समाज


यस वर्षको सर्वोत्कृष्ट प्रहरी कुकुर ‘टाइगर’, जसले यी २ अपराध पत्ता लगाएको थियो

यस वर्षको सर्वोत्कृष्ट प्रहरी कुकुर ‘टाइगर’, जसले यी २ अपराध पत्ता लगाएको थियो

सरोज बैजु
कात्तिक १५, २०८१ बिहिबार ११:५४, काठमाडौँ

२०८१ साउन १८ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ की ७२ वर्षीया रत्नकुमारी थापा घरभित्रै मृत फेला परिन्। खबर पाउनासाथ स्थानीय प्रहरी पुगेर घटनाको प्रारम्भिक अनुसन्धान गरे। 

घटनास्थल हेर्दा रत्नकुमारीको हत्या भएको निष्कर्षमा प्रहरी पुग्यो। तर हत्या कसले गर्‍यो भन्ने प्रहरीले पत्ता लगाउन सकेन। हत्यामा संलग्न व्यक्ति भागेको जुत्ताको पाइलो कोदोबारीमा भेटियो। 

त्यही पाइलाका आधारमा अभियुक्त पत्ता लगाउन केनाइन (अनुसन्धानमा प्रयोग गरिने कुकुर) ‘टाइगर’लाई जिम्मा दियो। केनाइन स्कुल महाराजगञ्जबाट टाइगर लिएर गए ह्याण्डलर वरिष्ठ हवल्दार, भिमप्रसाद गौतम। 

गौतमले त्यही कोदोबारीमा भेटिएको जुत्ताको पाइला सुंघाएर टाइगरलाई छाडिदिए। केनाइन टाइगरले अभियुक्त हिँडेको बाटो ट्रयाक गर्छ। नेपाल प्रहरीका केनाइनलाई चार वटा अनुसन्धानमा प्रयोग गरिन्छ। लागुऔषध पत्ता लगाउन, विस्फोटक पदार्थ पत्ता लगाउन, विभिन्न घटना घटाएर भागेका व्यक्ति पत्ता लगाउन र खोजि तथा उद्धारमा प्रयोग गरिन्छ। 

२०८० सालको तिहारपछि यो वर्षको तिहारसम्ममा ७ हजार ४८ वटा घटनामा केनाइन परिचालन गरिएको छ। यी मध्ये धेरै घटनामा केनाइनको सहयोग प्रहरी अनुसन्धानमा महत्त्वपूर्ण बनेको केनाइन स्कुलका प्रहरी उपरीक्षक (एसपी) रामचन्द्र सत्याल बताउँछन्। 

जर्मन सेफर्ड जातको टाइगरले रत्नकुमारीका हत्यारा भागेको बाटो पछ्याउँदै गयो। पूर्वतर्फको कच्ची बाटो हुँदै टाइगर साढे तीन किलोमिटर अगाडी बढ्यो। टाइगरले संकेत गरेको आधारमा प्रहरीले थप अनुसन्धान गर्दै गयो। हत्यामा संलग्न आरोपी काठमाडौँको गंगबुबाट पक्राउ परे। 

पक्राउपछि अनुसन्धानका क्रममा उनले टाइगरले ट्रयाक गरेको बाटो नै आफू हत्यापछि भागेको स्वीकार गरे। त्यसअघि पनि यस्ता घटना अनुसन्धानमा टाइगरले सहयोग गरेको छ। 

२०८० पुस १७ गते बिहान साढे ७ बजे नुवाकोटको शिवपुरी गाउँपालिका ९ मा एक वृद्धा मृत फेला परिन्। त्यहाँकी ७५ वर्षीया नेत्रकुमारी क्षेत्रीको शव बाख्राको खोरभित्र फेला पर्‍यो। खोरमा उत्तानो परेको शवमा उनको अनुहार ददारिएको थियो।

उनी सुत्ने कोठामा रहेको टिनको बाकस फोडिएको थियो। बाकस फुटाउन प्रयोग गरिएको खुर्पाको बिंड टाइगरलाई सुँघाएर छाडियो। बाकस रहेको स्थानबाट नेत्रकुमारीको शव रहेको ठाउँमा गयो। 

त्यहाँबाट घर अगाडी हुँदै पश्चिमतर्फको गोरेटो बाटोबाट एक किलोमिटर ट्रयाक गर्दै गयो। 

कच्ची सडकमा पुगेपछि अलमलियो। कास्टिङ्ग सेन्ट दिएर छोड्दा फेरि ५०० मिटर ट्रयाक लिई दक्षिणतर्फको गोरेटो बाटो र मुल सडकको दोबाटोमा पुग्यो।

त्यसपछि बेल्जियन सेफर्ड रोज नामको प्रहरी कुकुरलाई खटाइयो। त्यही खुर्पाको बिँड सुँघाएर छाड्दा रोजले जंगलतर्फको गोरेटो बाटो हुँदै जस्ता पाताको भत्किएको घरसम्म पुग्यो। 

त्यही आधारमा प्रहरीले अनुसन्धान गर्दा त्यही घरमा बस्ने व्यक्तिले नेत्रकुमारीको हत्या गरेको खुल्यो। प्रहरीले उनलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडी बढायो।

यी घटना पत्ता लगाउने टाइगर यसवर्षको सर्वोत्कृष्ट केनाइन घोषित भएको छ। टाइगरलाई कुकुर तिहारको अवसरमा केनाइन स्कुलमा मेडल प्रदान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad