समाज


सिंहदरबार वैद्यखानाको अवस्थाप्रति बालेनको चिन्ता

देश किन र कसरी डुब्यो वैद्यखाना हेर्दा थाहा हुन्छ: बालेन्द्र साह
सिंहदरबार वैद्यखानाको अवस्थाप्रति बालेनको चिन्ता

फाइल तस्बिर


नेपालखबर
कात्तिक १४, २०८१ बुधबार १२:२८, काठमाडौँ

काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले सिंहदरबार वैद्यखाना विकास समितिको अवस्थाले समग्र मुलुकको अवस्था चित्रण गरेको भन्दै चिन्ता प्रकट व्यक्त गरेका छन्।

आज राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि दिवस एवं सिंहदरबार वैद्यखाना विकास समितिको ३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने सम्भावना बोकेको संस्था अहिले आफैँ थला पर्नु सोचनीय विषय भएको बताए। 

‘अहिले देश किन र कसरी डुब्यो, समस्या के हो भन्ने हेर्न मन भए सिंहदरबार वैद्यखाना हेरे पुग्छ’, मेयर शाहले भने, ‘९० प्रतिशत सरकारी उद्योग कि त भाडामा दिइन्छ, भाडामा दिन सकिएन भने निजी संस्थाको प्रभाव र दबाबमा आएर त्यसलाई डुबाइन्छ।’

सरकारद्वारा सञ्चालित उद्योग कलकारखाना घाटामा जानुका कारण उल्लेख गर्दै उनले वैद्यखानालाई धराशयी पर्न नदिन सामूहिक पहलको आवश्यकतामा जोड दिए । ‘आयुर्वेदिक उपचार पद्धति हाम्रो संस्कार र संस्कृति हो, जसरी हामीले सनातन धर्मलाई मान्छौँ त्यसरी नै मान्दै आएको विषय हो,’ उनले भने। 

नगरप्रमुख साहले आफू वैद्यखाना परिसरमा हुर्केको आफ्नो बाल्यकालको स्मरण गर्दै यस संस्थाको व्यवस्थित सञ्चालन र विकासका लागि सरोकारवाला सबैको ध्यानाकर्षण गराए। 

‘पहिले यही ठाउँमा धेरै स्थान खाली थियो, औषधि उत्पादन धेरै हुन्थ्यो, अहिले जताततै भवन छन्, औषधि उत्पादन चाहिँ कम छ’, उनले भने, ‘२०५८/५९ सालमा यहाँको बजेट रु पाँच करोड थियो, अहिले एक करोड छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad