तनहुँको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकमा ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस)प्रविधिमा आधारित २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ।
मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौँ उपत्यकामा ल्याउन मार्कीचोक सबस्टेसनबाट काठमाडौँसम्मको मर्स्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइनलाई पनि मंगलबारनै २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ।
८२ किलोमिटर उक्त प्रसारण लाइनलाई ७ असार २०७९बाट १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको थियो। मार्कीचोक सबस्टेसन चार्ज गरिएसँगै मर्स्याङ्दी –काठमाडौँ प्रसारण लाइन २२० केभीमा सञ्चालनमा ल्याइएको हो।
मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत् काठमाडौँ उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउन मर्स्याङ्दी –काठमाडौँ २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत प्रसारण लाइन र मार्कीचोक तथा काठमाडौँको मातातीर्थमा २२०/१३२ केभी सबस्टेसन निर्माण गरिएको हो।
मातातीर्थ सबस्टेसन निर्माण सम्पन्न गरी गत वैशाखबाट सञ्चालनमा आइसकेको छ। दुवै सबस्टेसनमा १६०/१६० एमभीए क्षमताका दुई/दुई पावर ट्रान्सफर्मर राखिएका छन्। दुवै सबस्टेसनको क्षमता ३२०/३२० एमभीए छ।
Shares

प्रतिक्रिया