समाज


सामाजिक सञ्जालबाट महिलाको चरित्र हत्या गर्ने तीनजना पक्राउ

सामाजिक सञ्जालबाट महिलाको चरित्र हत्या गर्ने तीनजना पक्राउ

नेपालखबर
मंसिर २१, २०८१ शुक्रबार १७:९, काठमाडौँ

सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गरेको आरोपमा छुट्टाछुट्टै घटनाका तीनजना आरोपी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका जुडीवेला घर भएका वर्ष ३९ का कृष्ण प्रसाद अधिकारी भन्ने बिहानी बहादुर अधिकारी, चितवनको भरतपुर उपमहानगरपालिका वडा नम्बर १२ घर भएका वर्ष ३७ का रुपक शर्मा पौडेल र सप्तरीको बोदेबरसाइन नगरपालिका–६ फुल्काई घर भएका वर्ष २४ का लक्ष्मण यादव भन्ने जगदिश प्रसाद यादव रहेका छन्।

सामाजिक सञ्जाल फेसवुकमा साथी बनी कुराकानी हुने क्रममा आदान प्रदान गरिएका गोप्य तस्बिरहरू पीडकले रेकर्ड गरी राखेर पीडितका आफन्त तथा साथीहरूको म्यासेन्जरमा पठाई चरित्र हत्या गरी दुःख हैरानी दिएको पीडितको निवेदन सम्बन्धमा नेपाल प्रहरी साइबर ब्यूरोले प्राविधिक विश्लेषण र अनुसन्धान गरेको थियो।

सो क्रममा रौतहटका बिहानी बहादुर अधिकारी नामको ब्यक्ति रहेको खुल्न आएको प्रहरीले जनाएको छ।

निज उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरि आज मंसिर २१ गते ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो।

उनलाई जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप भई थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाई छ।

यसैगरी, सामाजिक सञ्जालमा चिनजान भई प्रेम सम्बन्धमा रहँदा आदान प्रदान गरिएका गोप्य तस्विरहरू पीडकले अश्लील शब्दहरू लेखी पीडितको सम्पर्क नम्बर सहित ह्वाट्सएप ग्रुपमा सेयर गरी दुःख हैरानी दिएको पीडित महिलाको निवेदनका आधारमा साइबर ब्यूरोको टोलीले चितवनका रुपक शर्मा पौडेललाई पक्राउ गरेको हो।

काठमाडौंमा पक्राउ परेका उनलाई पनि जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप भई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

साथै, सामाजिक सञ्जाल फेसवुक मार्फत चिनजान भई निकट सम्बन्धमा रहँदा खिचिएका तस्विर तथा रेकर्ड गरिएका भिडिओहरु आफन्त तथा साथीहरूका म्यासेन्जरमा पठाई चरित्र हत्या गरी दुःख हैरानी दिएको घटनामा पीडितको जाहेरीले सप्तरीका जगदिश प्रसाद यादव पक्राउ परेका हुन्।

वैदेशिक रोजागरीकोक्रममा कतारमा रहेका उनलाई नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरको समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई पनि म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिने ब्युरोका उपनिर्देशक प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad