ऋषिपञ्चमी प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाइन्छ। यस पर्वमा हिन्दु नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गर्ने गर्दछन्। बिहानै उठेर नित्यकर्म सकी नजिकको खोला, नदी, ताल, तलैया वा पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्नु ऋषिपञ्चमीको विशेषता हो।
हरितालिका (तीज)मा महिला र पुरुष दुवैले व्रत एवं पूजाआजा गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमीमा भने महिलाले मात्र गर्ने शास्त्रीय वर्णन रहेको पाइन्छ। रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आजको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ।
नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोविनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ। यसैकारण आजको दिन दत्तिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ।
यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ। जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ। सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो।
काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा ऋषिपञ्चमी पूजाका केही तस्बिर:
Shares
प्रतिक्रिया