तहरुमध्ये दुई जना अभियुक्तलाई छुटाउन लेनदेन गरेको भन्दै उजुरी परेको थियो।
दुई जनालाई उन्मुक्ति पहिले तयार गरिएको मुचुल्का नै परिवर्तन गरेर अर्को बनाइएको थियो।
मुद्दा फाँटकै कर्मचारीले दुवै मुचुल्कासहित गोप्य रुपमा सरकारी वकिल कार्यालयमा उजुरी गरेपछि सरकारी वकिल कार्यालयले छानविन गरी रानाभाट घटनामा संलग्नता रहेको निस्कर्ष निकालेको थियो।
त्यसपछि सरकारी वकिल कार्यालयले प्रहरी प्रधान कार्यालयलाई कारबाही गर्न पत्राचार गरेको थियो। तर उनका आफन्त अख्तियारका आयुक्त भएकाले उनको दबाबमा कारबाही रोकिएको थियो।
उनी अहिले २ वर्ष अध्ययन बिदामा बसेर बेलायतबाट फर्किएका छन्। अहिले पनि उनी अख्तियारबाटै दबाब बढाएर बढुवाको कसरतमा छन्। उनको बढुवा रोकिने सम्भावना छ।
उनीहरूबाहेक २०७५ फागुनमा एसपी भएका अधिकारीहरूको बढुवा हुने सम्भावना बलियो छ।
रमेश थापा यसपटक पनि आफ्नो ब्याचबाट पहिलो नम्बरमै बढुवा हुने सम्भावना छ।
यस्तै जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपमशमशेर जबरा, श्यामकुमार महतो, कृष्णप्रसाद पंगेनी, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढामगर पनि एसएसपीमा बढुवा हुने सम्भावना बलियो छ।
उनीहरू अन्य प्रतिस्पर्धीभन्दा डेढ वर्ष पहिले एसपी भएका हुन्।
रञ्जु सिग्देल अहिले एसएसपीमा बढुवा हुने सूचीमा एक मात्रै महिला हुन्। उनी छुट्ने सम्भावना छैन।
२०७७ वैशाखमा एकसाथ २४ डीएसपीलाई एसपीमा बढुवा गरिएको थियो। त्यतिबेला बढुवा भएका अधिकारीहरूमध्येबाट पनि एसएसपीमा बढुवा हुनेछन्।
पहिलो नम्बरमा बढुवा भएका तुलबहादुर कार्कीसहित होबीन्द्र बोगटी, वेद विष्ट, राकेश सिंह, सन्तोष सिंह राठौरको बढुवा हुने बलियो सम्भावना छ।
यो टोलीबाट राजीवबहादुर बस्नेतको सम्भावना कम छ।
शिवकुमार श्रेष्ठ, शन्तिराज कोइराला, सञ्जयसिंह थापा, महेन्द्र खड्का, दीपक पोखरेल, प्रभुप्रसाद ढकाल र सन्तोषकुमार भट्टराईमध्येबाट पनि केही एसएसपीमा बढुवा हुनेछन्।
यही ब्याचका प्रकाश मल्ल, ज्ञानेन्द्रप्रसाद फुयाल, दयानिधि ज्ञवाली र राजेन्द्रप्रसाद धमलाको पनि यसपटक अगाडि आउने सम्भावना बढी देखिएको छ।
केदार खनाल, दीपेन्द्र शाही, रामप्रकाश शाह, प्रवीण धिताल पनि एसएसपी बन्न कोसिस गरिरहेका छन्।
उनीहरू सबै २०७७ वैशाखमा एसपीमा बढुवा भएका हुन्।
यसपटकको बढुवामा एसपीमा हुँदाको वरीयतामा भने व्यापक तलमाथि हुने देखिएको छ।
२०५८ मै भर्ना भए पनि २०७७ वैशाखभन्दा पछि एसपीमा बढुवा भएका अधिकारीको भने अहिले एसएसपी बन्ने सम्भावना कम छ।
Shares

प्रतिक्रिया