समाज


न घर छ न डेरा, दरबारमार्ग र ठमेलका चिसो भुइँमा खुला आकाशमुनि बित्छन् रात

‘गरिब देखेर सबैले हेप्छन्, चोर्छ भन्दै पेटीमा पनि बस्न दिँदैनन्’
न घर छ न डेरा, दरबारमार्ग र ठमेलका चिसो भुइँमा खुला आकाशमुनि बित्छन् रात

मधु शाही
कात्तिक ६, २०८१ मंगलबार ७:३८, काठमाडौँ

मजदुरीले थाकेको शरीर विश्राम गर्न जिते तामाङसँग न घर छ न डेरा। उनीसँग खुला आकाश र जुनेली रात मात्रै छ। दरबारमार्ग र ठमेलका गल्लीका चिसो भुइँमा कार्टुन र बोरा बिच्छ्याएर उनी प्रायः खुला आकाशमुनि रात बिताउँछन्। तामाङ गर्मी, जाडो र बर्खा जुनसुकै ऋतुमा सडकमा रात बिताउँछन्। 

शुक्रबार दरबारमार्गमा साँझ परेपछि घाम कहिले ओझेल पर्छ र निदाउन अँध्यारो खोज्न सुरसार गर्दै थिए- तामाङ। बोल्दाबोल्दै बिर्सने मनस्थितिमा पुगेका उनी आफू सडकमा आउनुको कारण एक वाक्यमा टुंग्याउँछन्।

‘चाहेको होइन तर परिस्थितिले सडकमा ल्यायो’, उनी भन्छन्, ‘घर र ठेगाना सडकबाट सुरु भएर सडकमै टुंगिन्छ।’

घाम अस्ताउने पश्चिमतिर भन्ने मात्रै थाहा छ उनलाई। परिवार र आफन्तीको लेखाजोखा उनले कहिल्यै गरेनन्। दिनमा भारी बोक्न पाए दुई/चार रुपैयाँ कमाउने र बेलुका खाना खाएर सडकमा बास बस्ने उहाँको दिनचर्या हो।

उनी भन्छन्, ‘न्यायो ओछ्यान बिर्सिएको वर्षौं भयो। आफ्नो विगतको तीतोपल सम्झिन चाहन्नँ।’

जाडो याममा अत्यन्त कठिन हुने हुँदा कसरी चिसो कटाउने भन्ने चिन्ता लाग्ने उनी बताउँछन्। 

सडकमा रात बिताउन पनि घरवारविहीन सडक मानवलाई सजिलो छैन  गोरखा जिल्लामा जन्मिएको बताउने सानोकान्छा घर्तीको धेरैजसो रात ठमेलका सडक पेटीमा बित्ने गर्छन्।

‘गरिब देखेर सबैले हेप्छन्, चोर्छ भन्दै पेटीमा पनि बस्न दिँदैनन्’, उनी भन्छन्। उनी कहिले आफ्नै साथीहरूबाट लखेटिन्छन् त कहिले सर्वसाधारण र व्यापारीबाट। सडक पेटी कब्जा गरेर बस्ने उनकै समूहबीच हानथाप हुन्छ। अलि सुकिलो र पानी ओत लाग्ने भुइँ रोज्ने टाठाबाठा हुन्छन्। 

साठी वर्षीय घर्ती भने कहिलेकाहीँ त्यही चिसो भुइँ पनि रोजेर पाउँदैनन्। भुइँमा पनि बास बस्न पनि ठूलो संघर्ष गर्नुपर्ने उनको गुनासो छ। ‘आफूमाथिको दुर्व्यवहार कसलाई सुनाउने, कुनै निकाय छैन। त्यसैले चुपचाप भई दुर्व्यवहार सहन बाध्य हुन्छ’, उनी भन्छन्।

सडक पेटीमा रात बिताउने पुरुषको संघर्ष जति छ त्योभन्दा बढी महिलाका व्यथा छन्।

सडकमा कुनै पनि मानव अलपत्र र बेवारिसे नभेटिउन् भन्ने सेवा भावका साथ मानव सेवा आश्रमले गत असोज २६ गतेदेखि मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा सुरु गरेको छ। जसका आफन्त कोही छैनन्, बेवारिसे छ उसको उद्धार गरी आश्रय दिनु आश्रमको जिम्मेवारी हो।

आश्रमका अध्यक्ष रामजी अधिकारी मेची-महाकाली उद्धार यात्रामा कोसी प्रदेशबाट ३ दिनमा ४४ जनाको उद्धार गरिएको जानकारी दिन्छन्।

उनका अनुसार मधेस प्रदेशका लहानमा १३ र जनकपुरमा ११ जनाको उद्धार गरिएको छ। कात्तिक २८ गतेसम्म देशभरका सडक मानवको उद्धार गर्ने उनी बताउँछन्। जतिसुकै उद्धार कार्य सक्रिय गरि पनि सडकमा जाँडरक्सी खाएर स्वतन्त्र जीवन जिउन चाहने र माग्ने पेसा अपनाउने मानव आश्रमको उद्धार क्षेत्रअन्तर्गत नपर्ने उनको धारणा छ।

‘सडकमा वास्तविक सडक मानव भए उद्धार गरेका छौँ’, अध्यक्ष अधिकारी भन्छन्, ‘जाँडरक्सी खाने र माग्ने व्यक्तिलाई सम्हाल्नु हाम्रो चुनौती बनेको छ।’

सडकमा वास्तविक बेवारिसे मानव हुन कि होइनन् भनी पहिचान गर्न एउटा ‘सडक मानव स्क्रिनिङ सेन्टर’ जरुरी रहेको उनी बताउँछन्।

सबै सडकका मानवलाई त्यहाँ राखेर वास्तविक पीडित पहिचान गर्न सजिलो हुने अध्यक्ष अधिकारीको बुझाइ छ। उनका अनुसार आश्रमले हालसम्म १२ वर्षको अवधिमा ११ हजार सडक मानवको प्रत्यक्ष उद्धार गरेको छ। तीमध्ये एक सय ५० बालबालिका छन्। ज्येष्ठ नागरिक तीन सय छन् भने एक हजार सडक मानव मानसिक सन्तुलन गुमाएका छन्। आश्रमले सात प्रदेशको १९ जिल्लामा २५ वटा सेवा केन्द्र सञ्चालन गरिरहेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारी अलपत्र सडक मानवको उद्धार गर्ने संयन्त्र बलियो नहुँदा व्यवस्थापनमा समस्या आएको बताउँछन्। सडकमा जथाभावी डुल्ने, भौतारिने गर्दा कुलतमा पसेको, दुर्घटनामा पर्न सक्ने, शान्ति सुव्यवस्थामा खलल पुग्नेजस्ता गतिविधि हुने गरेको उनी बताउँछन्। 

‘प्रहरीले सडक मानव देख्नेबित्तिकै तत्काल खबर गर्ने संयन्त्रको अभाव छ’, प्रहरी उपरीक्षक अधिकारी भन्छन्, ‘स्थानीय सरकार बढी जवाफदेही हुनुपर्ने अवस्थामा यसप्रति खासै चासो  दिएको देखिँदैन।’

सडक मानव अपराधी नभएकाले अलपत्र परेका बेला भेटिएमा प्रहरीले थुनामा राख्न नमिल्ने उनी बताउँछन्। 

‘तत्काल उद्धार गर्ने स्रोतसाधन प्रहरीसमक्ष छैन। केही संस्था सहयोगी भए पनि पर्याप्त उद्धार संयन्त्र छैन’, प्रहरी उपरीक्षक अधिकारी भन्छन्। 

स्थानीय सरकारले सहयोगी सङ्संस्थासँग समन्वय गरी सडक मानव उद्धारको पहल गर्नुपर्नेमा उनी जोड दिन्छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad