ad ad

समाज


सुकुम्बासी बस्तीका स्थानीय भन्छन्- बालेनले भत्कियोस् भनेर कामना गरेछन्, बाढीले बगाएपछि के चाहियो? (भिडिओ)

सुकुम्बासी बस्तीका स्थानीय भन्छन्- बालेनले भत्कियोस् भनेर कामना गरेछन्, बाढीले बगाएपछि के चाहियो? (भिडिओ)

नेपालखबर
असोज १४, २०८१ सोमबार १८:५७, काठमाडौँ

सुकुम्बासी बस्तीका बाढी पीडितहरूले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आलोचना गरेका छन्। 

सोमबार बिहान काठमाडौँका थापाथलीस्थित सुकुम्बासी बस्तीमा बाढीको पीडाले टोलाइरहेका नागरिकहरूले आफूहरूलाई पीडा पर्दा पनि काठमाडौँ महानगरपालिकाका वास्ता नगरेको भन्दै पीडा पोखेका हुन्।

उनीहरूले हालसम्म स्थानीय वडाले खानाको व्यवस्था गरे पनि अरू केही पनि सहयोग कसैबाट नभएको गुनासो गरे। 

महानगरपालिकाले गरिवलाई उठिबास लगाउने काम मात्रै गरिरहेको उल्लेख गर्दै स्थानीय दलमर्दन कामीले सरकारले आफूहरूको पीडालाई तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन्।

‘काठमाडौँ महानगरपालिकालाई हामीले देख्न पाएका छैनौँ। अर्को कुरा यहाँका वडा समितिले खाना भने खुवाई राखेको अवस्था छ। अरु खासै अहिलेसम्म कुनै संघ, संस्थाहरू, व्यक्तिहरू हामीसँग आधिकारिक रुपमा आएर यसो गरौँ भन्नुभएको छैन,’ कामीले भने, ‘वडा नम्बर ११ ले हाम्रा दाजुभाई दिदीबहिनीहरूलाई खाना खुवाउने काम गरेको छ। त्यस बाहेक अरु केही पनि सहयोग आएको अवस्था छैन।’

मेयर शाहले सुकुम्बासी बस्ती छेउमा रहेो पुलमा आएर सबै भत्काइदिओस् भनेर कामना गरेको भन्दै उनले स्थानीय सरकार गम्भीर नभएको आरोप लगाए। 

‘यही माथि पुलमा आएर बालेन साहले हे प्रभु यो बस्ती सबै भत्काईदिओस् भनेर कामना गर्नुभयो रे भन्ने पनि सुनियो। यो खालको चरित्र पनि छ। यहाँ सामन्तीहरुलाई कसरी गरिबहरूलाई उठाउ भन्ने भईनै राखेको र त्यसमा पनि फेरी यो बाढी आयो,’ उनले भने, ‘यस पनि दुःख त दियो गरिबहरूलाई। जनताको प्रतिनिधि भनेको सरकार हो। सरकार हाम्रो अभिभावक हो। जनताको अभिभावक हो। सरकार नै यसको प्रमुख भएको हुनाले सरकारले नै यसको व्यवस्थापन गर्नुपर्छ।’

त्यस्तै, सरकारले आफूहरूको खाने, बस्ने, शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था मिलाए सो सुकुम्बासी बस्ती छाड्न तयार रहेको सुकुम्बासी बस्तीकै अर्की स्थानीय हरिमाया जिम्बाले बताइन्। 

‘आर्मी, सशस्त्र प्रहरीहरूले धेरै साथ दिएका छन्। नत्र भने हामी कतिको ज्यान जान्थ्यो होला। यस्तो अवस्थामा सरकार आउनुपर्ने हो,’ उनले भनिन्, ‘हरेक पत्रपत्रिका मिडियाहरूमा यो वा त्यो भनेको छ। तर सरकारी निकायबाट हामीलाई केही सूचना आएको छैन।’

उनले मेयर बालेनले अहिलेसम्म सेवा सुविधाको बारेमा बस्तीमा आएर केहीपनि नभएको गुनासो गरिन्।

‘बालेन समेत यहाँ आएर के छ त सेवा सुविधा भन्ने बारेमा कुरा गरेको छैन। सरकारी टोली आए हामी पनि सधैँ खोलाको किनारामा बस्ने भन्ने होइन। यस्तो अवस्था वस्तु भनेको हाम्रो बाध्यता हो,’ उनले भनिन्, ‘हिउँदमा खोलाको गन्ध आउँछ, वर्षाभरी खोलाको डर हुन्छ। हामी बाध्यतावस बसेका हौ। सरकारले गाँस, बास, शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नुपर्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .