समाज


बीपी राजमार्गमा आजदेखि गाडी चल्ने

बीपी राजमार्गमा आजदेखि गाडी चल्ने

नेपालखबर
असोज २५, २०८१ शुक्रबार ७:१३, काठमाडौँ

विगत दुई सातादेखि अवरुद्ध बीपी राजमार्गमा आजदेखि पूर्णरुपमा सवारी साधन सञ्चालनमा आउने भएको छ। 

बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध रहेको यो सडक सामान्य मर्मतपछि शुक्रबार बिहानदेखि सञ्चालनमा आउन लागेको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुक्रबार बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने जानकारी दिएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिएका हुन्। 

‘बीपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँगै फिल्डमा रहनु भएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग केहीबेर अघि टेलिफोनमा कुरा भयो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँ सडक मर्मत गर्ने प्राविधिक टोली सहित रोशी गाउँपालिका- ९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ। उहाँका अनुसार भोलि बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने छ। आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ। भोलि राजमार्ग खुलेपछि मात्र दसैँ मान्ने बताउनु भयो। सडक खुलाउन अहोरात्र लाग्नु भएका प्राविधिक सहित सम्पूर्ण टिमलाई धन्यवाद।’ 

काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो दूरीको बीपी राजमार्ग यही असोज ११ र १२ गतेको बाढीपहिरोले अवरुद्ध भएको थियो। बाढीपहिरोले राजमार्गको विभिन्न ठाउँमा गरी करिब १२ किलोमिटरसम्म क्षति पुगेको छ। 

सडक, पुल र कल्भर्टहरु बगेको ठाउँमा अस्थायी संरचना निर्माण गरेर बीपी राजमार्गमा गाडी चलाउने तयारी गरिएको हो। नेपालीहरुको मुख्य पर्व दसैँअघि बीपी राजमार्ग बन्द हुँदा यात्रुले निकै सास्ती पाउँदै आएका छन्।

यो राजमार्ग अन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका-६ र रोसी गाउँपालिका-७ सीमास्थल चौकीडाँडामा रोसी खोलाको बाढीले दुई सय मिटर सडक बगाएको स्थानमा डाइभर्सन सडक निर्माण गरिएको छ।

रोसी खोलाको बहावलाई सोझ्याएर खोला किनारमा अस्थायी रुपमा यातायात सञ्चालन हुनेगरी अस्थायी निर्माण गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ। त्यस क्षेत्रमा रोसी खोलादेखि २० देखि ५० मिटरसम्म उचाइमा रहेको सडकसमेत बगाएको थियो। 

एकसय ६० किमिमध्ये सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमि र नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमि गरी ८४ किमी सडकका विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको कार्यालयले जनाएको छ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले यो सडक निर्माण गर्दा प्रति किमि रु ३५ करोड खर्च गरेको थियो। निर्माण पूरा गरेर जाइकाले २०७२ असार १८ गते औपचारिक रूपमा नेपाल सरकारलाई यो राजमार्ग हस्तान्तरण गरेको थियो।

बीपी राजमार्गमा यस वर्षको बाढी पहिरोले दुई अर्बभन्दा माथि क्षति गरेको प्रारम्भिक अनुमान छ। बीपी राजमार्गको भकुण्डे–नेपालथोक सडकखण्डको १४ स्थानमा रोसी खोलाले करिब एक हजार नौ सय मिटर सडक नै बगाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad